काठमाडौँ । नेपाल र भारतसँग जोडिएको पञ्चेश्वर बहुउद्धेश्यीय परियोजनाको कामले गर्दा पटक पटक अवरोध हुँदै आएको महाकाली कारिडोरको काम अब भने अगाडि बढ्ने भएको छ ।
कञ्चनपुर देखि डडेल्धुरा हुँदै दार्चुलाको तिङ्कर नाकासम्म जोड्ने महाकाली करिडोर जोगबुडा सडक खण्डको उद्घाटन गरिएपछि यो करिडोर बन्ने आशा पलाएको छ । विसं २०६६ देखि सञ्चालित महाकाली करिडोर अन्तर्गत जोगबुडा सडक खण्डको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले उद्घाटन गरेका हुन् । ब्रह्मदेवदेखि तिङ्करसम्म ४२५ किलोमिटर लामो सडकको हालसम्म ८८ किलोमिटर ट्र्याक खुलेको छ ।
बैतडीको बाराकोट भट्टालामा १७ किलोमिटर, गाँजरी–सिल्लेक १७ किलोमिटर, सलेना–धर्मघर १० किलोमिटर र दार्चुलाको बेत–जोलजिवी १० किलोमिटर र दार्चुला–राताकाठा ७ किलोमिटर ट्र्याक खुलेको छ । जोगबुडा–कुँणा–ब्रहम्देव १७ किलोमिटर सडक सञ्चालनमा आएको छ । महाकाली–तिङ्कर करिडोरका लागि बहुवर्षीय योजना रु १८ अर्ब विनियोजन गरिए पनि हालसम्म रु ८० करोड बराबरको काम भएको योजना प्रमुख अच्युत विशाल पन्तले जानकारी दिनुभयो ।