काठमाडौँ । वन्यजन्तु संरक्षणका लाथि थप प्रभावकारी काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै २७ औं वन्यजन्तु सप्ताह २०७९ सम्पन्न भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले यो सप्ताहमा गरिएका प्रतिवद्धतालाई पूरा गर्न सरकार प्रभावकारीका रुपमा लाग्ने बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले वन्यजन्तु सप्ताह विशेष कार्यक्रममा साथ मनाएपनि वन तथा वातावरण मन्त्रालयले वर्षभरी नै संरक्षणको कर्म गर्दै आएको बताए । आगामी दिन संरक्षणका लागि झन चुनौतीपूर्ण र चेपिला बन्दै जाने संकेत देखापरेको बताउँदै सचिव डा. कँडेलले नयाँ ढंगले देखा परेका चुनौतीलाई समाधान गर्न सबैको उत्तिकै सहभागिता हुनुपर्ने र त्यसको नेतृत्व लिन सरकार सक्रिय हुँदै आएको बताए ।
कार्यक्रममा संरक्षणका क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै नेपाल पंक्षी संरक्षण संघलाई सम्मान गरियो । त्यसैगरी शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्याल, एम्बिसन एकेडेमी नयाँ बानेश्वरका देबीप्रसाद घिमिरे, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष धावा लामालाई सम्मान गरियो ।
सप्ताहव्यापी रुपमा सम्पन्न भएका संरक्षण सम्बन्धी वक्तत्वकला, कविता तथा चित्रकला प्रतियोगितामा पुरस्कार पाउन सफल भएका विद्यार्थीहरुलाई विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले पुरस्कार वितरण गरे ।
यसैगरी कोशीटप्पु वन्यजन्तु आरक्षमा २७ औं वन्यजन्तु सप्ताह सम्पन्न भएको छ ।
सप्ताहको कार्यक्रममा कोशीटप्पु वन्यजन्तु आरक्ष, नेपाली सेनाको दुर्गा दल गुल्म, मध्यवर्ती उपभोक्ता समितिहरु, समुदायमा आधारित चोरि शिकार प्रतिरोध इकाई, स्थानीय विद्यालयहरु, कोशी संरक्षण केन्द्र, मलाहा माझी सञ्जाल, स्थानीय पर्यटन व्यवसायी लगायतका सरोकारवालाहरु सहभागितामा बिभिन्न कार्यक्रम गरिएका छन् ।

सप्ताहको अन्तिम दिन भएको अन्तक्र्रिया कार्यक्रममा सरोकारावालहरुले लामो समयदेखि बल्झिरहेको अतिक्रमण हटाउनुपर्ने, जग्गा समस्या समाधानको लागि आयोग गठन गर्नु पर्ने माग उठाइएका छन् ।
त्यसैगरी छाडा चरिचरण नियन्त्रणको लागि सरोकारवालाहरुसंग समन्वय गरी कार्यविधि तयार गर्नुपर्ने र स्थानीय पालिकाहरुसंँग सहकार्य गरी कार्यान्वयन गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका छन् ।
वन्यजन्तुको वासस्थान सुधारमा जोड दिनु पर्ने, मानव वन्यजन्तु द्वन्द व्यवस्थापनको लागि विद्युतीय तारवार निर्माण र प्रभावकारी सञ्चालनमा गर्नुपर्ने माग स्थानीय समुदायले राखेको कुरा प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताए ।
मध्यवर्ति क्षेत्र व्यवस्थापनको लागि पर्याप्त वजेट र कार्यक्रम सुनिश्चिता हुने कानुनी व्यवस्था गर्न आवश्यक पहल गर्नु पर्ने, स्थानीय तहलाई मध्यवर्ती क्षेत्रको व्यवस्थापन गर्नका लागि आग्रह पनि गरियो । आरक्षलाई राष्ट्रिय निकुञ्जमा स्तरोन्नती गर्दै गैँडा स्थानान्तरणको माग पनि स्थानीय समुदायले राखेका छन् ।
पर्सा, चितवन, बाँके, बर्दिया, लामटाड, सगरमाथा तथा शुक्लाफाँटा राष्टिय निकुञ्जमा पनि बिभिन्न कार्यक्रममा साथ वन्यजन्तु सप्ताह मनाइएको छ ।