काठमाडौँ । सरकारले कोशी टप्पु वन्यजन्तु आरक्षमा गैँडाको बासस्थान बिस्तार गर्न थालेको छ ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलका अनुसार दुर्लभ मानिएका वन्यजन्तुलाई एकै ठाउँमा मात्र केन्द्रित गरेर मात्र नहुने भएकाले उपर्यक्त बासस्थान भएका ठाउँमा समेत बिस्तार गर्ने योजना अनुरुप सरकारले यो काम गरिरहेको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको उच्चस्तरीय विज्ञ टोली गैँडाको बासस्थानको अध्ययन गर्न कोशी टप्पु पुगेको छ ।
![](https://i0.wp.com/nepalkatha.com/wp-content/uploads/2022/03/Interaction-copy.jpg?fit=696%2C464&ssl=1)
विश्वमै दुर्लभ मानिएको एक सिँगे गैँडाको बासस्थान बिस्तार गर्ने नीति अनुरुप कोशी टप्पुमा उपर्युक्त बासस्थान भए, नभएका विषयमा अध्ययन गर्न विभागका उपमहानिर्देशक बेदकुमार ढकालको नेतृत्वमा टोली खटिएको छ ।
विभागका अनुसार सो टोलीमा इकोजिष्ट गणेश पन्त, चितनव राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, कोशी टप्पुका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा, एनटीएनसीका डा. नरेश सुवेदी, जेडएसएलका डा. भगवान दाहाल, डब्लुडब्लुएफका डा. कञ्चन थापा, सहायक संरक्षण अधिकृत अशोककुमार राम लगायतका प्राविधिकहरुको सहभागिता छ ।
विज्ञ टोलीले कोशी टप्पु क्षेत्रमा गैँडाको लागि हुने बासस्थानका विषयमा स्थलगत अध्ययन गरी विभागलाई प्रतिवेदन बुझाउने छ । सो टोलीले कोशी टप्पु क्षेत्र वरीपरीका स्थानीय तह तथा समुदायसँग सो विषयमा छलफल पनि चलाएको छ ।
टोलीको नेतृत्व गर्नुभएका उपमहानिर्देशक ढकालले बिहीबार नेपालकथासँग भने, यहाँको स्थानीय सरकार र समुदायले गैँडा कोशी टप्पुमा राख्नुपर्ने माग गरेका छन् । त्यसका लागि स्थानीय तहहरुले कोशी टप्पुलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
![](https://i1.wp.com/nepalkatha.com/wp-content/uploads/2022/03/koshi-copy.jpg?fit=696%2C522&ssl=1)
गैँडाका लागि बासस्थानको विस्तृत अध्ययन गरेपछि बासस्थान उपर्यक्त देखिएमा चितवनबाट गैँडा कोशी टप्पुमा स्थानान्तरण गर्ने योजना बनाएको छ ।
त्यसैगरी कोशी टप्पुमा रहेका थप अर्नालाई चितवन स्थानान्तरण गर्ने विषयमा पनि सोही टोलीले अध्ययन गर्दै छ । यस अघि २०७३ सालमा केही अर्ना कोशी टप्पुबाट चितवन राखिएका थिए ।
महानिर्देशकले सक्रियता बढाए
विभागको महानिर्देशकमा डा. रामचन्द्र कँडेल आएपछि विभागमा थाति रहेका र केही नयाँ कामको थालनी गर्न थालेका छन् ।
कँडेल तत्कालिन अवस्थामा चितवनमा प्रमुख संरक्षण अधिकृत हुँदा कोशी टप्पुबाट २०७३ सालमा अर्ना चितवन ल्याइएको थिए ।
![](https://i1.wp.com/nepalkatha.com/wp-content/uploads/2022/03/interation1-copy.jpg?fit=696%2C464&ssl=1)
त्यतिबेला कोशी टप्पु वरीपरीका समुदायले चितवनलाई अर्ना दिने र गैडा चितवनबाट कोशी टप्पुमा ल्याउने विषयमा छलफल गरेका थिए । सोही कुरालाई मूर्त रुप दिन वर्तमान महानिर्देशक कँडेल सक्रिय हुन थालेका छन् ।
अर्नाका विषयमा विद्यावारिधि प्राप्त कँडेलले अर्नाको बासस्थान बिस्तारलाई बढी जोड दिन थालेका छन् । अर्नाको बासस्थान बिस्तारको कुरा चितवनमा सफल भए आगामी दिनमा तराईका अन्य संरक्षित क्षेत्रमा पनि अर्ना बिस्तार गर्नुपर्ने उनको भनाई छ ।