अछाम । सरकारद्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द समुहले भारतीय लगानीमा रहेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कार्यालयमा शनिवार बिहान बम बिष्फोटन गरेको छ ।
अछामको तुर्माखाँद गाउँपालिका–३ असराघाटमा मध्यरातमा प्रेसर बम विष्फोट गरिएको छ । असराघाट निवासी दिपक बिसीको ढुंगामाटोले बनेको तीनतले घर राती करिब दुई ३० बजेतिर बम विष्फोट गराइएको अछाम प्रहरीले जानकारी दिएको छ ।
बिसीको घरको तल्लो तलामा माथिल्लो कर्णाली जलविद्युत निर्माण कम्पनी जिएमआरको सम्पर्क कार्यालय रहेको छ । सोही कार्यालयलाई लक्षित गरी बम बिष्फोटन गराइएको प्रहरीले जनाएको छ ।
बम विष्फोटनले चर्पी र मोटरसाइलमा ठूलो क्षति भएको र घर सामान्य चर्केको अछाम प्रहरीको भनाइ छ । बम विष्फोटनसँगै उक्त घरको बराण्डामा रोकिराखेको घरधनीको भे ७ प ९६९८ नम्बरको मोटरसाइकलमा आगजनी भएको घटनास्थलबाट फर्केका अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले नेपालकथालाई जानकारी दिनुभयो ।
बम विष्फोट र आगजनी गर्ने समूहको विभिन्न स्थानमा प्रहरी परिचालन गरेर खोजी कार्य तीव्र भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकसहित इलाका प्रहरी कार्यालय, कमलबजार, विनायक र भैरवस्थान तुर्माखाँद र बेलखेतबाट प्रहरी परिचालन गरिएको अछाम प्रहरी प्रमुख डिएसपी शाहीले जानकारी दिनुभयो । सदरमुकामबाट घटनास्थल पुग्न सवारी साधनमा करिब तीनघण्टा र भैरवस्थान प्रहरी चौकीबाट पैदल करिब तीनघण्टा समय लागेको प्रहरीले बताएको छ ।




































