काठमाडौँ । माछाको सागर मानिने सप्त कोशीमा माछाका भूरा छाडिएका छन् । नेपालका नदी प्रणालीमा सबैभन्दा ठूलो नदी मानिने सप्तकोशीमा माछाका भूरा किन छाडियो भन्ने सबैमा कौतुहलता हुन सक्छ ।
केही दिन अघि कोशी नदीमा गोही छाडेको कोशीटप्पु वन्यजन्तु आरक्षले सोमबार माछामा भूरा पनि छाडेको छ ।
आरक्षका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाका अनुसार कोशी नदीको ब्यारेज देखि ५०० मिटर उत्तरतर्फ ३० हजार स्थानीय रहु र नैनी जातका माछाका भूरा छाडिएका छन् ।

किन छाडियो त ?
फेब्रअरी २ का दिन सिमसार दिवसका अवसरमा चितवनका कसरामा हुर्काइएका २० वटा गोही कोशी नदीमा छाडिएका थिए । गोही छाडिएपछि स्थानीय मछुवारहरुले गोहीले माछा खाएपछि आफ्नो पेशा व्यवसाय संकटमा पर्ने भन्दै बिरोधको आवाज उठाए ।
माछाको खानी कोशी नदीमा गोही छाडेकै कारणले आरक्ष प्रशासनसम्म गुनाशो आएपछि माछाको भूरा छाडिएको प्रमुख संरक्षण अधिकृत खतिवडाले बताए ।
उनले भने, सरकारको निर्णय अनुसार कोशीमा गोही छाडियो । माछाका भूरा छाड्न हामीसँग बजेट पनि थिएन । गोही छाडिएपछि यहाँका मछुवारहरु आएर गुनाशो गरे । त्यसपछि हेटौडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रसँग समन्वय गरेर ३० हजार माछाका भूरा छाडिएका छन् ।
कोशी टप्पु क्षेत्रमा आरक्षले माछा मार्नका लागि ३०० भन्दा बढी मछुवारलाई अनुमति जारी गरेको छ । माछा उत्पादन हुने समय असार, साउन र भदौ महिनामा मछुवारलाई माछा मार्न बन्देज लगाइएको हुन्छ ।
एक जोडी माछाले एक सिजनमा कम्तिमा ८० हजार भूरा उत्पादन गर्न सक्ने भएकाले ३० हजार भूरा वयस्क भई माछा उत्पादन हुन थाल्यो भने कोशी नदीमा आगामी दिनमा माछाको अभाव नहुने बिश्वास गरिएको छ ।