काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत हुने क्रममा रहेको बताएका छन् ।
केही दिन अघि चितवनमा पूर्वपश्चिम राजमार्ग बिस्तार गर्ने क्रममा खनेको खाल्डोमा परी दुर्लभ एक सिँगे गैडा मरेपछि मन्त्रालयले आगामी दिनमा थप क्षति हुन नदिन यस्तो कार्यविधि निर्माण गर्न लागेको हो ।

सो घटना पछि बनेको अध्ययन समितिले पूर्वाधार संरचना निर्माण सम्बन्धी छुट्टै कार्यविधि बनाएर मात्र पूर्वाधार निर्माण अघि बढाउनु पर्ने कुराको सिफारिस गरेको थियो ।
सचिव डा. कँडेलका अनुसार संरक्षण क्षेत्र भित्र र वन्यजन्तुको आवातजावत हुने अन्य सबै क्षेत्रमा पूर्वाधारका संरचना निर्माण गर्दा वन्यजन्तुमैत्री बनाउनुपर्ने देखिएकाले मन्त्रालयले यस्तो कार्यविधि तयार गरेर मन्त्रिपरिषदमा पठाइसकेको छ ।
सो कार्यविधि पारित भएपछि पूर्वाधार निर्माण गर्ने निकायले वन्यन्तुलाई असर नपर्ने गरी संरचना निर्माण गर्नुपर्ने हुन्छ ।