महेन्द्रनगर । शुक्लाफाँटा लालझाडी जोगबुढा कम्प्लेक्समा शनिबारदेखि बाघ गणना कार्य शुभारम्भ भएको छ ।
कार्यक्रममा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले शुक्लाफाँटा राष्टिय निकुञ्जको कोर एरियामा क्यामराको स्वीच अन गरेर गणनाको शुभारम्भ भएको घोषणा गरेका छन् ।

उनले नेपालले बाघको संरक्षणमा गरेको उल्लेखनीय कार्यले विश्व समुदायलाई नै चकित पारिरहेको बताए । मानव वन्यजन्तु द्वन्द्वका घटना कम गर्न र निकुष्ज पीडित समुदायलाई मुआब्जा दिन सरकार गम्भीर भएको बताए ।
मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले नेपालले पछिल्ला दिनमा संरक्षणमा गरेको हरेक क्रियाकलापहरु सफल हुँदै गएको बताए ।
यो अवधिमा वन्यजन्तुको बासस्थान सुधार, विस्तार तथा चोरी शिकार नियन्त्रण भएकाले बाघको संख्या दोब्बरको नजिक पुगेको सचिव डा. कँडेलले बताए ।

सचिव डा. कँडेलले स्थानीय समुदायको सक्रिय सहभागिता र संरक्षण साझेदार संस्थाको निरन्तर आर्थिक तथा प्राविधिक सहयोग र नेपाली सेना लगायत सरोकारवाला निकायको समन्वय र साझेदारीतामा नेपालले बाघको संख्या दोब्बर गर्ने महत्वकांक्षी संकल्प पूरा हुन थालेको बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले यस पटकको बाघ गणना ऐतिहासिक हुने बताए ।
उनले भने, यस पटक नेपालले अन्तर्राष्ट्रिय समुदायका अगाडि बाघको संख्या दोब्बर बनाउने भन्ने गरेको बाचा पूरा हुँदैछ । यो गणनाले नेपालका बाघको संख्या २५० भन्दा बढी भएको देख्न पाइनेछ ।
सुदूरपश्चि प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव देवेशमणी त्रिपाठीले बाघको संख्या वृद्धिसँगै मानव वन्यजन्तु द्वन्द्वको न्यूनीकरण गर्नुपर्ने चुनौती थपिएको बताए ।
उनले बाघ संरक्षण र मानव वन्यजन्तु द्धन्द्धका घटना न्यूनीकरण गर्न तीनै तहका सरकारको प्रभावकारी समन्वयको संयन्त्र विकास गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले सरकारसँग मिलेर संरक्षणका काममा साझेदारीता गर्न पाएको खुसी व्यक्त गरे ।
कार्यक्रममा प्रकृति संरक्षण सम्बन्धी राना थारु सांस्कृतिक झाँकी तथा सुदूरपश्चिम क्षेत्रको प्रसिद्ध डेउडा नाच प्रस्तुत गरिएका थिए ।