कुलमानले तोडे भारतीय कम्पनीसँगको ठेक्का सम्झौता

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले हेटौँडा देखि भरतपुरसम्मको प्रसारण लाइनको ठेक्का तोडेको छ ।

प्राधिकरणले हेटौँडा –भरततपुर –बर्दघाटसम्मको २२० केभी प्रसारण लाइन निर्माण गर्दै आएको छ । सो खण्ड अन्तर्गतको हेटौडा – भरतपुर खण्डको ठेक्का प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थगत निरीक्षण गरेपछि काम सन्तोषजनक नभएको पाइएको थियो । सो खण्डमा भारतीय कम्पनी आईकम टेलले काम गरिरहेको थियो ।

प्राधिकरणका अनुसार कम्पनीले कार्य सम्पादन जमानत वापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर पनि जफत गरिएको छ । यसैगरी प्राधिकरणले काम ढिला गरे वापत करिब १६ लाख डलर बिलम्व जरिवाना ९लिक्विडेट ड्यामेजेज पनि लगाउने निर्णय गरेको प्राधिकरणद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

हुन त यो ठेक्का तोड्ने कार्य नयाँ होइन । यस अघि पनि प्राधिकरणले आयोजना अन्तर्गतको भरतपुर–बर्दघाट खण्डको सेन्ट्रल चाइना पावर ग्रिड ९सीसीपीजी० सँगको ठेक्का तोडेको थियो । प्राधिकरणको सिफारिसमा केही दिनअघि सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सीसीपीजीलाई कालासूचीमा राख्ने निर्णय गरिसकेको प्राधिकरण स्रोतले नेपालकथालाई जानकारी दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले कम्पनीले निर्माण कार्य ठप्प पारी ठेक्का सम्झौताको उल्लघंन गरेकाले ठेक्का तोडिएको जानकारी दिए । उनले भने, फिल्डमा काम गर्न समस्या पनि छैन । भनेको पनि नमान्ने भएपछि ठेक्का तोडिएको हो । उनका अनुसार बाँकी कामका लागि छिट्टै नयाँ ठेक्का खोल्ने तयारी भइरहेको छ ।

प्राधिकरण र कम्पनीबीच ७४ किलोमिटर हेटौडा–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि गत २०६५को फागुनमा ९६ लाख ३६ हजार अमेरिकी डलर र १९ करोड ७३ लाख १५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । यस खण्डमा पर्ने २२६ टावरमध्ये १६८को जग हालिएको छ भने ११९ वटा खडा गरिएको छ । १२ किलोमिटर मात्रै तार तानिएको जानकारी कार्यकारी प्रमुख घिसिङले दिएका छन् ।

प्राधिकरणले दिएको जानकारी अनुसार आयोजना अन्तर्गतको भरतपुर–बर्दघाट निर्माणका लागि नयाँ टेण्डर गरी चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा ५५ लाख ७५ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । यो खण्डमा पर्ने २४६ टारमध्ये १३७को जग हालिएको, १०१ खडा गरिएको छ । तार भने तानिएको छैन । निर्माण २०७६को माघभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

यसैबीच प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, दातृ निकाय विश्व बैकको टोलीले हेटौडामा निर्माणाधीन सबस्टेसनको निर्माण प्रगतिको निरीक्षण गरेको थियो । हेटौडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजना अन्तर्गत हेटौडा, भरतपुर र बर्दघाटमा १३२ केभी सबस्टेसनको निर्माण भइरहेको छ ।

चिनियाँ ठेकेदार कम्पनी जोन्डिङ इन्टरनेशनलको लापरबाही र कमजोर कार्यसम्पादनका कारण आयोजना रुग्ण बनेको छ । कुलेखानी तेस्रोमाजस्तै चिनियाँ कम्पनीको नेपाली साझेदार हुलास इन्जिनियरिङका कारण सबस्टेसन निर्माण रुग्ण बनेको हो । तीन वटै सबस्टेसन निर्माणको समग्र प्रगति ९३ प्रतिशत छ ।

हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौडामा २२० र ४०० केभी सबस्टेसनको पनि निर्माण भइरहेको छ । प्राधिकरणले हैटौडा, ढल्केबर र इनरुवामा २२० केभी सबस्टेसन निर्माणको ठेक्का पाएको सिसिपिजीसँगको ठेक्का तोडी नयाँ ठेकेदार नियुक्त गरेको छ । ढल्केबरमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको ।

हेटौडा र इनरुवामा सबस्टेसन निर्र्माणका जिम्मा भारतीय कम्पनीसँग ठेक्का सम्झौता भएको छ । कम्पनीले काम सुरु गरिसकेको छ । हेटौडा, ढल्केबर र इनरुवमा ४०० केभी सबस्टेसन पनि निर्माणाधीन छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here