काठमाडौँ । विद्युत् नियमन आयोगका पदाधिकारीले बुधवार राष्ट्र र जनताका नाममा सपथ लिएका छन् ।
मन्त्रीपरिषदको बैठकले आयोगको पदाधिकारी नियुक्त गर्ने निर्णय पछि आयोगका पदाधिकारीले बुधवार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा शपथ लिएका हुन् । संवैधानिक आयोग भन्दा अरु आयोगका पदाधिकारीलाई पहिलो पटक यसरी सपथ खुवाइएको बताइएको छ । यस अघि विद्युत् महसुल निर्धारण आयोगका पदाधिकारीलाई भने शपथ खुवाइएको थिएन ।
बुधवार ऊर्जा मन्त्री वर्षमान पुन समक्ष आयोगका अध्यक्ष दिल्लीबहादुर सिँह, सदस्यहरु डा. रामप्रसाद धिताल, रामकृष्ण खतिवडा, रामेश्वर कलवार र भागिरथी ज्ञवालीले सपथ लिएका छन्

को हुन आयोगका अध्यक्ष सिँह
विद्युत् इन्जिनियरका रुपमा सरकारी सेवामा प्रवेश गरेको सिँहसँग विद्युत् विकास विभागको महानिर्देशक भएर काम गरेको अनुभव छ । पञ्चेश्वर बहुउद्धेश्यीय आयोजनाको प्रमुख तथा जल तथा ऊर्जा आयोगको सहसचिव भएका काम गरेको सिँहसँग ३३ वर्षको सरकारी सेवाको अनुभव रहेको छ । पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना बनाउन निकै कसरत गर्नुभएको सिँह खरो बोल्न र स्पष्ट बक्ताको रुपमा चिरपरिचित छन् ।
नेपालले किन पञ्चेश्वर बनाउने भन्ने विषयमा नेपालका हरेक प्रधानमन्त्री भारत भ्रमणमा जाँदा प्रधानमन्त्री कार्यालयमा कार्यपत्र प्रस्तुत गर्ने सिँह नेपालको ऊर्जा विकासमा उचित र न्यायिक अडान राख्ने व्यक्ति मध्येमा पर्छन् ।

आयोगका सदस्य डा. रामप्रसाद धितालले अघिल्लो महिना वैकल्पिक ऊर्जाको विकासमा सौर्य ऊर्जा विषयमा विद्यावारिधि गरेका हुन् । लामो समय वैकल्पिक ऊर्जा प्रवद्र्धक केन्द्रमा कार्यरत धितालले केही महिना अघि प्रमुख कार्यकारी निर्देशकको पदमा कार्यरत थिए ।
भुकम्प पीडितलाई तत्काल सौर्य ऊर्जा प्रदान गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको डा. धितालसँग वैकल्पिक ऊर्जा विकासमा लामो अनुभव रहेको छ । केन्द्रको शाखा अधिकृतबाट प्रवेश गर्नुभएका डा. धिताल केन्द्रको कार्यकारी निर्देशकसम्मको जिम्मेवारी पाउने व्यक्तिमा पर्नुहुन्छ ।

आयोगका अर्का सदस्य रामकृष्ण खतिवडा ऊर्जा अर्थशास्त्री हुन । हाल लगानी बोर्डमा विज्ञका रुपमा कार्यरत खतिवडासँग ऊर्जा अर्थशास्त्र सम्बन्धी लामो समयको अनुभव रहेको छ ।
त्यसैगरी अर्का सदस्य रामेश्वर कलवार इलेक्ट्रिक इन्जिनियर हुन् । नेपाल विद्युत् विकास विभागमा इन्जिनियरका रुपमा प्रवेश गरेको कलवारले ११ औँ तहको निर्देशक पदसम्म अनुभव बटुलेका छन् । बिभिन्न जलविद्युत् आयोजनाका निर्माणमा संलग्न कलवार खानेपानी महसुल निर्धारण आयोगनको सदस्य भइसकेका व्यक्ति हुन ।
आयोगका अर्का सदस्य भागिरथी ज्ञवाली प्राध्यापन पेशामा संलग्न व्यक्ति हुन् । अर्थशास्त्रको विषयमा प्राध्यापन गर्ने ज्ञवाली आयोगको एक महिला सदस्य हुन् ।
आयोगका पदाधिकारीले बुधवार शपथ लिएका छन् भने बिहीवार दिउँसो आयोगका कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । आयोग सम्बन्धी ऐन २०७४ साल भदौ १९ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको थियो ।

ऐन बनेको पाँच महिना पछि आयोगका पदाधिकारी नियुक्त भएकाले आयोगको व्यवस्थित कार्यालय नभएकाले बिहीवार विद्युत् विकास विभागमा आयोगका पदाधिकारीहरुले पदभार ग्रहण गर्ने भएका छन् ।
पहिलो पटक बनेको आयोगमा नियुक्त गरिएका पदाधिकारी योग्य, अनुभवी तथा विषय विज्ञता भएका व्यक्ति रहेका छन् ।