अब राजमार्ग बन्द गर्न नपाउने, २०–२० किमिमा सशस्त्र प्रहरी बलका सुरक्षा पोस्ट

काठमाडौँ । सरकारले राजमार्ग वा सडक अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए १० मिनेटभित्र नै अवरोध खुलाउने योजना अगाडि ल्याएको छ ।

सरकारले ल्याएको ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि, २०७५’ मा सो कुरा उल्लेख छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले राजमार्ग र सडक सकभर कुनै पनि कारणले अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए १० मिनेटभित्र खुलाउने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “समग्र मुलुक र आम नागरिकको ‘लाइफ लाइन’ को रूपमा रहेको राजमार्ग र सडक कुनै पनि हालतमा एकछिन पनि अवरुद्ध हुनुहुुँदैन भन्ने राज्यको मान्यता छ । त्यसैले ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारवाहीको कार्यविधि, २०७५’ कार्यान्वयनमा आएको हो ।’’

प्रवक्ता सुवेदी भन्नुहुन्छ, ‘‘आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न तथा विभिन्न बहानामा राजमार्ग र सडक अवरुद्ध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा आमनागरिकलाई विना अवरोध सहजरूपमा मुलुकभर यात्रा गर्न सहज होस् भन्ने उद्देश्यसहित सो कार्यविधि ल्याइएको हो ।’’

प्रवक्ता सुवेदीले सो कार्यविधि मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा पठाइसकिएको जानकारी समेत दिनुभयो । कार्यविधि कार्यान्वयनमा आएसँगै अवरुद्ध राजमार्ग र सडक खुलाउन सम्बन्धित क्षेत्रको प्रशासनले एकीकृत बल प्रयोग गर्न सक्ने छ ।

निहित स्वार्थ पूरा गर्न बन्द–हडताल गर्ने र प्राकृतिक विपद्का कारणलेसमेत बेलाबेलामा सडक अवरुद्ध हुने समस्या रहँदै आएको छ । बीच बाटोमा अवरोधको कल्पना कसैले गरेको हुँदैन तर आकस्मिक रूपमा हुने बन्द हडताल तथा प्राकृतिक प्रकोपबाट हुने समस्याले यात्रुहरूले कतिपय अवस्थामा ठूलो हैरानी ब्योहर्नु परेको छ ।

प्रवक्ता सुवेदीले कार्यविधिमा अवरुद्ध हटाउने प्रक्रियाका साथै राजमार्ग र सडकलाई थप सुरक्षित बनाउने, कुनै दुर्घटना भएको अवस्थामा शीघ्र उद्धार गर्न सक्नेलगायतका व्यवस्था रहेको जानकारी दिनुभयो ।

शीघ्र उद्धार गर्न राजमार्गको हरेक २०–२० किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलका सुरक्षा पोस्ट स्थापना गरिने छ । सुरक्षाको भरपर्दो व्यवस्था भएबाट राजमार्ग र सडकको अवरोध खुलाउन, राजमार्ग र सडकलाई थप सुरक्षित बनाउन र राजमार्गमा कुनै दुर्घटना भएको शीघ्र उद्धार कार्य सुरु गर्न सहज हुने छ ।

एक सय स्थानमा टोली तैनाथ
राजमार्ग र सडकको अवरोध खुलाउन, राजमार्ग र सडकलाई थप सुरक्षित बनाउन र राजमार्गमा कुनै दुर्घटना भएमा शीघ्र उद्धार कार्य सुरु गर्न हालसम्म एक सय स्थानमा प्रहरीको टोली तैनाथ गरिएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता सुरजकुमार श्रेष्ठले राजमार्गमा अभिलम्ब प्रतिकारात्मक समूह (इमिडियट रेस्पोन्स टिम ‘आईआरटी’) स्थापना भएको जानकारी दिनुुभयो । त्यसैगरी, अवरुद्ध राजमार्ग र सडक खुलाउन तथा हुन सक्ने सम्भावित दुर्घटनामा छिटोभन्दा छिटो उद्धार गर्न ठूला एम्बुलेन्स खरिद गर्ने योजना पनि सशस्त्र प्रहरीको रहेको छ ।

प्रवक्ता श्रेष्ठले अहिले आठवटा त्यस्ता एम्बुलेन्स खरिद गरी विभिन्न राजमार्गमा स्थापना गरिएको ‘इमिडियट रेस्पोन्स टिम’ लाई पठाइ सकिएको जानकारी दिनुभयो । यस्ता एम्बुलेन्सले एक पटकमा १२ जनासम्म बिरामी बोक्न सक्दछन् ।

छुट्टै दरबन्दीको व्यवस्था
गोरखापत्रका अनुसार राजमार्ग र सडकलाई थप सुरक्षित बनाउने उद्देश्यले सशस्त्र प्रहरी बलमा छुट्टै दरबन्दी कायम गर्ने योजना रहेको छ । अहिले स्थापना गरिएका ‘आईआरटी’ मा सम्बन्धित जिल्लामा दरबन्दी भएका सशस्त्र प्रहरी खटिएको जानकारी सशस्त्र प्रहरी वलका प्रवक्ता श्रेष्ठले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here