११ वर्ष पछि बन्यो कुलेखानी तेस्रो जलविद्युत्

काठमाडौँ । नेपाल जलस्रोतको धनी देश तर यही देशमा भारतबाट बिजुली ल्याएर लोडसेडिड हटाउनु पर्ने नेपाल विद्युत् प्राधिकरणको बाध्यता । बिडम्बनाको कुरा के छ भने जलविद्युत्का आयोजना सुरु त हुन्छन् तर ती तोकिएको समयमा कहिल्यै पूरा हुँदैनन् । जसले गर्दा आज आउने बिजुली भोली आउन्छ । कम लागतमा पाउने बिजुली महंगोमा पाउन बाध्य हुनपर्ने नेपालीको नियती नै भएको छ ।


निर्धारित समयभन्दा केही तलमाथि हुनु त स्वाभाविकै होला तर निर्धारित समयभन्दा झण्डै १२ वर्ष छुनै लाग्दा कुलेखानी तेस्रो पूरा भयो भन्दा कति अचम्म लाग्न सक्दा आदरणीय पाठकबर्गलाई तर यथार्थ त्यही भएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण तोकिएको समयभन्दा ११ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

चिनियाँ कम्पनीका ढिलाइका कारण रु दुई अर्ब ४३ करोडमा निर्माण सम्पन्न हुने सो आयोजनाको निर्माणमा अहिलेसम्म रु चार अर्ब ६३ करोडभन्दा बढी खर्च भइसकेको छ ।
निर्माण कार्य सम्पन्न भएपछि आयोजनाले सुरुङको सफल परीक्षणसमेत गरेको आयोजनाका इञ्जिनीयर सुवास मिश्रले भन्नुभयो । कुलेखानी तेस्रोको ४ दशमलव २ किलोमिटर मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको छ ।


चौध मेगावाट क्षमता भएको कुलेखानी तेस्रोले तीन महीना भित्रमा नियमित विद्युत् उत्पादन गर्ने आयोजनाका इञ्जिनीयर मिश्रको भनाइ छ । विद्युत् गृहका टरर्वाइन र जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरणका जडान सम्पन्न गरी परीक्षण काम भइरहेको छ ।


विद्युतगृहका उपकरणको परीक्षणसँगै प्रसारण लाइनको बाँकी एउटा टावर खडा गरी करीब ५०० मिटर तार तानेपछि काम पूरा हुने इञ्जिनीयर मिश्र भन्नुभयो । आयोजनाले कुलेखानी जलाशयको नियमित बहाब र खानीखोलाको थप पानी प्रयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here