दुई नेपाली चलचित्र रिलिज

काठमाडौं : शुक्रबारबाट एकसाथ दुई नेपाली चलचित्र रिलिज हुने भएका छन्। संगीतकार शम्भुजित बास्कोटाको परिकल्पनामा तयार भएको प्रतीक्षित चलचित्र ‘चौका दाउ’ र निखिल उप्रेतीको अभिनय रहेको ‘भिलेन’ एकसाथ प्रदर्शनमा आउन लागेका हुन्।

फिल्म चौका दाउका मुख्य कलाकार सन्तोष पन्तले विगतका सिनेमामा १०/१५ सिनमा सीमित हुनु परे पनि चौका दाउमा सुरुदेखि अन्त्यसम्म आफ्नो रोल रहेको बताए। फिल्ममा वर्षाको प्रेमी भएर काम गर्दाको अनुभव सुनाउँदै उनले भने, ‘मेरी छोरीको उमेरकी वर्षा राउतको प्रेमी हुनुले पनि यो फिल्मको कथा कस्तो छ भन्ने दर्शकले बुझ्नुहुन्छ। फिल्मले दर्शकलाई दुई घण्टासम्म मज्जाले हँसाउँछ, किनकि यो पूर्ण मनोरञ्जन प्रधान सिनेमा हो।’ आफू लामो समयको अन्तरालपछि फिल्ममा फर्किएको जानकारी गराउँदै उनले किस्मत–२ पछि फेरि दुई वर्ष विश्राम गरेर चौका दाउमा काम गरेको बताए।

अभिनेत्री वर्षा राउतले चौका दाउ आफूले अभिनय गरेका विगतका सिनेमाभन्दा फरक रहेको बताइन्, ‘मैले मुख्य नायिकाको भूमिका निर्वाह गरेको यो दोस्रो महŒवपूर्ण चलचित्र हो।’ सिनेमामा आफू केटाहरूलाई फसाउने उर्वशीको भूमिकामा रहेको उनले बताइन्। निर्देशक पुर्णेन्दु झाले चौका दाउमा चार चौकाको रूपमा सन्तोष पन्त, रवीन्द्र झा, विल्सनविक्रम राई, तैयव शाह र पाँचौं चौकाका रूपमा अज श्र ढुंगाना रहेको बताए।

सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो चलचित्रलाई काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गर्दैछ। फिल्ममा वसन्त श्रेष्ठको नृत्य, दीर्घ गुरुङको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सुवास काफ्लेको निर्माण व्यवस्थापन छ। फिल्मका ‘राधा पियारी…’ र ‘मेरो माया कतारमा…’ गीत यसअघि नै चर्चित छन्।

एक्सन लभस्टोरी भनिएको चलचित्र भिलेनमा निखिल उप्रेती, शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्री लगायतका कलाकारको अभिनय छ। कपिल आफैं चलचित्रका प्रस्तुतकर्ता हुन्। निशा अधिकारीलाई निर्माण पक्षले प्रचार सामग्रीमा समेत समेटेको छैन भने निखिल उप्रेती प्रचारमा देखिएकै छैनन्। चलचित्रका निर्देशक देवेन्द्र पाण्डे हुन्। नायिका शिल्पाका अनुसार चलचित्रमा सबै कलाकारको उपस्थिति बलियो छ। यो नारीप्रधान वा पुरुषप्रधान चलचित्र होइन। आफूले चौधरी समुदायकी युवतीको भूमिका निर्वाह गरेको भन्दै शिल्पा आफ्नो भूमिकालाई लिएर समेत उत्साहित रहेको बताइन्।

चलचित्रमा मौनता श्रेष्ठको लेखन, सौरभ लामा र मदन कश्यप घिमिरेको छायांकन, मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन, वसन्त सापकोटा, बाबु गिरी र लालकुमार बरालको संगीत, शुक्रराज शाहको एक्सन र दीपेन्द्र तिमिल्सिना तथा दीपक श्रेष्ठको कोरियोग्राफी छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here