कोरोना देखिएपछि घेराबन्दीमा कैलाली, जिल्लासँग जोडिने नाका बन्द हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी रहेको कैलाली जिल्लामा एकै दिन तीन जना थप कोरोना संक्रमित व्यक्ति फेला परेपछि छिमेकी जिल्लाहरुले कैलालीसँगको सम्बन्ध तोड्न थालेका छन् ।

कैलालीसँग पश्चितिर कञ्चनपुर, उत्तर डोटी र डडेल्धुरा, पूर्वतर्फ बर्दिया र सुर्खेत जिल्लाको सिमाना जोडिएको छ । भारतले लकडाउन गर्नुभन्दा अघिल्लो दिनसम्म नेपाल भारतको सीमा नाकामा आइपुगेको करिब एक हजार व्यक्ति बिना जाँच नेपाल भित्रिएसँग कैलालीमा थप नयाँ बिरामी देखा परेपछि कैलालीसँग सीमाना जोडिएको जिल्लाले झन सतर्कता अपनाउन थालेका छन् ।

कैलालीसँग सीमा जोडिएका बर्दिया र सुर्खेत जिल्लाका स्थानीय सरकारले तत्काल कैलालीसँग कुनै सम्बन्ध नराख्ने गरी आवागमन बन्द गरेका छन् । कैलालीको टीकापुरबाट बर्दिया तर्फ जाने पक्की राजमार्गमा बर्दियाका स्थानीय तहले बाटोमा काठको बार, ढुंगा तथा बालुवाको थुप्रै खडा गरेको छ ।

त्यसैगरी कैलालीसँग जोड्न कर्णाली नदीमा निर्माण भएको झुलुंगे पुलको आवागमन पनि बन्द गरिएको छ ।

एता पश्चिम सुर्खेतका चौकुने, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाले कैलालीसँग आवातजावत बन्द गर्न झोलुंगे पुल र यस अघि कर्णाली नदीमा वारपार गर्नका लागि सञ्चालनमा रहेका डुंगासमेत बन्द गरेका छन्।

चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले भने, कैलालीमा थप रोगीहरु फेला परेपछि हामी कैलालीसँग पूर्ण रुपले सम्बन्ध बिच्छेद गर्ने निर्णयमा पुगेर यस्तो गरेका हौँ ।

उनका अनुसार सुर्खेत र कैलाली जोड्ने सीमा नाका केउडी–रागामलेखा, मौरीवन–ताम्चा, सोवानचौर–सावा, बगेला–पुण्डन बन्द गरिएको छ । त्यसैगरी कैलालीसँग जोडिने कोलीमार, माटुमोल, टटाली, तुकेबलाटा, तालगाउँमा रहेका झोलुंगे पुलहरु पनि बन्द गरिएका छन् । त्यसैगरी सुर्खेतको पञ्चपुरीबाट कैलाली जोड्ने कुइने र जंगलाघाटमा रहेका झोलुंगे पुलहरू बन्द गरिएको पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here