अमेरिकामा १७ लाख मानिस वेरोजगार भए

काठमाडौँ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा मात्र प्रत्यक्ष अप्रत्यक्ष रुपमा कम्तिमा १७ लाख मानिस वेरोजगार भएका छन् भने न्यूयोर्क शहरमा मात्रै सात लाख व्यक्तिले जागिरबाट हात छाड्नु परेको त्यहाँ स्थित सञ्चार माध्यामले प्रारम्भिक आँकडा प्रकाशमा ल्याएका छन् ।

अमेरिकी सञ्चार माध्यामका अनुसार कोरोना भाइरसको संक्रमण बढी देखिएको न्यूयोर्क शहरमा यो संख्या अझै बढ्दै जाने चिन्ता व्यक्त गरिएको छ ।

कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्र पूर्ण रुपले प्रभावित भएको छ । आन्तरिक उडान तथा कारोवार त केही दिनअघि सम्म भएपनि बाहिरी विश्वसँग खासै सम्बन्ध नहुन सक्दा अमेरिकी अर्थतन्त्रमा ठूलो धक्का लागेको हो ।

मार्च महिना देखि अमेरिकामा सबै खालका ठूलठूला उद्योगधन्दा तथा कम्पनीहरु पूर्ण रुपले बन्द हुँदा वेरोजगारको संख्या वृद्धि हुदै गएको सिएनएनले आफ्ना समाचार बुलेटिनमा जनाएको छ ।

आइतवारसम्म अमेरिकामा तीन लाख भन्दा बढी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने आठ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । न्यूयोर्कमा मर्नेको संख्या आइतवारसम्म ३,५६५ पुगेको छ।

न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले न्यूयोर्क शहरमा संक्रमणको दर अझै तीब्र गतिमा बढी रहेको र यो गति नियन्त्रणमा ल्याउन निकै चुनौती देखिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here