तेस्रो हात्ती बैठक काठमाडौँमा हुँदै

काठमाडौँ । हात्ती पाउने एसियाली मुलुकहरुको तेस्रो बैठक यही बैशाख १४ गतेबाट काठमाडौँमा हुने भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने बैठकमा एसियाली हात्ती पाउने १३ वटा मुलुकका प्रतिनिधिहरुले भाग लिने भएका छन् ।

बैठकको आयोजना नेपाल सरकारका तर्फबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गर्दै छ भने आर्थिक सहयोग राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका संरक्षण साझेदार संस्थाले गर्ने भएका छन् ।

नेपाल, भारत, भुटान, चीन, म्यानमार, थाइल्याण्ड, इण्डोनेशिया, मलेसिया, बंगलादेश, मालदिभ्स, भियतनाम, श्रीलंका लगायतका मुलुकका सरकारी उच्च अधिकारी, विज्ञ तथा अनुसन्धानकर्ताहरुको सहभागिता रहने भएको जानकारी विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले दिए ।

नेपालका तर्फबाट हात्ती पाइने निकुञ्ज, आरक्षमा कार्यरत प्रमुख संरक्षण अधिकृत, वन डिभिजन प्रमुख तथा हात्ती विशेषज्ञहरुको सहभागिता रहने भएको छ ।

बैठकले काठमाडौँ घोषणापत्र जारी गर्ने डा. कँडेलले बताए । उनका अनुसार बैठकका लागि हात्ती पाइने मुलुक सञ्चालन हुने गरेका असल र सफल कार्यक्रमको अनुभव आदान प्रदान, नीति बारे छलफल, हात्तीको अबस्था, हालसम्मका उपलब्धी, चुनौती तथा भावी कार्यदिशाका लगायतका एजेण्डा तय भएका छन् ।

त्यसैगरी हात्ती संरक्षणका लागि दुई देशीय र बहुदेशीय आपसी सहयोग, समन्वय तथा सहमति पनि हुने महानिर्देशक डा. कँडेलले बताए ।


डा.नरेन्द्रबाबु प्रधान

ल्याण्डस्केपको अवधारणा आवश्यक छ


हात्तीको विषयमा विद्यावारिधि प्राप्त डा.नरेन्द्रबाबु प्रधानले यो बैठकबाट नेपालले फाइदा लिन सक्ने बताएका छन् । उनले नेपालकथासँग भने, हात्तीको ठूलो होम रेञ्ज हुने भएकाले एउटा देशले मात्र हात्ती संरक्षणको नीति बनाएर हुँदैन ।

जस्तो नेपालले हात्ती संरक्षणको नीति बनाउँदा भारतसँग र भारतले बनाउँदा नेपालसँग मिल्ने गरी बनायो भने हात्तीको प्रभावकारी संरक्षण हुन सक्छ । त्यसका लागि यस्तै बैठक आवश्यक हुन्छन् र ती बैठकलाई सदुपयोग गर्न सक्नु पर्छ ।

अर्काे कुरा हात्ती र मानवबीचको द्वन्द्व सबै मुलुकमा चर्काे रुपमा बढीरहेको छ । अरु मुलुकले कसरी द्वन्द्व व्यवस्थापन गरेका छन् त्यसलाई हेरेर नेपालले पनि आफ्ना कार्यक्रम विकास गर्न सक्छ । हात्ती एउटा मुलुकको मात्र नभई सबैको साझा जनावर भएकाले द्विपक्षीय हिसाबले यसको संरक्षणका अवधारणा बनाएर काम गर्न सके हात्ती संरक्षणमा ठूलो उपलब्धी हासिल गर्न सकिन्छ ।


अशोक कुमार राम

बैठक हुनु ज्यादै सकारात्मक

हात्तीको विषयमा विद्यावारिधि गर्दै आएका निकुञ्ज विभागका संरक्षण अधिकृत अशोक कुमार रामले नेपालमा यो बैठक हुनु ज्यादै सकारात्मक कुरो भएको बताए ।

उनले नेपालकथासँग भने, नेपालमा पनि हात्तीसँग मानव द्वन्द्वका घटना बढीरहेका बेला अरु मुलुकले द्वन्द्व व्यवस्थापनमा अपनाएका असल प्रयास बारे जानकारी लिने दिने महत्वपूर्ण अवसर हो । ती प्रयासहरु नेपालले पनि अनुशरण गर्न सक्छ ।

उनले भने, बाघ र गैँडालाई महत्व दिइएपनि हात्तीलाई पछिल्ला दिनमा खासै महत्वका साथ हेरिन छाडेको छ । लखेटेर, करेन्ट लगाएर लगायतका अन्य गतिविधिहरुले हात्तीको मृत्यु दर अरु जनावर भन्दा बढी छ । यही गतिमा हात्तीमा क्षति हुने हो भने नेपालका हात्ती पनि गम्भीर मोडमा पुग्न सक्छन् । यस्तो बेलामा यो बैठक हुनु नेपालका लागि ज्यादै सकारात्मक कुरो हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here