विशेष अधिवेशनको सामना गर्छु: शेरबहादुर देउवा

विराटनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका जिल्ला सभापतिहरुले विशेष अधिवेशन बोलाएमा आफूले ‘फेस’ गर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सानो सङ्ख्यामा जम्मा भएका २० देखि २५ जना सभापतिले बोलाउने विशेष अधिवेशनको सामना गर्ने स्पष्ट पार्नुभयो । सभापति देउवाले स्व गिरिजाप्रसाद कोइराला भएको भए यस्तो अवस्थामा उनीहरुलाई पार्टीबाट निष्काशन गर्नुहुन्थ्यो भन्नुहुँदै तर आफूले केही नगर्ने र अनुशासन समितिले यससम्बन्धी हेर्ने बताउनुभयो ।

उहाँले न्यायपरिषद्ले योग्यता पुगेकालाई नै सर्वोच्च र उच्च अदालतको न्यायाधीश नियुक्त गरेको हुनाले टीका टिप्पणी नगर्ने प्रष्ट पार्नुभयो । उहाँले न्यायपरिषद्ले न्यायाधीश नियुक्त गर्दा राजनीतिभन्दा बाहिर हुनुपर्छ भन्दै नियुक्तका सम्बन्धमा कहीँ कतै कुनै विरोध नभएको उल्लेख गर्नुभयो ।

उहाँले संवैधानिक परिषद्ले नियुक्त गर्दा प्रतिपक्ष दलको हैसियतले आफ्नो पनि सहमति लिनुपर्ने बताउँदै प्रतिपक्षबिनाको एक्लै नियुक्त गर्न पाइँदैन भन्नुभयो । उहाँले संवैधानिक परिषद्को बैठकमा आफूले चिठ्ठी लेखी आउन नसक्ने भएको हुँदा केही समयपछि गर्नु भनेकोमा एक पक्षीय ढङ्गबाट गरिएको नियुक्तिको विरोध गरेको बताउनुभयो ।

सभापति देउवाले वर्तमान सरकारले दुई तिहाइको दम्भमा एकलौटी कार्य गरेको आरोप लगाउँदै यसको विरोधमा विपक्षी पार्टीको हैसियतले सदन र सडकमा विरोध गर्ने बताउनुभयो । वर्तमान समयमा नेका एकजुट रहेको बताउँदै उहाँले आगामी महाधिवेशनबाट पार्टी थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here