धनगढी । दुई जनाको ज्यान जाने गरी कैलाली र कञ्चनपुरमा आएको बिनासकारी हावाहुरीका कारण कम्तीमा १२ सय घरमा क्षति पुगेको र यो संख्या अझै बढदै गएकोछ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले प्रारम्भीक चरणको अध्ययनले एक हजार एकसय ७४ घरमा क्षति पुगेको र अझै लगत संकलन गर्ने कार्य भइरहेकोले यो संख्या बढ्न सक्ने बताए ।
बिहीबार साँझ साँझ साढे सात बजेदेखि लगातार एक घण्टासम्म हावाहुरीले सयौंका घरका छाना उडाएको तथा केरा, आँप, लिचि लगायतका फलफूलका बोटहरुमा ठूलो क्षति पुगेको छ र घरको छाना तथा घर उडाएपछि सयौं जना घरबारबिहीन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
‘प्रजिअ बोहराका अनुसार हावाहुरीले रुख ढलेर अवरुद्ध भएका सडकहरु खुलाइसकेको र घरबारबिहीनलाई तत्काल बस्नलाई प्रबन्ध मिलाउने कार्य भइरहेको छ, ‘बढी जनघनत्व भएका ठाउँमा क्षति बढी भएको र घरका जस्तापाता र छाना उडेका छन भने कसैका पर्खालहरु भत्किएका छन् । त्यो विवरण संकलन गर्ने काम भइरहेको छ ।’
उता, कञ्चनपुरमा २३ जना घाइतेमध्ये आठ जनालाई धनगढीस्थित सेती अञ्चल अस्पतालमा ल्याइएको छ । कञ्चनपुर निमित्त प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले आठ घाइतेमध्ये एक ११ वर्षीया बालिका गम्भीर रहेकी छिन् ।
कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण विद्युत र वैकिङ सेवा वन्द भएका छन् । बिहिबार रातीदेखि आएको हावाहुरीले कैलाली र कञ्चनपुरका पाँच सय बढी विद्युतका पोलहरु ढलेका छन् ।
पोलहरुमा रुख ढलेका कारण कैलाली कञ्चनपुरको विद्युत सेवा अवरुद्ध रहेको जनाइएको छ । विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाले पोलहरु ढलेका कारण विद्युत आपूर्तिमा समस्या भएको जनाएको छ । विद्युत कार्यालयले कैलाली र कञ्चनपुरका मुख्य बजारमा शुक्रबारदेखिनै विद्युत सेवा प्रदान गर्ने गरी काम गरिरहेको जनाएको छ ।
कार्यालयका अनुसार विद्युत सेवाका लागि मर्मत कार्य सकिने यकिन समय भन्न नसकिने जनाएको छ । विद्युत नभएपछि यस क्षेत्रमा रहेका बैंकहरुको पनि सेवा प्रभावित भएको थियो । यस्तै, उद्योग, कलकाराखाना, व्यापार व्यवसायी, सञ्चारमाध्यम पनि विद्युत नहुँदा प्रभावित भएको छ ।
कैलाली र कञ्चनपुरमा ९५ किलोमिटर प्रति घण्टाका दरले हावाहुरी आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कडेलले पश्चिम भेगबाट विस्तारै पूर्वतिर गएको बताइन । उनका अनुसार कैलाली कञ्चनपुरमा ५० नटको भेगमा आएको हुरी काठमाडौं प्रस्थान गर्दा ३५ नट पुगेको थियो । जुन भेगमा हावाहुरी आएको थियो त्यो एकदमै विनासकारी रहेको थियो उनले भनिन् ।