काठमाडौं । चुरे क्षेत्र आसपासका नदी, खोलानाला तथा खानीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन् गर्न दबाव सिर्जना गरिन थालिएको छ ।
ढुंगा, गिट्टी र बालुवाको कारोवारमा संलग्न भएको व्यवसायीको भित्री लगानीमा राजधानीमा आयोजना गरिएको एक अन्तक्र्रिया कार्यक्रममा चुरे क्षेत्र र आसपासका नदी, खोला तथा खानीबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन् खुला गर्नुपर्ने धारणा मिनि संसद मानिने संसदीय समितिका सभापतिहरुले बताएका छन् । सो कार्यक्रममा नीतिगत तहमा दवाव सिर्जना गर्नका लागि संसदीय समितिका सभापतिहरुलाई बोलाइएको थियो ।
विशेष गरी मकवानपुरका क्रसर व्यवसायीको लगानीमा भएको सो कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले चाँडै चुरे क्षेत्रबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन् गर्नुपर्ने कामका लागि पहल लिनु पर्ने बताए । उनले भने, अब ढिलो भइसक्यो, चाँडै खोल्न तर्फ लाग्नु पर्छ ।

मनहरी आसपासका क्रसर उद्योगका व्यक्तिहरुको राखेको मागसँग सहमत हुँदै समितिका सभापति सिंहले क्रसर उद्योग सञ्चालनको अनुमति दिएपछि ती उद्योगलाई आवश्यक पर्ने ढुंगा, गिट्टी र बालुवा उत्खनन् को काम गर्न रोक्नु गम्भीर त्रुटी भएको समेत बताए ।
उनले नेपालका व्यवसायीलाई धनी बनाउनु पर्ने भन्दै चुरे आसपास भएर बग्ने नदी, खोलानालाबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन् गर्न नसके भारतीयहरु धनी हुने दावी गरे ।

उनले निकुञ्ज क्षेत्र भित्रको ढुंगा, गिट्टी र बालुवा पनि निकाल्न पाउनुपर्ने व्यवस्थाका लागि कानून परिवर्तन गर्न सकिने बताए । उनले भने, नदी र खोलाको ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न नदिने र क्रसर उद्योगहरु पनि बन्द गर्ने हो भने धेरै नेपालीहरु विदेश जानुपर्ने अवस्था आउन सक्छ । त्यसैले कानून परिवर्तन गरेर भएपनि यो काम खोल्नै पर्छ ।
कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले उद्योगी व्यवसायीहरुलाई काम गर्न दिनुपर्ने र त्यसका लागि ढुंगा, गिट्टी र बालुवाको कारोवार खुला गर्नुपर्ने बताए ।
उनले भने, अहिलेसम्म किन बन्द गरेको यो चिज ? यसलाई खुला गरेर व्यवसायीलाई काम गर्न दिनुपर्छ । अरु विकसित देशमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नेपालमा त नीजि क्षेत्रलाई काम गर्न दिइदैन, अनि कसरी देश विकास हुन्छ ?

उनले क्रसर उद्योग खोल्न एक दर्जन भन्दा बढी वटा मन्त्रालय धान्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताए । क्रसर उद्योगीसँग नजिकै सम्बन्ध रहेका खानले भने, चुरेको खानी खोलेर देशलाई धनी बनाउन सकिन्छ । अब त्यतातर्फ सोच्नुपर्छ ।
क्रसर उद्योगीहरुले ढुंगा, गिट्टी र बालुवा खोलाउनका लागि दवाव सिर्जना गर्न ठूलो लगानी गरिरहेका छन् ।
सोही कार्यक्रममा बोलाइएका अर्थ समिति सभापति सन्तोष चालिसेले पनि चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवाको सदुपयोग गर्नुपर्ने बताए ।
सभापति चालिसेले क्रसर तथा खानी क्षेत्रका काम गर्ने सबै व्यवसायी र सरकारी निकायहरुलाई समेट्ने गरी समग्र एउटा नीति बनाउनु पर्ने बताए । उनले अर्थतन्त्रमा ठूलो योगदान गर्ने क्रसर उद्योगमा परेको संकटको समाधान सरकारले तत्काल समाधान गर्न आवश्यक रहेको बताउँदै क्रसर उद्योगीलाई दुख दिने गरी कसैले पनि काम गर्न नहुने बताए ।
क्रसर उद्योगीको खुलेर वकालत गरेको सभापति चालिसे भने, क्रसर व्यवसायीहरुले सरकारलाई हरेक वर्ष २८ अर्ब रुपैयाँ भन्दा बढी राजस्व तिर्दै आएको भएपनि सरकारले कानुन बनाउन किन नसकेको ? यस्ता व्यवसायीलाई बचाउनु सरकारको दायित्व पनि हो नि ।
कार्यक्रममा मकवानपुर, सिराह, सप्तरी, चितवन, बुटवल आसपास क्षेत्रमा क्रसर सञ्चालन गरिरहेका व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।