डिएफओले बाघ, भालुसँग डराउनु पर्दैन : वन सचिव डा. खराल

काठमाडौँ । हरेक वर्ष झै यस वर्ष पनि वन्यजन्तु सप्ताह सुरु भएको छ । २०५२ सालबाट सुरु गरिएको यो सप्ताहको ३० औँ संस्करण यो वर्ष बिभिन्न कार्यक्रमका साथ नेपालमा मनाइँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको मुख्य आयोजनामा यो सप्ताह मनाइदै आइएको छ ।


सप्ताह मनाउने क्रममा विभागमा आयोजित मूल समारोहका कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले नेपालमा आफ्नो कार्यक्षेत्रमा सतप्रतिशत सफलता हासिल गरेको विभागको नाम लिनु पर्दा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नाम लिनु पर्ने बताए । उनले भने, निकुञ्ज विभागले आफूलाई दिएको जिम्मेवारी सतप्रतिशत पूरा गरेको छ र अहिले नेपाललाई विश्वमा पहिचान गराउने काम भएको छ । संरक्षणमा यो विभाग काविल सावित भएको छ ।


संसारमा लोप हुन थालेको वन्यजन्तुको संरक्षणमा नेपालले प्राप्त गरेको सफलताको श्रेय यही विभागले पाउने उनले बताए । डा. खरालले भने, नेपालको आर्थिक विकासका लागि पहिचान भएका आधारहरु कृषि, जलस्रोत र पर्यटन हुन । पर्यटन क्षेत्रको प्रमुख आधार भनेको वन, वन्यजन्तु नै भएकाले नेपालको पर्यटन विकासका लागि यो विभागको महत्वपूर्ण भूमिका रहेको छ ।

हामीले संरक्षण गर्ने मात्र हो भनेर समाधानका कार्यक्रम दिन सकेनौ भने त्यो जिद्धी मात्र हुने छ । वन्यजन्तुले पीडा दियो भनेर जताततै हामीमाथि आरोप लागिरहेको छ । यो धब्बा हामीले मेटाउन जरुरी छ ।


डा. खरालले भने, वन्यजन्तुको संख्या वृद्धि गर्नमा विभागले निकै सफलता प्राप्त गरेपनि यिनको व्यवस्थापनमा ध्यान दिन नसकेको हो कि भन्ने आभास भइरहेको छ । अब विभागले आफ्ना कार्यक्रमहरु व्यवस्थापनमा केन्द्रित गर्नुपर्छ । तब मात्र मावन वन्यजन्तुको द्वन्द्व न्यूनिकरण हुन सक्छ ।


सचिव डा. खरालले भने, संरक्षणमा हाम्रा बुझाईमा अझै पनि एकरुपता आउन नसक्नु दुर्भाग्य हो । बाघ, हात्ती, गैँडा निकुञ्ज विभागका मात्र हुन भन्ने भाष्य पनि सुन्न पाइन्छ । बाघ, भालु निकुञ्जका वार्डेनका मात्र होइनन्, डिएफओको पनि हुन । वन्यजन्तुको संरक्षणमा डिएफओको पनि उत्तिकै भूमिका छ । बाघ, भालुसँग डिएफओले डराउनु पर्दैन । वन्यजन्तु संरक्षणमा डिएफओको कुनै समस्या छन् भने मन्त्रालय समन्वय र सहजीकरण गर्न तयार छ । वन डिएफओको मात्र, वन्यजन्तु वार्डेनको मात्र भन्ने भनाईले जनता पीडित हुने अवस्था आउन सक्छ । डिएफओ र वार्डेनबिचको द्वन्द्व संरक्षणका लागि घातक छन् । यसमा हामी सबै सजग र गम्भीर हुनुपर्छ ।


वन सचिव डा. खरालले भने, निकुञ्ज विभागभित्र अझै पनि पराम्परागत संरक्षणको शैली अपनाउनुपर्छ भन्ने अवधारणाले काम गरिरहेको छ । समय परिस्थिति अनुसार हामी सबै बदलिनुपर्छ । मध्यवर्तीको विषयमा हामी लचिलो हुन सकेनौँ भने भोलीका दिनमा समग्र संरक्षणमा प्रश्न उठ्न सक्छ । त्यसैले मध्यवर्तीका विषयमा थप खुकुलो हुने गरी नियमावली निर्माणको क्रममा रहेको छ । यसमा विभागले छिटो काम गर्न निर्देशन पनि दिन चाहान्छु ।

वन्यजन्तु सप्ताहलाई आज डिएफओले मेरो पनि कार्यक्रम हो भनेर किन भनिरहेको छैन । यो सप्ताहमा उसको भूमिकाको खोजी गरिनुपर्छ ।


