धनगढीका मेयर गोपाल हमाललाई वन मुद्धा लगाउने तयारी

काठमाडौँ । स्वतन्त्र उम्मेदवार बनेर जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई सरकारले वन मुद्धा लगाउने तयारी गरेको छ । यो मुद्धा लगाएमा मेयर हमाललाई एक वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।

वन ऐन २०७६ को परिच्छेद १५ कसुर गरेकोले सोही परिच्छेदको दफा ४९ को उपदफा (ठ), (ण) बमोजिम हमालले गरेको क्षतिको बिगो सरकारले असुल गरी एक वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने गरी मुद्धा चलाउने तयारी भइरहेको छ ।

कैलाली जिल्लाको सदरमुकाम धनगढीमा रहेको देवहरीया वनस्पति उद्यानमा लगाइएको पर्खाल भत्काएको कसुरमा हमाललाई मुद्धा लगाउन वन तथा वातावरण मन्त्रालयले मातहतको निकायलाई निर्देशन दिइसकेको छ । देवहरीया वनस्पति उद्यानले आफ्नो जग्गा संरक्षण गर्न लगाउँदै गरेको पक्की पर्खाल शुक्रबार बिहान मेयर हमालको निर्देशनमा नगरपालिकाको डोजरले भत्काएको छ ।

सरकार जमिन अतिक्रमण गर्दै बनाइएको घर टहरा र अतिक्रमण रोक्न लगाउन थालेको पर्खाल भत्काउदै नगरपालिकाको डोजर ।

सरकारी जग्गा अतिक्रमण हुने क्रम बढ्दै जाँदा उद्यानले पक्की पर्खाल लगाएर आफ्नो क्षेत्र कायम गर्न थालेपछि भविष्यमा सो जग्गा अतिक्रमण गर्न नसकिने निक्र्यौलका पुगेका यहाँका भूमाफियाँको कुराको पछाडी लागेर मेयर हमालले निर्माण हुँदै गरेको पर्खालमा डोजर कुदाएका हुन् ।

सो घटना बारे वनस्पति विभागका महानिर्देशक डा. राजेन्द्र केशीले मेयर हमालसँग कुरा गर्दा वनस्पति अध्ययन केन्द्र कैलालीका प्रमुख गंगादत्त भट्टले असहयोग गरेका कारण पर्खाल भत्काएको जवाफ मेयर हमालले दिएका छन् । कर्मचारीले असहयोग गरेको बहाना बनाएर सरकारी ढुकुटीबाट बजेट विनियोजन भई ठेक्का पट्टा मार्फत पर्खाल लगाइरहेका बेला डोजर कुदाउने मेयर हमालको कस्तो नैतिकता हो ? र हमालले कति सस्तो प्रचार चाहिरहेका हुन भन्ने बहस कैलालीमा चल्न थालेको छ ।

चालु आर्थिक वर्षको बजेटमा उद्यानको पर्खाल निर्माणका लागि ७० लाख रुपैयाँ विनियोजन भएको थियो । सोही कार्यक्रम अनुसार उद्यानले ठेक्कापट्टा लगाएर पर्खाल निर्माणको क्रममा रहेको बेला शुक्रबार मेयर हमालले मोवाईल स्वीच अफ गरी पर्खाल भत्काउन निर्देशन दिएका थिए । पर्खाल नभत्काउन्जेल मोवाइल स्वीच अफ गरेका हमाल शुक्रबार दिनभरी वन तथा वातावरण मन्त्रालय, वनस्पति विभाग, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा वनस्पति अनुसन्धान केन्द्र कैलालीले सम्पर्क गर्न खोज्दा पनि सम्पर्क आएका थिएनन् ।

देवहरिया वनस्पति उद्यान भित्र रहेको जाखौर ताल वरीपरीको जग्गाको महत्व बुझेका भूमाफियाँको फन्दामा परेका मेयर हमालले वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुखलाई सरुवा गरे कुरा मिल्न सक्ने बताएका छन् । हाल केन्द्रका प्रमुख भट्टले अतिक्रमण रोक्न धेरै प्रयास गरेकोले भूमाफियाँले उनको सरुवा गरेर आफ्नो अनुकुलको मानिस ल्याउन यस अघि पनि प्रयास गरेका थिए ।

२०५६।०२।०५ गते तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा कैलालीको देवहरिया १०० हेक्टर र गोदावरीमा १०० हेक्टर जग्गाको भोगाधिकार वन विभागलाई दिई वनस्पति उद्यान विकास गर्ने निर्णय भएको थियो । सोही निर्णय अनुसार वनस्पति विभाग अन्तर्गतको वनस्पति अनुसन्धान केन्द्र कैलालीले देवहरिया र गोदावरीमा वनस्पति उद्यानको व्यवस्थापन गर्दै आइरहेको छ ।

देवहरिया वनस्पति उद्यानभित्र जाखौर ताल रहेको छ । धनगढी नगरक्षेत्रका बासिन्दाका लागि सो ताल र वनस्पति उद्यान अहिले पर्यटकीय गन्तव्य स्थल बन्दै गएको छ । स्थानीय स्तरमा सो क्षेत्रको आकर्षण बढ्दै गएपछि भूमाफियाँहरुले उद्यानको जग्गा अतिक्रमण गर्दै आइरहेका छन् । सो क्षेत्रमा होटल, रेष्टुरेन्ट खोलेर उद्यान र ताल घुम्न आउने पर्यटकलाई सेवा प्रवाह गर्ने प्रश्ताव धनगढी उपमहानगरपालिका अघिल्ला मेयर नृप वडले पटक पटक वनस्पति विभाग र वन मन्त्रालयसँग राखेका थिए । सरकारी जग्गामा होटल, रेष्टुरेन्ट राख्न नमिल्ने भन्दै विभाग र मन्त्रालयले नृप वडको प्रश्तावलाई नकारेको थियो ।

यद्धपी हाल सो उद्यानबाट हुने कुल आम्दानीको ५० प्रतिशत धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारले लिँदै आएको छ । अघिल्लो मेयर नृप वडसँग मिलेर यहाँका भूमाफियाँले सो उद्यान र ताल वरीपरीको जग्गा कब्जा जमाउने प्रपञ्च गरेका थिए । सो काम नृप वडको पालामा फत्ते हुन नसकेपछि भूमाफियाँँहरुको सो जग्गा हड्प्ने अभियान अहिले पनि जारी रहेको छ । अहिलेका मेयर हमाल भूमाफियाँको इसारामा काम गरिरहेको संकेत मिल्न थालेको छ ।
सानोतिनो कुरामा चर्चामा आउन खोज्ने, प्रचारमूखी भएका हालका मेयर गोपाल हमालले पनि भूमाफियाँको कामलाई देवहरीया वनस्पति उद्यानको जग्गा अतिक्रमण मात्र होइन, अरु ठाउँमा पनि सहयोग गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here