काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनलाई प्राकृतिक सुन्दरताको अलौकिक भूमि रारा राष्टिय निकुञ्जमा घुम्नका लागि निम्तो दिएका छन् ।
सिंहदरबार स्थित वन तथा वातावरण मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री ठकुरीले अमेरिकी राजदूत थम्सनलाई रारा क्षेत्र निकै सुन्दर भएकाले घुम्न आउनका लागि निम्तो दिएका हुन् ।
भेटघाटका क्रममा राजदूत थम्सनले प्राकृतिक हिसावले नेपाल निकै सुन्दर भएकाले बेला बेला आफु काठमाडौँबाट टाढा टाढा घुम्न जानेको गरेको बताएका थिए ।
राजदूत थम्सनले बर्खा सकिएलगत्तै सुदूरपश्चिमका पर्यटकीय क्षेत्र घुम्न जाने योजना बनाएको कुरा सुनाएका थिए । त्यही अवसर पारेर मन्त्री ठकुरीले रारा, शे फोक्सुण्डो, खप्तड जस्ता प्राकृतिक छटा भएका स्थानमा घुम्ने योजना बनाउन राजदूत थम्सनसँग आग्रह पनि गरे । राजदूत थम्सनले रारा घुम्ने आफ्नो चाहाना रहेको बताएका थिए ।