काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनको टोलीले वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग भेट गरी दुइपक्षीय सहयोग बढाउने विषयमा छलफल गरेको छ । राजदूतको टोलीमा अमेरिकी सहयोग नियोग लगायतका उच्च अधिकारीको सहभागिता रहेको थियो ।
भेटका क्रममा अमेरिकी राजदूतले नेपालले संरक्षणका क्षेत्रमा गरेको प्रतिवद्धता र लगानीको सह्राना गरे । उनले मन्त्री ठकुरीसँग आगामी दिनमा अमेरिकी जनता र सरकारको तर्फबाट ठूलो रासीका सहयोग हुन थालेको पनि जानकारी दिए ।
राजदूत थम्सनले विगतमा पनि अमेरिकी जनताले उठाएको रकमबाट अमेरिकी सहयोग नियोग मार्फत नेपालका बिभिन्न परियोजनामा सहयोग गरेको बताए । उनले हाल जल, जंगल परियोजना मार्फत काम भइरहेको पनि बताए ।
छलफलका क्रममा मन्त्री ठकुरीले अमेरिकी सरकारको सहयोगको निरन्तरताको अपेक्षा पनि व्यक्त गरे । मन्त्री ठकुरीले अमेरिकी सहयोगले नेपालको विकास र संरक्षणको क्षेत्रमा प्रगति हासिल भएको पनि बताए ।
ठकुरी निकै भाग्यमानी मन्त्री
भेटका क्रममा नेपालले सामुदायिक वनमा हासिल गरेको प्रगतिको राजदूत थम्सनले प्रशंसा पनि गरे । उनले भने, वनजंगल मात्र होइन, दुर्लभ वन्यजन्तु संरक्षणमा पनि नेपालको उत्तिकै योगदान रहेको छ । यो कुराले म र अमेरिकी जनता निकै खुसी भएका छौँ । प्राकृतिक सम्पदा, वनजंगल, वन्यजन्तु तथा जैविक विविधतामा काम गर्न पाउने गरी वन मन्त्रीको जिम्मेवारी पाएकोमा ठकुरी निकै भाग्यमानी व्यक्ति हो । तपाईले यसमा अझ योगदान दिन सक्ने अवसर प्राप्त भएको छ । तपाईको काममा अमेरिकी जनता सधैँ साथ र सहयोगमा छन् ।