डा. खरालले संरक्षणको विषयमा आम धारणा परिवर्तन गर्नुपर्ने बताए । उनले भने, प्राकृतिक स्रोतको संरक्षण गर्ने जिम्मा वन मन्त्रालयको मात्र हो भन्ने भनाई सिंहदरबारभित्रका अरु मन्त्रालय र निकायबाट पनि सुनिने गरेको छ । संरक्षणको संयोजनकारी भूमिका वन मन्त्रालयले पाएको भएपनि संरक्षणको जिम्मा सबै निकायको हो भन्ने कुरा बुझाउन नसकेको कुरा आज हामीले स्वीकार गर्नुपर्छ । आगामी दिनमा अरु मन्त्रालय र निकायलाई यो कुरा बुझाउनुपर्छ । संरक्षण सँगसँगै विकास पनि उत्तिकै आवश्यक छ ।


डा. खरालले भने, संरक्षण सप्ताहको सन्दर्भमा आज बाघ, हात्ती, हिउँचितुवाको मात्र कार्यपत्र यहाँ प्रस्तुत भए, तर गाउँगाउँ वस्ती वस्तीमा बाँदर, बँदेल, निलगाई, दुम्सीको समस्या देखिएको छ । यी वन्यजन्तुको कारणले समाजमा खाद्य समस्या सिर्जना हुने स्थिति आइसकेको छ । यो समस्या प्रति हामी गम्भीर हुने कि नहुने ? उनले भने, हामीले संरक्षण गर्ने मात्र हो भनेर समाधानका कार्यक्रम दिन सकेनौ भने त्यो जिद्धी मात्र हुने छ । वन्यजन्तुले पीडा दियो भनेर जताततै हामीमाथि आरोप लागिरहेको छ । यो धब्बा हामीले मेटाउन जरुरी छ ।


कार्यक्रममा निकुञ्ज विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले संरक्षणमा देखिएको सफलताले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चसम्म चिनाएको बताए । उनले भने, संसारमा दुर्लभ मानिएका वन्यजन्तुको बासस्थान व्यवस्थापनमा नेपालले गरेको सफल प्रयासले वन्यजन्तुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । अब मानव वन्यजन्तुबीचको द्वन्द्वलाई न्यूनीकरण गर्दै स्थानीय समुदायलाई आर्थिक गतिविधिमा जोड्ने खालका कार्यक्रममा हामी केन्द्रित हुनुुपर्छ ।


सो अवसरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले निकुञ्जबाट राजस्व वृद्धि गर्ने काम गर्नुपर्ने बताए । उनले भने, निकुञ्जभित्र धेरै चिज छन्, त्यहाँ धेरै कुरा गर्न सकिन्छ । हामीले ती सबै कुरा गर्न सक्नुपर्छ । यस अघि मन्त्री ठकुरीले बबरमहलस्थित वन परिसरमा रहेको होडिङ बोर्ड अनावरण गरे ।

मध्यवर्तीको विषयमा हामी लचिलो हुन सकेनौँ भने भोलीका दिनमा समग्र संरक्षणमा प्रश्न उठ्न सक्छ ।


नेपाल वन प्राविधिक संघका अध्यक्ष राकेश कर्णले वन्यजन्तु सप्ताहको कार्यक्रमले डिएफओलाई किन छुन सकेको छैन भनेर प्रश्न गरे । उनले भने, वन्यजन्तु सप्ताहलाई आज डिएफओले मेरो पनि कार्यक्रम हो भनेर किन भनिरहेको छैन । यो सप्ताहमा उसको भूमिकाको खोजी गरिनुपर्छ । यसमा नीतिगत रुपमा सुधार हुनुपर्छ भने त्यतातर्फ पनि ध्यान दिनु जरुरी छ ।


कार्यक्रममा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा भइरहेका पहल बारे विभागका उपमहानिर्देशक बेदकुमार ढकाल, नेपालमा बाघको संरक्षण र द्वन्द्व व्यवस्थापनका विषयमा विभागका बरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्य, हात्ती र मानव वन्यजन्तुबीचको सम्बन्धका विषयमा हात्ती विज्ञ डा. दिनेश न्यौपाने, हिउँचितुवाको अवस्था र द्वन्द्व न्यूनीकरणका विषयमा रिञ्जिन लामाले कार्यपत्र प्रस्तुत गरेका थिए ।


कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. चिरिञ्जिबी पोखरेल, वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक अजित कर्ण लगायतले संरक्षणका सफलताले प्राप्त उपलब्धीलाई मास्न नदिन मानव वन्यजन्तु द्वन्द्वलाई कम गर्ने काममा लाग्नुपर्नेमा जोड दिए । विभाग र मातहतका निकायमा सबै सरोकारवाला निकाय र समुदायसँग मिलेर बिभिन्न कार्यक्रमका साथ वन्यजन्तु सप्ताह मनाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here