काठमाडौँ । हुम्ला जिल्लामा यसबर्ष मह उत्पादनमा २५ प्रतिशतले बृद्धि भएको छ । चरन क्षेत्र राम्रो हुनु र बेमौसममा मौरीको रेखदेख राम्रो भएको कारण मह उत्पादनमा बृद्धि भएको हो ।
२७ वटा घारबाट एक क्वीन्टल ६२ केजी मह उत्पादन भएको सिमकोट गाउँपालिका ४ का पेमा लामाले बताउनुुभयो । गतबर्ष सोही घारमा मौरीको लागि चारो पनि उत्पादन गर्न कठिन भएको अबस्थामा अहिले मह राम्रो उत्पादन भएको उहाँले बताउनुुभयो ।
त्यसैगरी, १५ वटा घार भएका नाम्खा गाउँपालिका १ हेक्पा निवासी हिटु लामाले एक क्वीन्टल भन्दा बढी उत्पादन भएको बताउनुुभयो । महका चाका पनि पुष्ट भएको कारण उत्पादनमा बृद्धि भएको उहाँले बताउनुुभयो । गतबर्ष मह उत्पादन कम भएको कारण मौरीलाई जोगाउन कठिन भएको बताउँदै अगुवा किसान लामाले यो बर्ष मह बिक्रीवाट कमाई राम्रो भएको बताउनुुभयो । गतबर्षको तुलनामा तेब्बर मह उत्पादन भएको लामाले बताउनुुभयो ।
यसरी जिल्लामा यसबर्ष मह उत्पादनमा बृद्धि हुनुको मुख्य कारणमा चरन क्षेत्रको विकास र बेमौसममा मौरीको हेरचाह राम्रो भएको कृषि ज्ञान केन्द्रका प्रमुख रामसुरत पालले बताउनुुभयो । गाउँमा मह उत्पादन राम्रो भएको कारण सिमकोट बजारमा मह बढी आएको उहाँले बताउनुभयो । सबैतिर महको उत्पादन राम्रो भएकोले यसबर्ष पच्चीस प्रतिशतसम्म महको उत्पादनमा बृद्धि भएको प्रमुख पालले बताउनुुभयो । हुम्ला जिल्लामा १५ देखि २७ घार मौरी पाल्ने किसानको संख्या एक सयभन्दा बढी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । दुईदेखि चार वटा घार पाल्ने किसानको संख्या त्यो भन्दा बढी भएको केन्द्रले जनाएको छ ।