काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको वातावरण विज्ञमा डा. कृष्णप्रसाद ओली नियुक्त भएका छन् ।
सोमवार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार डा. ओलीलाई वातावरण क्षेत्रको सल्लाह, सुझाव दिने गरी वातावरण विज्ञको रुपमा नियुक्त गरेको जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका डा. ओली राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्षमा पनि नियुक्त भएका थिए ।
शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि डा. ओलीले राष्ट्रिय योजना आयोगबाट राजीनामा दिएका थिए भने कोषको अध्यक्षबाट उनलाई हटाएर डा. माधव कार्कीलाई कोषको अध्यक्षमा नियुक्त गरेको थियो ।
देउवा सरकारको सो निर्णय बिरुद्ध डा. ओली अदालत गएपछि अदालतले डा. ओलीलाई नहटाउन आदेश दिएको थियो ।