महानिर्देशकमा डा. राजेन्द्र केशी

काठमाडौँ । वन तथा भूसंरक्षण विभागको महानिर्देशकमा डा. राजेन्द्र केशीलाई जिम्मेवारी दिइएको छ ।

तत्कालिन महानिर्देशक मनबहादुर खड्का उमेरहदका कारण सेवानिवृत भएपछि डा. केशी गत फागुन २० गतेबाट निमित्त महानिर्देशकको जिम्मेवारीमा रहेका थिए ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले मंगलबार नेपालकथासँग भने, वन तथा भूसंरक्षण विभागमा डिडिजीका रुपमा कार्यरत डा. केशीलाई डिजीको जिम्मेवारी आजबाट दिइएको छ ।

लुम्बिनी प्रदेश सचिवबाट काठमाडौँ फर्किएका केशीलाई मन्त्रालयले वैज्ञानिक वन व्यवस्थापनको देशव्यापी अध्ययनको महत्वपूर्ण जिम्मेवारी सुम्पेको थियो । सो अध्ययनको क्रममा देशदौडाहामा रहेका केशीलाई चितवनको गैँडा मृत्यु प्रकरणको अध्ययन समितिका संयोजक समेत तोकिएको थियो । उनले सो घटनाको प्रतिवेदन बुझाइसकेका छन् । वर्तमान वन मन्त्रालयको नेतृत्वले डा. केशीलाई महानिर्देशक बनाएपछि यो तेस्रो र महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको हो ।

को हुन केशी ?

२०५५ सालमा वन सेवामा प्रवेश गरेका केशीले सहायक वन अधिकृतको रुपमा पहिलो पटक दाङबाट जागिर सुरु गरेका हुन् । दाङ पछि सर्लाही पुगेका केशीले अछाम, डोटीमा जिल्ला वन अधिकृतको जिम्मेवारी सफलतापूर्वक पूरा गरे ।

वन अनुसन्धानको उपसचिवमा २०७० सालमा बढुवा भएका केशी २०७३ सालमै सहसचिवको कुर्शि सम्म पुग्न सफल भए । २०७३ साल चैत ३ गते सहसचिवमा बढुवा भएका केशीलाई त्यतिबेलै कैलालीको जिल्ला वन अधिकृत बनाएर पठाइयो । कैलालीमा त्यतिबेला जिल्ला वन अधिकृतको दरबन्दी सहसचिवको थियो ।

छोटो समय कैलालीको अनुभव लिएका केशी वन विभागमा उपमहानिर्देशक भएर बसे । वन मन्त्रालयको वन तथा जलाधार महाशाखा प्रमुख भएकै बेला लुम्बिनी प्रदेश वन सचिवमा सरुवा भएका केशीले झण्डै १३ महिना बिताए ।

लुम्बिनीबाट फर्केर उपहानिर्देशकको जिम्मेवारी पाएका केशीले मनबहादुर खड्का सेवानिवृत भएपछि निमित्त हुँदै महानिर्देशकको पदवहाली गरेका छन् ।

चर्चामै सिमित भए वाग्ले

वन तथा वातावरण मन्त्रालयका सिनियर सहसचिवमा रहेका शिव वाग्ले झण्डै तीन वर्ष जति बागमति प्रदेशको वन सचिवमा काम गरेका थिए । धेरै जिल्लाको डिएफो भएको अनुभव बटुलेका वाग्ले हेटौडाबाट काठमाडौ फर्केपछि मन्त्रालयको योजना महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।

मनबहादुर खड्का सेवा निवृत भएपछि विभागको महानिर्देशकका वाग्लेको चर्चा निकै चलेको थियो । डा. केशीलाई महानिर्देशकको जिम्मेवारी तोकिएपछि वाग्ले मन्त्रालयको योजना महाशाखाको जिम्मेवारीमा रहेका छन् ।

बिन्दु मिश्र मधेश प्रदेशबाट फिर्ता भएपछि मिश्रको व्यवस्थापनसँगै अरु सहसचिवको पनि हेरफेर हुन्छ कि भन्ने चर्चा चलेपनि तत्काल सरुवाको भूइचालो नआउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here