वनको संरचनामा मेरो चित्त बुझेको छैन : वन मन्त्री साह

काठमाडौं । आइतबार मन्त्री पदको सपथ खाएर पदबहाली गरेका वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले वनलाई साँच्चै धन बनाउने काममा लाग्ने बताएका छन् ।


सोमबार बिहान नेपालकथासँग कुरा गर्दै मन्त्री सुडीले भने, पहिले पहिले सुनिने गरेको हरियो वन नेपालको धन भन्ने कुरा अहिले छैन । यसलाई साँच्चै व्यवहारमा उतार्ने काममा मैले लाग्ने बिचार गरेको छु । यसमा सबै पक्षको मलाई साथ चाहिन्छ ।


उनले भने, अहिले नेपालमा देश बाहिरको काठ आइरहेको छ । वन जंगलमा हाम्रो काठ सडिरहेको सूचना मैले पाएको छु । यो कुरा त सही भएन । यसलाई मैले सच्याउने काम गर्नेछु ।


मधेश प्रदेशमा सामाजिक विकास मन्त्री भएको अनुभव भएका मन्त्री सुडीले भने, कतिपय कुरामा संघले गर्नुपर्ने काम प्रदेशले गरिरहेको छ । कतिपय प्रदेशले गर्नुपर्ने काम संघीय सरकारले गरिरहेको छ । यसमा समन्वय जरुरी भएकाले मैले पहिलो निर्णय नै प्रदेश समन्वय गर्ने मन्त्रालयका कमाण्डर तोक्ने सम्बन्धमा गरेको छु । यसले केही सकारात्मक दिशामा काम होला भन्ने मैले आशा पनि लिएको छु ।

मधेश प्रदेशको सामाजिक विकास मन्त्री हुँदाको समयमा मन्त्री सुडी ।


पदबहाली भएकै दिन आइतबार मन्त्री सुडीले सङ्घीय मन्त्रालय र सातै प्रदेशका वन मन्त्रालयबीच समन्वयका लागि समन्वय अधिकृत तोक्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । सो निर्णय अनुसार सङ्घीय वन तथा वातावरण मन्त्रालयका सहसचिव बद्रीराज ढुंगानालाई कोशी प्रदेशको समन्वय गर्ने जिम्मेवारी तोएिको छ ।


त्यसै गरी सहसचिव नवराज पुडासैनीलाई मधेश प्रदेशको, डा.राजेन्द्र केसीलाई बागमती प्रदेशको, डा. महेश्वर ढकाललाई गण्डकी प्रदेशको जिम्मेवारी दिइएको छ । डा. बुद्धिसागर पौडेललाई लुम्बिनी प्रदेशको, मोहनदेव जोशीलाई कर्णाली प्रदेशको र शिवकुमार वाग्लेलाई सुदूरपश्चिम प्रदेशको समन्वय अधिकृत तोकिएको छ ।

नेपालकथासँग उनले भने, हेर्नुहोस् मैले प्रदेश चलाएर पनि अनुभव गरे । अहिले डिएफओहरु प्रदेश मातहत रहेर काम गरिरहेका छन् । डिएफओहरुलाई संघमा ल्याउने कुरा तत्कालै त हुदैन होला तर यसका लागि प्रयास गर्दा पछिसम्म हुन पनि सक्छ ।


अघिल्लो कार्यकाल मधेश प्रदेशको सामाजिक विकास मन्त्री भएका सुडी सप्तरी क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् । सप्तरी जिल्लाबाट जसपाबाट विजय भएका एक्ला व्यक्ति हुन् । सो जिल्लाको क्षेत्र नं २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव समेत हारेका थिए । जसपाले नेकपा एमालेसँग गठबन्धन गरेर चुनाव लडेको थियो ।

सप्तरीबाट चुनाव लड्दा सुडीको प्रचार प्रसार सामग्री ।


मन्त्री सुडीले कुराकानीको क्रममा भने, वनको संरचना केही मिलेको छैन । मेरो यसमा चित्त बुझेको छैन । आज क्याविनेट छ, मैले आजै यो कुरा राख्छु । तर पनि मेरै बिचार त लागु हुन सक्दैन । यस विषयमा मैले जरुर छलफल चलाउन सक्छु ।
उनले भने, नेपालमा ४५ प्रतिशत क्षेत्र वनजंगल छ तर यसको उपयोग भएको खै त ? यसको उपयोग गर्ने योजना मैले बनाउन कोशिस गर्नेछु ।


केही दिनभित्रै प्रदेशका वन तथा वातावरण मन्त्रीसँग पनि बैठक राखेर दुई सरकार बिचका समस्या, जटिलता समाधान गर्ने योजना बनाएको पनि उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here