बाजुराका चार दर्जन गाउँबस्ती पहिरोको उच्च जोखिममा

बाजुरा । जिल्लाको आधा भूभाग र वस्ती पहिरोको जोखिममा रहेको बाजुरा जिल्लामा चार दर्जन बस्ती स्थानान्तरण गर्नुपर्ने राष्टिय योजना आयोगको प्रतिवेदनमा उल्लेख भएपछि स्थानीय तथा प्रदेश सरकारले वस्ती बचाउन प्रयासको थालनी गरेका छन् ।

यहाँका तीन दर्जन जति गाउँ तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने आयोगको प्रतिवेदन सिँहदरबारमा थन्किएर बसेपछि स्थानीय तहले यो प्रयासको थालनी गरेका हुन । चरणवद्ध ढंगले चार दर्जन गाउँ वस्ती सुरक्षित स्थानमा सार्न योजनावद्ध ढंगले काम गर्नुपर्ने पनि प्रतिवेदनमा खुलाइएको छ । तर काम भने शून्य छ ।

केन्द्रीय सरकारले काम नगर्ने भएपनि स्थानीय बासिन्दाको माग अनुसार त्रिवेणी नगरपालिकामा प्राकृतिक प्रकोपले ठूला समस्या निम्त्याएपछि रोकथामका विभिन्न प्रयासहरु थालनी गरिएको छ ।

पहिरो, बाढी, खडेरी र आगलागीजस्ता प्राकृतिक प्रकोपको समस्या भए पनि यस नगरपालिकामा पहिरोको समस्या बढी देखिएको छ ।

त्रिवेणीको ८० प्रतिशत बढी भूभाग पहिरोको जोखिममा रहेको भूगर्भविद्को आँकलन रहेको छ । पहाड खसेका, थुम्का बनेका, पहिरोले खसेर पहाड तथा खोल्सा बनेकाजस्ता दर्जनाँै अवशेष नगरभित्र देखिएको भूगर्भविद् डा राजनकुमार दाहालको भनाइ छ ।

वर्षेनी आउने पहिरोले धनजनको क्षति हुने र भूमिको समेत नोक्सानी हुने हुँदा कृत्रिम रोकथाम विधिलाई अघि सारिएको नगर प्रमुख रामसिंह रावलले बताउनुभएको छ । नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी, युनिसेफसँगको सहकार्य र कन्जरभेसन ग्रुपको प्राविधिक सहयोगमा कृत्रिम रोकथाम शुरु गर्ने प्रमुख रावलले जानकारी दिनुभयो ।

यसै आर्थिक वर्षबाट पहिरो नियन्त्रणको लागि आवश्यक बजेटसहित काम शुरु गर्ने तयारी नगरपालिकाले गरेको छ । नगर क्षेत्रका नौ वडामध्ये दुईबाहेक सबै वडामा पहिरोको उच्च जोखिम रहेको प्राविधिक प्रतिवेदनमा उल्लेख रहेको छ ।

नगर कार्यपालिकास्तरीय छलफल गरेरै योजना अघि सारेको उपप्रमुख राधिका सुनारले बताउनुभयो । पहिरो रोकथामको सबै प्रकारको प्राविधिक सहयोगका लागि हिमालय कन्जरभेटिक प्रालिसँग समझदारी नै गरिसकेको छ । बस्ती अध्ययनदेखि, समुदाय परामर्शको कामको जिम्मेवारी रेडक्रसले लिने भएको छ ।   

नगरपालिकाले पहिलो चरणमा प्रत्येक सडकमा पानी कटानका लागि नहर निर्माण गर्ने, सडकमा अनिवार्य नहर निर्माण गर्ने नीति अघि सारेको छ । अति जोखिममा रहेका साविकका कैलाशमाडौँ र छतारा गाविस क्षेत्रमा पहिलो चरणमा काम थालनी गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र साउदको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here