आमूल परिवर्तन गर्छु : वन मन्त्री यादव

काठमाडौँ । नवनियुक्त वन तथा वातारण मन्त्री रामसहाय प्रसाद यादवले आफू मन्त्री पदमा बसुन्जेल वन, वातावरण क्षेत्रमा आमूल परिवर्तनका लागि लाग्ने बताएका छन् ।

पदभार ग्रहण गर्दै उनले भने, वन जंगल मानव जीवनसँग जोडिएको विषय हो । स्वच्छ वातावरण बनाउनु हाम्रो कर्तब्य हो । त्यसैले यो पदमा बसुन्जेलसम्म राम्रो काम गर्ने इच्छा राखेको छु । म बिगार्ने भन्दा पनि सपार्ने तर्फ लाग्ने छु ।

जलवायु परिवर्तनले नेपालमा विशेष गरी तराई क्षेत्रमा असर पारेको बताउँदै मन्त्री यादवले भने, चुरे क्षेत्रबाट जथाभावी रुपमा ढुङ्गा, बालुवा उत्खनन्ले अन्न भण्डारको रुपमा रहेको तराई क्षेत्र मरुभूमि जस्तै हुने भएको छ । अब यसलाई जसरी भएपनि रोक्नुपर्छ ।

उनले भने, चुरेका कार्यक्रम अब ठोस रुपमा परिणाममुखी हुनु जरूरी छ । त्यसका लागि मैले मन्त्रिपरिषदमा बसेर के गर्न सक्छु । म लाग्नेछु ।

वन क्षेत्रमा हुने गरेका नराम्रा गतिविधि रोक्नु नै आफ्नो पहिलो काम भएको बताएका मन्त्री यादवले जलवायु परिवर्तनको विषय र नेपालको त्यसको असर बारे आफू राम्रो जानकार भएको दावी गरे ।

पोल्याण्डमा भएको जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएको बताएका मन्त्री यादवले सरकारको प्राथमिकता वातावरण क्षेत्रमा सुधार गर्नु रहेको धारणा व्यक्त गरे ।

वन क्षेत्रको रणनीतिक सुधार योजना स्वीकृत गरेर पदभार गरेका मन्त्री यादवले वन तथा वातावरण मन्त्रालयको आमूल परिवर्तनका लागि काम गर्ने बताए । त्यसका लागि वन मन्त्रालयको कर्मचारी नेतृत्वको साथ र सहयोगको अपेक्षा व्यक्त गरे ।

सो अवसरमा मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले सरकारले लिने नीति तथा कार्यक्रम सफल पार्न मन्त्रालयको कर्मचारी सक्षम र दक्ष रहेको धारणा व्यक्त गरे ।

उनले भने, स्वदेशमा उत्कृष्ट भएका र विदेशी विश्वविद्यालयको पढाई गरेका दक्ष जनशक्ति भएको वन मन्त्रालय हो । कामको हिसावले कहि कतै सम्झौता हुदैन । राज्यले लिएको नीति र कार्यक्रमलाई जसरी पनि सफलतामा लैजानका लागि कर्मचारीतन्त्र तयार छ ।

मन्त्रालयको कार्यक्षेत्र, हाल सञ्चालित कार्यक्रम, प्राप्त उपलब्धी, जनशक्ति तथा बजेटको अवस्था, चुनौती तथा अवसरहरु बारे मन्त्रालयका योजना महाशाखा प्रमुख शिव वाग्लेले प्रस्तुती गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here