काठमाडौँ । सरकारले नेपाल वन निगमका कार्यकारी प्रमुख रामेश्वर भट्टराईलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । केपी शर्मा ओली सरकारका पालामा नियुक्ति पाएका भट्टराई निकै लामो समयदेखि बिबादित बन्दै आएका थिए ।
त्यसैगरी वन पैदावार विकास समितिका अध्यक्ष दीपा दाहाललाई स्पष्टीकरण सोध्ने पनि निर्णय भएको बालुवाटार स्रोतले जनाएको छ ।
दाहाल अध्यक्षमा नियुक्त भएपछि विकास समिति र मन्त्रालयको सम्पर्क पनि खासै नआउने गरेको गुनाशो आइरहेका बेला मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो ।
वन तथा वातावरण मन्त्रीमा रामसहाय प्रसाद यादव नियुक्त भएपछि राष्ट्रपति चुरे तराई मधेश विकास समितिका पदाधिकारी बर्खास्तमा परिसकेका छन् ।
निगमका भट्टराईको बर्खास्ती भइसकेको छ भने विकास समितिका अध्यक्ष दाहाललाई बर्खास्त गर्ने तयारीका साथ यो कदम चालिएको बताइएको छ ।
जडीबुटी विकास कम्पनीका महाप्रवन्धक ज्ञानेश्वर कार्कीको म्याद सकिएपछि वर्तमान मन्त्री यादवले उनको म्याद नथपेर सो पदका लागि खुला प्रतिष्पर्धाबाट नियुक्तिका लागि सूचना प्रकाशित भइसकेको छ ।
अब अर्काे चरणमा राष्ट्रिय प्रकृति संरक्षण कोष तर्फ सरकारले तयारी गरिएको बुझिएको छ ।