काठमाडौँ । राष्ट्रिय निकुञ्ज विभागको हल । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव र सचिव डा. पेमनारायण कँडेल सहभागी ।
विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले विभागको ब्रिफिङ गरिरहेका थिए । बिएस्सी र बिएड पास गरेका गणितका शिक्षक मन्त्री यादवले डा. कँडेलको सबै कुरा ध्यान पूर्वक सुनिरहेका थिए ।
डा. कँडेलले आफ्नो प्रस्तुतीमा भने, मन्त्री ज्यू फिल्डमा कहिलेकाँही कुस्ती नि खेल्नु पर्छ । कतिपय ठाउँमा म नि आफै परेको छु । मैले त सिधै ठोकि दिन्छु नि । ठोकेको पनि छु । नठोकेर हुँदै हुँदैन ।
एकोहोरो प्रस्तुति सुनिरहेका मन्त्री यादव झसङ्ग भएर भने, बाफरे बाफ । हो र ? त्यस्तो नि गर्नु पर्छ ? तपाईहरु जस्तो कर्मचारीले ?
वन्यजन्तु संरक्षणको विषयमा प्रस्तुति गरिरहेको कँडेलले निकै भावुक र भावना बग्दै बोलेका शब्द वास्तवमा यथार्थपरक थिए । खानतलासी गर्दा होस वा घटनास्थलमा भेटिने अपराधीसँग भिड्नु पर्ने कुरा सुनेपछि मन्त्री झसङ्ग भएका थिए ।
मन्त्री यादवले सोधे, तपाईहरुले किन ठोक्नुपर्छ ? बदमासी गर्ने सँग लड्नुपर्छ ?
प्रतिउत्तरमा महानिर्देशक डा. कँडेलले भने, नेपाली सेनाले सुरक्षा दिने हो मन्त्री ज्यू, कानूनी रुपमा समात्ने त हामीले नै हो । निकुञ्जभित्र पसेर गलत गर्ने व्यक्ति भाग्ने खोज्यो भने ठोक्ने नै हो । मैले नि धेरै ठाउँमा सिँधै ठोकेको छु । अपराधी भाग्न थाल्दा त नझम्टेर पारै लाग्दैन । त्यसैले फिल्डमा निकुञ्जका कर्मचारीले काम गर्न निकै गाह्रो छ ।

वन्यजन्तुलाई चिमोटे पनि आफूलाई नै चिमोटेको जस्तो ‘फिल’ हुने भएकाले वन्यजन्तुको चोरी शिकार सह्य नहुने बताएका महानिर्देशक डा. कँडेललाई मन्त्री यादवले प्रतिप्रश्न गर्दै भने, तपाईहरुलाई वन्यजन्तुको यति माया लाग्छ भने यो वनको करमचारीलाई रुखको माया किन लाग्दैन होला ? तपाईहरु जस्तै डिएफो, रेञ्जरलाई रुखको माया लागेको भए यसरी वन विनाश हुँदैनथ्यो होला है ।
मन्त्री यादवले आफूले घरमा लगाएको अम्बाको बोट नकाटेको तर वन कर्मचारीलै रुख सखाप पारेको बताए । उनले भने, तपाईहरुको मन्त्रालयको कागजमा मात्र बन देखिन्छ । फिल्डमा गयो भने वन त खाली भइसक्यो ।
मन्त्री यादवले नेपालमा पाइने पाटे बाघ र गैँडाको आनीबानी कुरा ध्यान दिएर सुने । उत्सुकता पनि जगाए । बाघले गर्ने शिकार बारे मन्त्री यादवले प्रश्न गरे । गैँडा हेर्न चितवन पुग्ने इच्छा व्यक्त गरे ।
कार्यक्रममा वन सचिव डा. पेमनारायण कँडेलले निकुञ्जका कर्मचारीले तराईको गर्मीदेखि हिमालको हिउँसँग लडेर काम गरेकै कारण आज नेपालमा विश्वकै दुर्लभ मानिएका वन्यजन्तु देख्न सकिने परिस्थिति सिर्जना भएको बताए ।
सचिव डा. कँडेलले भने, नेपालको संरक्षणको मोडल विश्वका कतिपय मुलुकले अनुशरण समेत गरेका छन् । त्यसैले संरक्षणमा नेपालले पछिल्लो वर्ष ठूला उपलब्धी हासिल गर्दै आएको छ ।
विशेष गरी कोशी टप्पु र शुक्लाफाँटाको स्थानान्तरण र मुआब्जाको समस्यालाई मन्त्री यादवले समाधान गर्ने उपाय खोज्न सचिव र महानिर्देशकसँग छुट्टै बस्ने निर्देशन दिए । । उनले भने, यो समस्या धेरै दिन बाँकी राख्नुहुँदैन । यथार्थ जे हो, त्यसलाई समाधान गरिहाल्नुपर्छ ।

































