काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको परम्परा तोड्दै केवलकार व्यवसायी एवं महासंघका अध्यक्ष चन्द्र ढकाल नेपाल सरकारका मुख्य सचिवलाई शुभकामना दिन पुगेका छन् ।
महासंघले विशेष गरी प्रधानमन्त्री र अर्थमन्त्री नयाँ नियुक्त हुँदा आफ्ना व्यावसायिक हकहितका काम गराउन र कार्यकालको शुभकामना दिने प्रचलन थियो तर यो पटक केवलकार व्यवसायी ढकाल अध्यक्ष रहेको संस्था महासंघको टोलीले नयाँ मुख्य सचिव नियुक्त भएको २४ घण्टा नबित्दै सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई भेटेर शुभकामना दिएका छ ।
नेपाल सरकारको मुख्य सचिवलाई शुभकामना दिनु संस्थागत रुपमा नराम्रो र टिप्पणी गरिहाल्नु पर्ने विषय भने होइन । महासंघको इतिहासमा अहिलेसम्म यसरी मूख्य सचिव, सचिवमा नियुक्त भएको व्यक्तिलाई शुभकामना दिएको घटना भने छैन ।
यो भेटघाटलाई महासंघको नयाँ सुरुवातको रुपमा पनि लिन सकिन्छ । कुरो यति मात्र होइन, अघिल्ला मुख्यसचिव शंकरदास वैरागीसँगको विशेष साँठगाँठमा देशभरीमा आफ्ना लगानीका केवलकार, जलविद्युत् लगायतका दर्जनौँ योजनाको काम हात पार्न सफल भएका ढकालले बाँँकी अधुरो रहेको पाथीभरा केवलकारको काम फत्ते गर्नका लागि महासंघको सहारा लिएर नयाँ मुख्य सचिव डा. बैकुण्ठ अर्यालसँग सम्बन्ध गाँस्न खोजेको महासंघका एक पदाधिकारीले बताए ।
उनले नेपालकथासँग भने, महासंघको अध्यक्ष ढकालले नयाँ मुख्य सचिवलाई भेट्न जाउँ भने पछि जान्न भन्नु भएन । हामी त राम्रै तरिकाले शुभकामना दिने उद्देश्य राखेर महासंघको तर्फबाट मुख्य सचिवलाई भेट्न गयौँ । जब हाम्रो भेटमा महासंघका अध्यक्ष ढकालले पाथीभरा केवलकारको फायल सहित बोकेर आधा घण्टा एक्लै भेटेपछि हामीलाई थाहा भयो कि सम्बन्ध गाँस्न र काम फत्ते पार्न महासंघको सहारा लिएको रहेछ ।
उनले अगाडी भने, शुभकामना दिने नाउँमा अध्यक्षले आफ्नो प्रत्यक्ष संलग्नता रहेको व्यक्तिगत फायल बोकेर जाँदा हामी पनि ढकालको कामका लागि लविङ गर्न गएजस्तो देखियो । यो गलत काम भयो । महासंघले कहिल्यै कुनै पनि मुख्य सचिव, सचिव नियुक्त हुँदा बधाई दिएको इतिहास छैन । तर प्रधानमन्त्री, अर्थमन्त्री नियुक्त हुँदा बधाई तथा शुभकामना दिने प्रचलन थियो, अहिले त्यो परम्परालाई ढकालले तोड्नु भयो ।
पाथीभरा केवलकारका लागि यति एअरको प्रवद्र्धक कम्पनी यति ग्रुपले कामको सुरुवात गरेको थियो । सोही क्रममा हेलिकप्टर दुर्घटनामा परी तत्कालिन पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित प्रवद्र्धक समेतको मृत्यु भएपछि यति ग्रुपले काम सम्पन्न गर्न सक्ने व्यक्ति भन्दै आइएमई ग्रुपका चन्द्र ढकाललाई शेयर बिक्री गरेको थियो । करिब चार अर्ब लागत अनुमान गरिएको सो केवलकारमा चन्द्र ढकाल समुहको ५१ प्रतिशत सेयर रहेको छ ।
वन तथा भूसंरक्षण विभागले सो केवलकार निर्माणका लागि काट्नु पर्ने आठ हजार भन्दा बढी रुख कटानको सिफारिस सहित स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयलाई फायल पठाइसकेको छ । हालै मात्र मन्त्री नियुक्त भएका बिरेन्द्रप्रसाद महतो विभागले पठाएको फायलमा थप विस्तृत अध्ययन गरेर मात्र अघि बढाउने मनस्थिति बनाएका छन् । शुक्रबार मन्त्री समक्ष पेश भएको पाथीभरा केवलकारको फायल मन्त्रीले थप अध्ययन गरी राय पेश गर्न आफ्नो सचिवालयलाई निर्देशन दिएको छ ।
यही असार ११ गते सेवा निवृत हुन थालेका विभागका महानिर्देशक देवेशमणी त्रिपाठी पाथीभराको फायल सदर गराउन दौडधुप गरिरहेका छन् । त्रिपाठीले सो कामका लागि शुक्रबारै मन्त्री बिरेन्द्रप्रसाद यादवलाई भेटेर फायल स्वीकृतिका लागि अनुरोध समेत गरेका छन् । सेवानिवृत हुन थालेका व्यक्तिले पाथीभरा केवलकारको फायलका लागि गरेको दौडधुपलाई मन्त्रालयभित्र चर्चाको विषय बनेको छ ।
शुक्रबारै मन्त्री महतोसँगको छलफलमा सो फायल थप अध्ययन गरेर मात्र अघि बढाउने कुरामा मन्त्रालयका सचिव रेवणीरमण पौडेलले पनि सहमति जनाएका छन् ।
स्मरणीय छ, अघिल्ला मुख्य सचिव शंकरदास बैरागीले सबैभन्दा बढी वन तथा वातावरण मन्त्रालयको काममा हस्तक्षेप गरेका थिए । बिभिन्न जलविद्युत् आयोजना, केवलकार, होटलहरुलाई जग्गा उपलब्ध गराउने, वातावरणीय प्रभाव मूल्यांकनका फायलहरु चाँडो टुङ्ग्याउने काममा मुख्य सचिव बैरागीको हस्तक्षेप हुने गरेको थियो ।
वन मन्त्रालयका कर्मचारीको सरुवामा समेत मुख्य सचिव बैरागीको ठूलो चाँसो रहने गरेको थियो । पछिल्लो पटक राष्ट्रपति चुरे कार्यक्रम लम्की इकाईमा हालै काज सरुवा भएर गएका हरिवंश आचार्यको समेत सरुवा समेत मुख्य सचिव बैरागीले ठाडो निर्देशन दिएका थिए भने केही प्रमुख संरक्षण अधिकृतको सरुवामा समेत उनको फोन तत्कालिन वन सचिवलाई आउने गरेको थियो ।
मुख्य सचिव बैरागी मार्फत पशु मन्त्रालयमा हाल कार्यरत डा. दिपक खराललाई वन मन्त्रालयमा सरुवा हुन रोकाउन सफल भएका चन्द्र ढकालले आफ्ना सबै काम बैरागीबाट गराएका थिए । मुख्य सचिवलाई हात लिन सके वन मन्त्रालयको काम फत्ते पार्न सकिने अनुभव बटुलेका ढकालले नयाँ मुख्य सचिवलाई पनि हात लिने दाउमा नयाँ मुख्य सचिवमा डा. बैकुण्ठ अर्याल नियुक्त भएको खबर बासी नहुँदै भेट गरेको चर्चा महासंघमा चलेको छ ।