काठमाडौँ । मकवानपुरको हेटौँटा उपमहानगरपालिका अन्तर्गत न्यूरेनी क्षेत्रमा रहेको जंगल क्षेत्रलाई चालिसको दशक भन्दा अघि नै पञ्चायती वनको रुपमा संरक्षण सुरु गरिएको हो ।
यहाँका सचेत व्यक्तिहरुको पहलमा २०४२ सालबाट औपचारिक रुपमा संरक्षणका काम सुरु भएको भएपनि समुदायलाई संरक्षणको जिम्मा भने २०४७ साल फागुन २५ गतेमात्र प्राप्त भएको हो ।
करिब तीन सय घरधुरी उपभोक्ता रहेका यो वन ३२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर क्षेत्रीका अनुसार सामुदायिक वनमा सालको प्रशस्त जंगल छ ।
उनले भने, यो वनजंगल संरक्षण गर्न थालेको झण्डै ३५ वर्ष भइसक्यो । संरक्षण त मजाले भएको छ । अब यसबाट यहाँका उपभोक्ताले आयआर्जन कसरी गर्न सक्छन् भनेर नयाँ कामका थालनी गर्न थालेका छौँ ।
गत वर्षको लकडाउन भन्दा अघि सुरु गर्न खोजिएको सालको पातको दुना टपरी बनाउने कामले यो अवस्थामा आइपुग्दासम्म मूर्त रुप लिन सकेको छैन ।
उनले भने, गत वर्ष वन तथा भूसंरक्षण विभागले छ लाख रुपियाँ अनुदान दिएको थियो । समितिले छ लाख रुपियाँ थपेर दुना टपरी बनाउने मेसिन लिएर आएका छौँ तर खासै काम गर्न पाइएन ।
दुना टपरीको माग निकै बढी देखिएकोले यस तर्फ समितिले काम गर्न खोजेको हो । उनले भने, हेटौडा बजारको मागलाई पनि पुर्याउन सक्छौँ कि सक्दैनौँ भन्नेमा हामी छौँ । वनजंगलमा
सालको पात जति पनि छन् । माग जति पनि छ । तर माग अनुसार उत्पादन गर्न सकिने कि नसकिने प्रश्न अहिले हाम्रा सामु छ । हामीले यो उद्योगबाट प्रशस्त फाइदा लिन सक्ने आधार छन् ।
अध्यक्ष क्षेत्रीका अनुसार हेटौडाका उद्योग बाणिज्य संघ, होटल एसोसिएन, उपमहानगरपालिका लगायतका संघ, संस्थासँग यस विषयमा छलफल भएको र ती निकायले आवश्यक सहयोग गर्ने बचनवद्धता व्यक्त गरेका छन् ।
कतिपय सामुदायिक वनहरु काठको बिक्री वितरणमा बदनाम हुने गरेका छन् । यो समितिले भने आन्तरिक खपत बाहेक खासै बाहिर काठ, दाउरा बिक्री नगरेको दावी अध्यक्ष क्षेत्रीले गरे ।
उनले भने, आन्तरिक खपतका लागि काठ, दाउरा निकाल्ने भएकाले समितिका खासै आम्दानी पनि देखिएको छैन । आन्तरिक रुपमा उपभोक्तालाई बिक्री गर्दा आएको रकमले हामीले वन संरक्षण, समुदायको माग अनुसारका शीपमुलक तालिम, शिक्षा क्षेत्र तथा विपन्न परिवारको आर्थिक उपार्जनमा खर्च गर्ने गरेका छौँ ।
गरिव विपन्न परिवारको आर्थिक अवस्था सुधारका लागि समितिले एक कोष सञ्चालन गरेको छ । पाँच वर्षअघि देखि सुरु गरेको सो कोषमा रकम वृद्धि भइरहेको र कोषबाट लाभ लिने उपभोक्ताको संख्या पनि बढीरहेको उनले बताए ।
वन संरक्षणका लागि यहाँका उपभोक्तालाई खासै भनिरहनु पर्दैन । यहाँका वनमा सबैभन्दा बढी ढडेलोले सताउने गरेको छ । हरेक वर्ष अग्नी नियन्त्रण रेखा निर्माण र मर्मत गरेपनि हरेक वर्ष यसले वनजंगल सखाप पार्ने र वन्यजन्तु पनि मर्ने गरेका छन् ।
सामुदायिक वन भित्र जडिबुटी, फलफूल खेती पनि गरिएको छ । नयाँ खालको घाँसका बिरुवा रोपण गरिएका छन् । जसले गर्दा किसानलाई फाइदा पुगिरहेको छ ।
यो सामुदायिक वनमा सालक पनि पाउने गरेको छ । सालकको संरक्षणका लागि समुदास्तरमा सचेतनाका कार्यक्रम सञ्चालन भइरहेका छन् भने सालकको बासस्थान सुधारका कामहरु पनि भइरहेका छन् ।