सिन्धुली । राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा नपुग्दै सिन्धुलीको भुवनेश्वरी र रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारका सयौं घरमा बालिएको सुँगुरे जलविद्युत् आयोजना चार वर्षदेखि बन्द छ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ बाशेश्वरमा रहेको एकमात्र र पुरानो जलविद्युत् आयोजना २०७२ को भूकम्पपछि ट्रान्समिटरमा क्षति पुगेर बन्द भएको पाँच वर्ष लाग्दा पनि सञ्चालनमा आउन नसकेको हो। भूकम्पले पावर हाउस, पोखरी र कुलोमा क्षति पुगेपछि बन्द सुँगुरे जलविद्युत् आयोजनाको पुनर्निर्माणमा सम्बन्धित निकायले चासो नदिँदा सञ्चालनमा आउन नसकेको हो। ७५ किलोवाट क्षमताको जलविद्युत् आयोजनामा सम्बन्धित पक्षले पुनर्निर्माणको चासो नदिँदा सञ्चालन आउन नसकेको स्थानीयको भनाइ छ।
हजारौं उपभोक्ता मारमा परेको बताउँदै स्थानीय गौरव कार्कीले भने, ‘गाउँको विकासको एउटा मात्र उदाहरणीय आयोजना पनि भूकम्पले क्षति पु¥याएपछि बन्द छ। भूकम्प गएको पनि पाँच वर्ष पूरा भयो। तर, जलविद्युत्लाई पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन कसैले चासो देखाएका छैनन्।’ यस आयोजना सिन्धुलीमा सञ्चालन हुँदा सिन्धुली र रामेछाप जिल्लामा राष्ट्रिय प्रसारण लाइनले छोएकै थिएन। उक्त आयोजनाबाट सिन्धुली र रामेछापको पुरानो सदरमुकाम रामेछापमा विद्युत् सेवा विस्तार गरिएको थियो।
भूकम्पले सुँगुरे खोलाबाट ड्याममा जम्मा गर्न ल्याएको कुलो र ड्याम पोखरी पनि भत्किएको थियो। आयोजनाको गेटभल्वमा समेत क्षति पुगेको छ। विद्युत् सेवा बन्द हुँदा पावर हाउसमा खिया लागिसकेको छ भने करोडौं रुपैयाँ मूल्यका सामग्री जीर्ण भएर बिग्रँदै गएका छन्। आयोजना बन्द भएको विषयमा पटक पटक सिन्धुली र रामेछापको मन्थली शाखालाई जानकारी गराइए पनि हालसम्म कुनै चासो नदेखाएको आयोजनाका कर्मचारी पूर्णबहादुर श्रेष्ठले गुनासो गरे।
भूकम्पबाट क्षति हुनुपूर्व आयोजनाबाट दैनिक प्रतिघण्टा ६० देखि ६५ किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो। जहाँबाट वार्षिक लाखौं रुपैयाँ विद्युत् महसुल जम्मा हुने गरेको थियो। त्यहाँ कार्यरत ६ कर्मचारीलाई विद्युत् प्राधिकरणको मन्थली शाखामा खटाइएको छ। प्रसारण लाइनका तारपोल समेत काम नलाग्ने भएको उनी बताउँछन्।
साभार/फोटो अन्नपुर्ण





























