रेड पाण्डा संरक्षण गर्न धामी झाँक्री

खलङ्गा । विश्वमै दुर्लभ मानिएको रेड पाण्डा संरक्षणमा कर्णाली प्रदेशका धामी झाँक्री पनि सक्रिय हुन थालेका छन् ।

रेडपाण्डालगायत वन्यजन्तु संरक्षण अभियानमा यहाँका धामी–झाँक्री, आमा समूह र युवा समुह गठन गरी गाउँघरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रयासको थालनी भएको छ । कर्णाली प्रदेशमा पाइने विश्वकै दुर्लभ जीव संरक्षणका लागि जुम्लामा रेडपाण्डा नेटवर्क गठन भएपश्चात स्थानीय धामी झाँक्री संरक्षण कार्यमा सक्रिय भएका हुन् ।


रेडपाण्डाको बासस्थान विनाश, खण्डीकरण, चोरी सिकारी र संरक्षित क्षेत्रमै सङ्ख्या कम हुनु संरक्षणका मुख्य चुनौती रहेकाले रेडपाण्डाको संरक्षणमा जुट्ने योजना बनाइएको स्थानीय धामी मोहिन रावतले बताउनुभयो ।


उहाँले भन्नुभयो, अरु कुरा हामी जान्दैनौँ । यो रेडपाण्डा संसारमै खत्तम भइसक्यो भन्या सुनियो । अब यसको संरक्षणमा हामी धामी झाँक्री पनि लाग्ने भएका छौँ । हामी पनि गाउँ गाउँमा गएर जानेको कुरा सम्झाउने बुझाउने काम गर्ने भएका छौँ ।


जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक सीताराम रिजालले वन्यजन्तुको चोरी–सिकारी गरेमा कसैलाई छुट गर्न सकिने अवस्था नरहेको जानकारी गराउनुभयो । गाउँमा रहेका धामी झाँक्रीले वन्यजन्तु संरक्षणका लागि सचेत गराउन सक्ने भएकाले सक्रिय हुन उहाँले आग्रह गर्नुभएको छ ।


वनमा जाँदा जथाभावी आगलागी गर्ने, खुल्ला चरिचरन गर्ने परम्परालाई कम गर्दै खाली रहेको जग्गामा बोटबिरुवा लगाउनेमा ध्यान दिनुपर्ने स्थानीयवासी जोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here