काठमाडौँ । वन तथा वातावरण मन्त्री बीरेन्द्रप्रसाद महतोले विकास र संरक्षण एकसाथ अघि बढाउनु पर्ने बताएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बस्नेतसँगको छलफलमा मन्त्री महतोले विकाससँगसँगै संरक्षण पनि उत्तिकै महत्वपूर्ण कुरा भएकाले विकासलाई अलग र संरक्षणलाई अलग तरिकाले हेर्न नहुने बताएका छन् ।
उनले संरक्षण मात्र भनेर पनि मुलुकको विकास नहुने भएकाले संरक्षणमैत्री विकास आवश्यक रहेको बताए । ऊर्जा मन्त्री बस्नेतले ठूला जलविद्युत् आयोजनाको काममा वन मन्त्रालयबाट समयमा काम हुन नसक्दा प्रवद्र्धकहरुले काम गर्न नसकेको गुनाशो गरेका थिए ।
ऊर्जा मन्त्री बस्नेतले संरक्षण क्षेत्र भित्रका आयोजनाको काममा ढिलाई भएकाले ती आयोजनाका काम प्रक्रिया अनुसार चाँडो सम्पन्न गरिदिन वन मन्त्री महतोसँग आग्रह पनि गरेका छन् ।
मन्त्री महतोले विकास मुलुकको प्रमुख प्राथमिकताको विषय भएको बताउँदै लगानीकर्ताको लगानी सुरक्षित गर्न विद्यमान कानूनमा संशोधन तथा सुधार गर्न पनि सकिने बताए ।