राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विपन्न परिवार, मठमन्दिर, मस्जिदलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ ।
राजविराज वितरण केन्द्रले आयोजना गरेको कार्यक्रममा सप्तरी जिल्लाका विपन्न परिवार तथा सांस्कृतिक स्थलसहितका ठाउँमा ४४३ थान विद्युत् मिटर र सोही सङ्ख्यामा एमसिबीसमेत निःशुल्क वितरण गरेको केन्द्रका प्रमुख चन्द्रनारायण साहले जानकारी दिनुभयो ।
प्राधिकरणका प्रमुख साहले वितरण गरिएका उपकरण सम्बन्धित व्यक्तिको घर तथा मठमन्दिरमा प्राधिकरणकै कर्मचारी पुगेर निःशुल्क जडान गरिदिने जानकारी दिनुभयो । प्राधिकरणले पहिलो चरणमा राजविराज नगरपालिका–९१, डाक्नेश्वरी नगरपालिका–३२, छिन्नमस्ता गाउँपालिका १६१, रुपनी गाउँपालिका १०१, विष्णुपुर गाउँपालिका २३ र तिलाठी कोइलाडी गाउँपालिकाका ३५ गरी कूल ४४३ थान मिटर र एमसिबी वितरण गरेको जनाएको छ । तीमध्ये करीब ४०० विपन्न परिवार छन् ।
सम्बन्धित गाउँ र नगरपालिकाको सिफारिश तथा प्राधिकरणको टोलीद्वारा स्थलगत अध्ययनपछि निःशुल्क विद्युत् उपकरण पाउने विपन्न समुदाय र सांस्कृतिक महत्वका मठमन्दिर र मस्जिदको छनोट गरिएको थियो ।
कार्यक्रममा प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालय प्रमुख ओमप्रकाश महतो र राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले विद्युतीय उपकरण वितरण गर्नुभएको थियो ।
यता विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी प्राधिकरणले विद्युत चोरी गर्नेबाट बिगो र त्यसमा लाग्ने जरिवानालगायतको असुलीबाट गत चैतमा रु पाँच लाख ७९ हजार ५६४ सङ्कलन गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ ।