फेरी किन लखेटिए वन मन्त्रालयबाट डा.खराल

काठमाडौँ । खासै व्यक्तिगत स्वार्थ नभएका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेतृत्व गरेको मन्त्रालयमा सचिवको जिम्मेवारीमा बस्न पाउनु डा. दिपककुमार खरालको जागिर जीवनमा सबैभन्दा सहज अवस्था हो । शक्ति बस्नेत, प्रेम आले, बीरेन्द्र महतो, प्रदीप यादव जस्ता व्यक्तिले नेतृत्व गर्दा सधैँजसो मन्त्री र सचिवका बिच बिचौलिया, दलाल, एजेन्टले बोकका फायलका कुराले कटुता सिर्जना हुने परिस्थितिबाट गुज्रिएको वन मन्त्रालय वर्तमान मन्त्री ठकुरी आएपछि मन्त्री र सचिवबीच ठूला कटुताका घटना हुने परिस्थिति सिर्जना नहुनु नै सचिव डा. दिपक खरालका लागि राम्रो अवसरका रुपमा लिन सकिन्छ ।

मन्त्री ठकुरी ठूलो स्वार्थी समुहसँग सम्बन्ध नभएका व्यक्ति भएका कारणले पनि मन्त्री ठकुरी र सचिव डा. दिपक खरालबीच खासै मनमुटावका घटना बाहिर आएनन् । यद्धपी मन्त्री ठकुरीकै कार्यकालमा डा. खराल लामो समय मन्त्रालयमा टिक्न सकेनन् । दुई पटक वन मन्त्रालयबाट बर्हिगमन भएका खरालको तेस्रो पटक आउने सम्भावना त उत्तिकै छ । यद्दपी यो हिउँदे अधिवेशनमा निजामती ऐन नआउँदा उमेर हदका कारण डा. खरालले आगामी चैत १५ गते अनिवार्य अवकाश पाउने निश्चित भएको छ ।

यही वैशाख ५ गते शुक्रबार वन मन्त्रालयमा सचिव डा. खरालको बिदाईको क्षण ।


वन सचिवमा पहिलो इन्ट्री
कृषि तथा वन समुहबाट बरिष्ठ सहसचिव भएका कारण खासै मिहिनेत नगरेरै सचिव बढुवा हुने भाग्यमानी मान्छे डा. दिपक खराल हुन् । सचिवमा पदोन्नती भइसकेपछि वन मन्त्रालयमा पदस्थापन होस् भन्ने चाहना त डा. खराललाई थियो तर लामो समय उनी पशुपंक्षी मन्त्रालयमा थन्किन बाध्य भए । वन मन्त्रालयका एक जना पूर्व सचिव, केवलकार मालिक चन्द्र ढकाल र तत्कालिन मूख्य सचिवको योजना अनुरुप डा. खराललाई वन मन्त्रालयमा आउन रोकियो । समय परिस्थिति सधैँ एकै हुदैन । डा. खरालले जति बेला पशुपंक्षीबाट वन मन्त्रालयमा आउन निकै मरिहत्ते गरेका थिए, त्यति बेला उनले गरेका सबै प्रयास निरर्थक भए तर कालान्तरमा डा. दिपक खराल बिना मिहिनेत पशुपंक्षीबाट वन मन्त्रालयका सरुवा भए ।


प्रधानमन्त्री पुष्पकमल दाहाल थिए, बीरेन्द्र महतो वन मन्त्री थिए, वन सचिवमा थिए चितवन घर भएका रेवतीरमण पौडेल । जब सम्म रेवतीरमण कामु सचिव थिए, उनले बालुवाटार र मन्त्रीले भनेका काम सरासर गरे । जब उनी कन्फर्म सचिवमा बढुवा भए अनि उनले फायलको छनोट गर्न थाले । तत्कालिन अवस्थामा रेवतीरमणले अघिल्ला सचिव डा. पेमनारायण कँडेलका पालामा फत्ते हुन नसकेका खानी सम्बन्धी, क्रसर उद्योग तथा जलविद्युत आयोजना लगायतका दर्जनौँ फायल अगाडि बढाइसकेका थिए । मनोज केडियाको बिगो रकम घटाउन नियमावली पनि संशोधन भइसकेका थियो । नीतिगत रुपमा राज्यलाई अर्बाँैँ रुपियाँ नोक्सानी हुने काम फत्ते भइसकेको भएपनि तत्कालिन वन मन्त्री बीरेन्द्र महतोको वन सचिव रेवतीरमणप्रति चित्त बुझाइ हुन सकेको थिएन । प्रधानमन्त्रीको बेडसम्म जाने हैसियत भएका केही बिचौलियाका फायल अगाडी बढाउन उनले नमानेपछि रेवती पौडेललाई वन मन्त्रालयबाट हटाइए । तत्कालिन प्रधानमन्त्री प्रचण्ड भएको बेला रेवती पौडेललाई वनबाट पशुपंक्षीमा र पशुपंक्षीबाट डा. खराललाई वन मन्त्रालयमा लगियो । त्यति बेलाको सरुवाको बडो मिठो घटना छ ।


घटना विवरण यस्तो छ: चितवन राष्ट्रिय निकुञ्जभित्रको माडी जाने बाटोको समस्या समाधानका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालिन वन सचिव रेवणीरमण पौडेल, भौतिक योजना मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक सहितको टोली चितवन खटाएका थिए । शुक्रबार दिनभरी मन्त्रालयको काम सकेर साँझको हवाई उडानबाट चितवन झर्ने सल्लाह भए अनुसार सचिव रेवतीरमण र सडक विभागका महानिर्देशकको यात्रा चितवन तय भयो । शुक्रबारको बास चितवन बसेका सचिव पौडेलले शनिबार दिनभरी भरतपुरका मेयर रेनु दाहालसँग माडीको बाटोको अवलोकन गरे, समाधानका उपायको खोजीमा निकुञ्जका कर्मचारी लगायतका सरोकारवालासँग दिनभर बिताए । सचिव रेवतीरमण सहितको टिमसँग बसेर फिल्डबाटै मेयर रेनुले आफ्ना पिता प्रधानमन्त्री प्रचण्डसँग बाटोको समस्या सुधारका योजना पनि सुनाइन् । त्यतिबेला सम्म अवस्था सामान्य नै थियो ।


भोलीपल्ट आइतबार चितवन घरमा राखेको झोला बोकेर रेवती पौडेल एअरपोर्टतिर हानिदै गर्दा मूख्य सचिव कार्यालयबाट एउटा म्यासेज मोबाइलमा बज्यो । तपाईको सरुवा भएको छ, चिठ्ठी बुझन आउनु होला । सचिव रेवती पौडेललाई कस्तो अनुभव भयो होला ? नेपालकथाले त्यतिबेला सोध्दा उनले भनेका थिए, ‘‘बिहीबारको क्याविनेटबाट सरुवा भएको भए, मलाई शुक्रबार चितवन नपठाउनु पर्ने हो । काममा रहेका बेला कसरी सरुवा भयो भनेर अचम्म भए । अरुलाई जानुपर्ने म्यासेज कतै मलाई पो आयो कि भनेर प्रधानमन्त्री कार्यालयका ती कर्मचारीलाई तत्काल फोन गरे । उनले पनि सरुवा भएकै हो भने । फेरी विश्वास लागेन, अर्का सहसचिवलाई कल गरे, उहाँले पनि हो भने । सम्माननीय प्रधानमन्त्री ज्यूले पठाएर अस्ति शुक्रबार हिडेको मान्छे, बाटोबाटैबाट सरुवा भएको सुन्दा मन अमिलो भयो, शुक्रबार, शनिबारको उत्साह एकैछिन मरेर गयो ।’’


प्रधानमन्त्री प्रचण्ड भएकै बेला रेवती पौडेल कामुबाट कन्फर्म सचिव भएका थिए । चितवन निबासी भएकाले पनि उनलाई कन्फर्म हुन सहज भएको होला । त्यतिबेला डा. दिपक खराललाई पशुपंक्षीमा रोकेर रेवतीलाई वन सचिव बनाउनेमा हाइड्रोपावर भन्दा पनि दुई जना केबलबार बिचौलियाको ठूलो भूमिका थियो । पछि उनलाई सरुवा गर्नमा तिनै दुई जना बिचौलियाको योगदान देखियो । आइतबार सरुवाको चिठ्ठी हात पारेका रेवती पौडेलको निर्णयको मिति बिहीबारको क्याविनेटबाट भएको उल्लेख गरिएको थियो । जबकी बिहीबारको क्याविनेट बैठकपछि शुक्रबार तिनै प्रधानमन्त्री प्रचण्डले उनलाई चितवन पठाएका थिए । अकस्मात ‘ब्याक डेट’को निर्णय राखेर रेवतीरमणको वनबाट सरुवा भएका कारण पहिलो पटक डा. दिपक खराल पशुपंक्षीबाट वन सचिवका रुपमा सहज ढंगले पदस्थापन हुन पाएका थिए । रेवती पौडेललाई वन मन्त्रालयबाट धकेल्नु पर्ने घटनाले डा. खरालको वन प्रवेश भएको हो । डा. खरालको बलबुतोले पहिलो इन्ट्री भएको होइन ।


ऐतिहासिक कमजोरी
पशुपंक्षी मन्त्रालयमा रहँदा खरालको सचिव पद खासै उपलब्धीमुलक हुन सकेन । वन मन्त्रालयमा आएपछि त झन बिबादित भयो । वन मन्त्री बीरन्द्र महतो भएका बेला सांसदका रुप धारणा गरेका एक जना बिचौलियाले शिवपुरी राष्ट्रिय निकुञ्जसँग सम्बन्धित रहेको होटलको फायलका विषयमा मन्त्रालयमा तमासा देखाउँदा हातोहात ‘तु का तु’ फायलको काम गरेर वन प्रशासनका धज्जी उडाउने काम सचिव डा. खरालले गरे । सचिव स्तरको पदमा बसेर जुन अडान लिनु पर्ने हो त्यो लिन सकेनन् । बरु आफ्ना कर्मचारीको दोष देखाउँदै पाँच मिनेटमा फायल अगाडी बढाए । वर्षाैँदेखि रोकेर राखेको फायल एक बिचौलियाले धम्की दिँदासाथ हातोहात पाँच मिनेटमा पास हुने रहेछ भन्ने दृष्टान्त सचिव डा. खरालले वन मन्त्रालयको इतिहासमा दर्ज गरे । वन मन्त्रालयको इतिहासमा यो घटना निकै डर लाग्दो र वन कर्मचारी, प्रशासनको मनोबल गिराउने घटनाको रुपमा लिइन्छ । तर पनि डा. खराल धेरै समय वन मन्त्रालयमा टिक्न सकेनन् । डा. खरालको अकस्मात वन मन्त्रालयबाट फेरी सरुवा कृषि मन्त्रालयमा भयो । कृषिका डा. गोविन्द शर्माको अहम्ता र दम्भले तत्कालिन कृषि मन्त्री ज्वाला कुमारी साहसँग मेल नखाएपछि कृषिबाट गोविन्द शर्माको लखेटाइबाट डा. खराल फेरी कृषि मन्त्रालयमा हाजिर हुन पुगे । त्यति बेला डा. खरालले वन छाड्न चाहेका होइनन् तर गोबिन्द शर्माको कारण वन छाड्नु पर्ने परिस्थिति सिर्जना भयो । डा. खरालले दोस्रो पटक कृषि मन्त्रालयमा सचिव हुने अवसर पाएर ।


सोझो मन्त्री र घमण्डी सचिव
वन मन्त्रीमा कांग्रेसका ऐनबहादुर शाही ठकुरी आए । सचिवमा डा. गोबिन्द शर्मा थिए । ठकुरी मन्त्री भएको हप्तादिन नबित्दै सचिव डा. शर्मा १४ दिनको विदेश भ्रमणमा निस्के । काम सकिएर पनि सचिव डा. शर्मा तीन दिन थप विदेश नै बसे, मन्त्रालयमा हाजिर हुँदा त २० दिन गइसकेको थियो । आफूसँगै मन्त्री भएका अरु मन्त्रीले ब्रिफिङ लिइसकेका थिए तर सचिव नहुँदा वन मन्त्री ठकुरीले ब्रिफिङ समेत लिन पाएका थिएनन् । विदेशबाट फर्किसकेपछि पनि सचिव गोबिन्द शर्माले मन्त्री ठकुरीको विभाग र मन्त्रालयको ब्रिफिङको समय समेत मिलाएनन् । दुई महिनासम्म पनि मन्त्री ठकुरीले आफु मातहतका निकायको ब्रिफिङ लिन सकेनन् । ब्रिफिङको समयमा मन्त्री ठकुरीसँग सचिव शर्मा खासै उपस्थित पनि भएनन् । उनले सहसचिवलाई पठाउन्थे । सचिव डा. शर्माले मन्त्री ठकुरीको सचिवालयलाई खासै टेरेनन् । मन्त्रीले नियुक्ति गरेका सल्लाहकारले बोलाउँदा पनि गएनन् । केवलकार र हाइड्रोका बिचौलियाले वन मन्त्रालय घेरेकै थिए । डा. शर्मा न मन्त्रीलाई टेर्ने, न मन्त्रीले भनेको काम गर्ने भएपछि दरार बढ्दै गयो । मन्त्रीका पिएहरुले फायल बोकेर लिदा फायल पिएहरुले बोक्ने होइन, सिष्टमबाट कर्मचारीले लिएर आउँछन् भनेर डा. शर्माले मन्त्री ठकुरीका पिएहरुलाई समेत हप्काका घटना बाहिर आए । बिचौलियाको फेरी चलखेल सुरु भयो, गोबिन्द शर्मा वनमा धेरै दिन टिक्न सकेनन् ।


बिहीबारको क्याविनेटबाट सरुवा गरेको भएपनि उनले शुक्रबार रातीसम्म काम गरे, शनिबार आएर काम गरे, आइतबार दिनभरी काम गरेर साँझ रमाना लिए । बिदाई हुनु अघिसम्म पनि वन मन्त्रालयका विदेश भ्रमणका मनोनयन र सरुवाको फायल ब्याक डेटमा हस्ताक्षर गरेर हिडे । डा. शर्माको शुक्रबार, शनिबार र आइतबारको कामले वन मन्त्रालयभित्रका केही कांग्रेसी कर्मचारीले सरुवाबाट लाभ लिए, विदेश भ्रमणका मनोनयन भयो, केही आयोजनाका फायल अघि बढे । तर एमाले भनेर चिनिएका कर्मचारी पीडित भए । डा. रामचन्द्र कँडेललाई निकुञ्ज विभागको महानिर्देशक र डा. सिन्धु ढुंगानाको निकुञ्ज विभागबाट भएको सरुवा पनि व्याक डेटमा यही बेला गरिएको हो । डा. शर्माले ब्याक डेटमा सिन्धु ढुंगानाको सरुवाको मसी चोप्दै गर्दा सिन्धु ढुंगाना मन्त्री ठकुरीलाई लिएर बर्दिया भ्रमणमा थिए । सरुवाको फाइल सदर भएर घर्रामा बसीसकेको थियो, ढुंगाना मन्त्रीसँगै काठमाडौँ फर्किए, भोलीपल्ट मन्त्रीसँग जनकपुरको कार्यक्रम गए । त्यति हुँदा समेत सिन्धु ढुंगानालाई तपाईको सरुवा भइसक्यो है भन्ने जानकारी दिइएन । जब उनी जनकपुरको कार्यक्रम सकेर काठमाडौँ फर्किए अनि ढुंगानाले आफ्नो सरुवा डा. शर्माले ब्याक डेटमा गरेका रहेछन् भनेर थाहा पाए ।


दोस्रो पटकको इन्ट्री

राष्ट्रिय राजनीतिमा कमजोर हैसियत भएका वन मन्त्री ठकुरीका आफ्ना स्वार्थका काम खासै नभएपनि पार्टी नेतृत्व र सरकारको नेतृत्वबाट लाए, अह्राएको काम गर्ने दौरानमा ठकुरीसँग यो अवधिमा डा. गोबिन्द शर्माको खासै मन, मुटु मिल्न सकेन । करिब तीन महिनाको बसाईमा गोबिन्द शर्माले ४२ दिन त बिदेश बिताए, सचिव विदेश भ्रमणमा हुँदा खास खास काम रोकिए । बालुवाटार र बुढानिलकण्ठबाट तोकिएका काम नहुने भएपछि डा. गोबिन्दको पनि वन मन्त्रालयका काम छैन भन्ने निष्कर्षमा पुगेको बालुवाटारले विषयविज्ञलाई मन्त्रालयको जिम्मा दिने तर्क अगाडि सार्दै डा. गोविन्द शर्माको वन मन्त्रालयबाट फेरी कृषि मन्त्रालयमा सरुवा भयो र कृषिका बसिरहेका डा. दिपक खराल दोस्रो पटक वन मन्त्रालयको सचिव पदमा बस्ने भाग्यमानी सचिव भए ।


पशुपंक्षीमा पहिलो कार्यकाल खासै सुखद बनाउन नसकेका खरालले कृषिमा बस्दा सर्वोच्च अदालतले मागेको फायल नदिएको घटनामा १० हजार दण्ड जरिवाना समेत तिरे । अदालतले मागेको फायल लुकाएको घटनामा अदालतबाट दण्ड जरिवाना पाउने सचिव तहको व्यक्ति नेपालको निजामति इतिहासमा डा. खराल सायद पहिलो व्यक्ति हुन् । यो घटनाले भावी दिनमा उनको थप नियुक्ति र अवसरमा ठूलो धक्का दिने देखिन्छ ।


वनको राजा खराल
कृषिबाट वन मन्त्रालयका दोस्रो पटक सचिव पदमा पदस्थापन भएका डा. खराल पहिलो कार्यकाल भन्दा निकै फरक ढंगले प्रस्तुत हुन थाले । सहसचिव हुँदाको डा. खराल, पहिलो पटक वन सचिव हुँदाको डा. खराल र दोस्रो पटक वन मन्त्रालयमा इन्ट्री भइसकेपछिको डा. खराल निकै फरक थिए । ‘वन मन्त्रालयमा आफ्नो विकल्प नभएको’ मनोगत कुरामा ढलीमली हुन उनले सुरु गरे । अब मलाई वन मन्त्रालयबाट कसैले पनि हटाउन सक्दैनन भन्ने मानसिकता बोकेका डा. खरालले वन विज्ञान क्याम्पसमा आफूसँगै पढेलेखेका साथीभाईलाई समेत बिना कारण पेल्न थाले । वन मन्त्रालयमा बस्दा महाशाखा प्रमुख, विभागीय प्रमुखका बिचमा फुट ल्याउने तर्फ उनका कामकारवाही सतहमा आए । यति सम्मकी सरुवा र वैदेशिक भ्रमणमा नीतिगत, प्रक्रियागत भन्दा पनि डा. खरालको मनले जे चाहयो, त्यहि हुने स्थिति भयो । सोझा मन्त्री र मन्त्रीलाई नटेर्ने राज्यमन्त्रीको कटुताको फाइदा डा. खरालले भरमग्दुर लिन सफल भए ।


यो अवधिमा निकुञ्ज विभागका महानिर्देशक डा. सिन्धु ढुंगानासँग गरिएको मित्रवत व्यवहार वन विभागका महानिर्देशक शिव वाग्लेसँग उनले गर्न चाहेनन् । बरु विभागका महानिर्देशक वाग्लेसँग उपमहानिर्देशक दिपक ज्ञवाली र धनञ्जय लामिछाने फुट कसरी ल्याउन सकिन्छ भन्नेमा उनले काम गरे । डा. सिन्धु हुन्जेल निकुञ्ज विभागका सबै फायल ठिक हुने र सदर हुने तर विभागमा डा. रामचन्द्र कँडेल आएपछि तिनै प्रकृतिका फायल रोकिने, फर्काउन काम समेत सचिव डा. खरालले गरे । डा.सिन्धुलाई जलवायु परिवर्तन महाशाखामा पदस्थापन गर्नै पर्ने वातावरण बाध्यता सिर्जना गरे । सो महाशाखामा काम गरिरहेका डा. बुद्धिसागर पौडेललाई कोपको मुखमा आएर अपमानजनक हिसाबले हटाए ।


नीतिगत निर्णयमा आफ्ना स्वार्थ मिल्ने काममा तत्काल निर्णय लिने सचिव डा. खरालले वन मन्त्रालयको दोस्रो कार्यकालभरी केवल दुई जना सहसचिवलाई हात लिएर काम गरे । वन मन्त्रालयका सहसचिवको अनुहार हेर्दा सञ्जिव राई, बिशाल घिमिरे, उद्धव घिमिरे, मेघनाथ काफले, बद्री ढुंगाना बाहेकका अरु एक दर्जन सहसचिव एकै पानी ढलो भएका व्यक्ति छन् । सबै सहसचिवले डा. खरालसँग उत्तिकै सम्बन्ध गाँस्न चाहान्थे तर खरालले दुई जना सहसचिवलाई काखामा राखेर अरुलाई ठाउँ ठाउँ, बित्ता बित्तामा पेल्नसम्म पेले ।


डा. सिन्धुको अनिवार्य अवकाशपछि जलवायु परिवर्तन व्यवस्थापन महाशाखामा सचिव खरालले डा. राजेन्द्र केशी, केशी नभए फेरी डा. बुद्धिसागर पौडेललाई लिनुपर्ने सल्लाह मन्त्री ठकुरीलाई दिएका थिए । डा. महेश्वर ढकालले सो महाशाखामा जान गरेको लामो प्रयासले मन्त्री ठकुरी पदवहाल भएकै दिनबाट दवावमा परिरहेका थिए । अन्ततोगत्वा जलवायु महाशाखामा डा. ढकाललाई पदस्थापन गर्ने प्रशासन महाशाखाले टिप्पणी उठायो, सचिव खरालले मानेनन्, प्रशासन महाशाखाले उठाएको फायल रोके । मन्त्री ठकुरीले फायल अगाडी बढाउन पटक पटक आग्रह गर्दा पनि रोकेरै राखे, जब मुख्य सचिवमा एकनारायण अर्यालको पदोन्नती भयो र डा. खरालको मोवाइलमा एक घण्टी बज्यो, अनि बल्ल फायल घर्राबाट निकाले र डा. ढकालको जलवायु महाशाखामा पदस्थापन भयो ।


व्यक्ति केन्द्रित व्यवहार
निकुञ्ज विभागका महानिर्देशक डा. कँडेल विदेश भ्रमणमा रहेका बेला विभागमा निमित्त भएका उपमहानिर्देशक बेदकुमार ढकाललाई तत्कालै एउटा फायल अगाडि बढाउन सचिव डा. खरालले निर्देशन दिएका थिए । निकुञ्ज क्षेत्रभित्रको जलविद्युत् आयोजनाको फायल भएकाले बेदकुमार ढकालले आफूले अगाडि बढाउन नसक्ने र डिजी आएपछि लेखापढी हुने जनाउ दिए । यो घटनाबाट रुष्ट भएका सचिव डा. खरालले १५ दिनपछि विभागबाट मनोनित गरेर स्वीकृतिको लागि मन्त्रालय पठाएको बेदकुमार ढकालको विदेश भ्रमणको फायलको सूचीबाट नाम काटेर मन्त्रालयका प्रशासन महाशाखा प्रमुख भूपाल बरालको नाम राखे । आदेश नमानेको बदला बेदकुमार ढकालसँग लिइ छाडे । प्राविधिक सहसचिव जानु पर्ने कार्यक्रममा प्रशासन समुहका सहसचिव बराललाई मनोनित गरेका डा. दिपक खरालले सचिवको कुर्शीमा बसेर फेरी सुशासनको गित गाउन भने छाडेनन् ।


कोपको मुखमा जलवायु परिवर्तन महाशाखामा डा. सिन्धुलाई ल्याउन डा. बुद्धिसागरलाई हटाउन सहमत भएका खरालले सोही महाशाखामा उपसचिव पदमा डा.प्रकाशसिह थापालाई राख्न आनाकानी गरे । त्यहाँ रहेका उपसचिव राजु सापकोटालाई काखी च्यापेर राख्ने सोचमा रहेका डा. खराललाई मन्त्रीले ठकुरीले दर्जनौ पटक भन्नुपर्ने अवस्था आयो र अन्तमा राजु सापकोटालाई यूएनको सुविधामा कोपमा लिनुपर्ने शर्त राखेर राजु सापकोटालाई पत्र बुझाइयो डा. प्रकाशसिंह थापालाई महाशाखामा लगियो । राजु सापकोटा जस्तै डा. खरालका क्लासमेट अरु भएपनि अरुलाई उनले त्यो व्यवहार गर्न सकेननन् । जलवायु कोपको बेला मन्त्री र राज्य मन्त्रीलाई ढाँटेर मनोमानी ढंगले मनोनयन गरेका डा. खरालले ‘आफु कहिल्यै यो पदबाट रिटायर्ड पनि नहुने र सरुवा पनि नहुने’ भन्ने दम्भका साथ काम गरेका थिए । सचिव खरालको सो प्रवृतिका कारण अख्तियारले पत्र काट्यो, प्रधानमन्त्री केपी शर्मा ओलीले वन मन्त्रालयको कर्मचारी कोपमा लाइन लागेर अनुहार देखाउन गएका भन्ने सम्मको टिप्पणी सार्वजनिक भयो । दातृ निकाय र विकास साझेदार संस्थालाई चिठ्ठी लेखेर नियन्त्रण गरे । आफ्नो कन्सर्न बिना कसैलाई पनि सहयोग नगर्न उर्दी जारी गरे । धेरै गैरसरकारी संस्थाका मानिसहरु त्यसका लागि उनलाई भेट्न पुगे, कोपका लागि विकास गरिएको हिजोको प्रणालीलाई भत्काए, आफूले व्यक्तिगत फाइदा लिए, वन मन्त्रालयमा यति सम्मका प्रशासक पनि हुँदा रहेछन् भन्ने राम्रै उदाहरण पेश गरे ।


डा. शर्मासँगको झकडा
डा. खरालले र सिडिबी कोपको फण्डा निकै रोचक छ । सिबिडी कोपको मनोनयन हुने बेला वन सचिवमा डा. गोबिन्द शर्मा थिए, वातावरण महाशाखामा प्रमुखमा थिए, मेघनाथ काफले । सिबिडी कोपमा सहभागी हुन सचिव गोबिन्द शर्मा, फोकल पर्सनको हिसावले मेघनाथ काफ्ले र महाशाखाका उपसचिव राजेन्द्र ढुंगाना जाने कुरा करिव करिव टुङ्गीएको थियो । अकस्मात डा. गोबिन्द शर्माको सरुवा कृषि मन्त्रालयमा भयो । वनमा आए, डा.दिपक खराल । डा. खरालले सिबिडी कोपमा जाने कुराको मेलोमेसो मिलाउन सिबिडी फोकल पर्सन मेघनाथ काफ्लेलाई निर्देशन दिए । तर यस अघि नै सचिव डा. गोबिन्द शर्माको मनोनयन भएर टिकट समेत आइसकेको थियो, कोप आयोजना गर्ने मुलुक कोलम्बियाको कालीमा होटल समेत बुक भइसकेको थियो । गोबिन्द शर्माले टिकट मात्र होइन, विदेश भ्रमण जाँदा पाउने रकम समेत खातामा हालिसकेका थिए ।


व्यक्तिगत रुपमा आफू अगाडि नपरेर काफ्लेबाट समस्या समाधान होस् भन्ने चाहना डा. खरालको थियो । काफ्लेले आफ्नो तर्फबाट प्रयास त गरे तर डा. गोबिन्द शर्मा टसमस भएनन् । आफ्नो मनोनयन भइसकेकोले सिबिडी कोपमा आफू नै जाने अडानमा बसे । डा.गोबिन्द शर्मा र डा. खरालबीचको यो विषयले ठूलो रुप लियो । कुरा मुख्य सचिवको कोठामा समेत पुग्यो । त्यति मात्र सिमित भएन, परराष्ट्र मन्त्री आरजु देउवासम्म पुग्यो । मुख्य सचिवसम्म कुरा पुग्दा त खराल बलियो नै देखिएका थिए । मुख्य सचिवले जुन व्यक्ति हाल वन मन्त्रालयको सचिवमा बहाल छ, त्यही व्यक्ति कोपमा जानुपर्ने कुरा भनेका थिए । तर यो कुरा जब आरजु देउवाको टेवलमा प्रवेश भयो, त्यहाँ पुगेपछि डा. शर्मा बलिया देखिए । सिबिडी कोपमा भाग लिनका लागि परराष्ट्र मन्त्रालयले नेपालका तर्फबाट प्रतिनिधिमा डा.गोबिन्द शर्माको नाउँमा चिठ्ठी बनायो । नेपालको तर्फबाट नेतृत्व गरेर कृषि सचिव डा. शर्मा विदेश उडे, वन सचिव डा.दिपक खराल रोकिए ।


सिबिडी कोपमा डा. शर्माको सहभागिताको कुरा गैरकानूनी भएको भन्दै बिभिन्न सञ्चारमाध्यामका सम्पर्कमा डा. खराल पुगे । सञ्चारकर्मीले पनि कुरा खोतल्दै जाँदा परराष्ट्र मन्त्रालयले समेत कृषि सचिव डा. शर्मालाई नेपालको प्रतिनिधिको रुपमा पठाएको कुरा बुझेपछि डा. खरालको कुरा लेख्न मानेनन् । तर एउटा राष्ट्रिय दैनिकले पहिलो पृष्ठमा कानूनविपरित कृषि सचिव डा. शर्मा वैदेशिक भ्रमणमा भनेर डा. खरालको मनमिल्दो समाचार छाप्यो । सोही दैनिकले समाचार लेखेको गुन तिर्न डा. खरालले बाँकु कोपमा सोही राष्ट्रिय दैनिकका सम्पादकलाई सम्मेलन सकिनु दुई दिन अघि बाँकुसम्मको हवाई टिकट मिलाइ दिए, मनोनय गरे, होटलको खर्च ब्यहोेरे । जुन पृष्ठमा डा. गोबिन्दको कानूनविपरित वैदेशिक भ्रमण भन्ने समाचार छापेका थिए, सोही पृष्ठमा बाँकुबाटै डा. दिपक खरालको गुनगान गाएको समाचार प्रकाशित भयो । खरालले सोही समाचार प्रधानमन्त्री कार्यालय, अख्तियार लगायतका निकायसम्म बोकेर हिडे । आफूले बाँकु कोपमा गरेको उत्कृष्ट कामलाई पत्रिकाले छापेको भन्दै देखाए ।


सिबिडी कोपको घटना यतिमै सिमित रहेन, सो घटनामा आफूलाई सहयोग नगरेको भन्दै वातावरण महाशाखाबाट मेघनाथ काफ्लेलाई सचिव डा. खरालले चुरे उत्थानशिल आयोजनामा सरुवा गरे । काफ्लेको काममा मन्त्री ठकुरी सन्तुष्ट नै थिए, सकभर सरुवा नगर्दा पनि हुने मानसिकता मन्त्री ठकुरीको थियो तर सचिव डा. खरालले मानेनन्, काफ्लेसँग उनलाई सिबिडी कोप, अरु फायलका विषयमा मन्त्रीको लाइनको टिप्पणी उठाएको बदला लिनु थियो । सचिव खरालले काफ्लेसँग बदला लिइ छाडे ।


वातावरण महाशाखामा धिरेन्द्र प्रधानलाई नराख्न सचिव खरालले मन्त्रीलाई भन्दै आएका थिए तर प्रधानको भिटोलाई थेग्न सकेनन् । प्रधानले वातावरण महाशाखामा काम सुरु गरेको हप्तादिन नबित्दै उनको आलोचना सचिव डा.खरालबाट सुरु हुन थाल्यो । धिरेन्द्र प्रधानले वातावरण महाशाखामा पिकअप लिन नसकेको, सहज हुने फायल पनि अघि बढाउन नसकेको, सेवाग्राही आएर सचिवलाई घेर्ने गरेको, महाशाखाको काम पनि सचिवले जवाफ दिनुपर्ने भएकोले सचिवको काममा अवरोध सिर्जना भएको गुनाशो लिएर मन्त्री ठकुरी कहाँ पुगेका सचिव डा. खराललाई मन्त्री ठकुरीले प्रधानका बारेमा दुई, चारदिनमै त्यस्तो भनि नहाल्ने आग्रह गरेका थिए ।


राज्यमन्त्रीसँग बोलचाल बन्द
सचिव खरालको मन्त्री ठकुरीसँग व्यवहार ठिकठिकै भएपनि राज्यमन्त्री रुपा विकसँग भने यो अवधिमा बोलचाल नै बन्द भयो । औपचारिक कार्यक्रममा बाहेक अरु बेला सचिव राज्यमन्त्रीको कोठामा जाने र राज्यमन्त्रीले सचिवलाई बोलाउन सम्मको पनि वातावरण थिएन । मन्त्रालयका नीति निर्माणका विषयमा सचिव डा. खरालले राज्यमन्त्रीलाई खास वास्ता गरेको पनि देखिएन । मन्त्रालयका बैठकहरुमा मन्त्रीले राज्यमन्त्रीको खोजनीति गरेपनि सचिवले खासै चासो देखाउने गरेका थिएनन् । कतिपय बैठकमा डा. खरालले मन्त्री र आफ्नो कुर्शि मात्र राखेको पनि देखियो, राज्यमन्त्री आएपछि थप कुर्शि मिलाएको दृश्य पनि देखिए ।


जब जलवायु कोपका लागि मन्त्रालयमा मनोनयन गर्ने सुरसार चल्यो, अनि राज्यमन्त्री र सचिवबीच द्वन्द्वले उग्र रुप लियो । बाँकु कोपमा आफू सहित आफ्नो सचिवालयका कर्मचारी पनि जानु पर्ने अडान राज्यमन्त्री विकले राखेकी थिइन्, सचिव डा.खरालले राज्यमन्त्री जाने मिल्ने भएपनि सचिवालयका कर्मचारीको मनोनयन हुन नसक्ने कुराको अडान कसे । मन्त्री र राज्यमन्त्री दुबैका सचिवालयमा रहेका सरकारी कर्मचारीको मनोनय गर्न सकिने, राजनीतिक नियुक्ति लिएका व्यक्तिको मनोनयन गरेर उतैबाट भागे, लुके, हराए भने कसले जिम्मा लिने भन्ने प्रश्न सचिव खरालले उठाएपछि मन्त्री ठकुरीका प्रमुख स्वकीय सचिव लेकविक्रम शाहले कोपमा सहभागिता जनाएनन् ।


कोपको पहिलो शत्रमा मन्त्री ठकुरी जाने र दोस्रो शत्रमा राज्य मन्त्री विक जाने योजना बन्यो । राज्यमन्त्री विकका सचिवालयमा काम गर्ने सन्तोष विकलाई लग्नु पर्ने विषयमा मन्त्री ठकुरीले दवाव दिएपछि मनोनयन पनि भयो । कोपमा वन मन्त्रालयबाट मात्र सात जना सहसचिव सहभागी भएका थिए । तर राज्यमन्त्री विकसँग एक जना पनि सहयोगीका रुपमा कर्मचारीको व्यवस्थापन हुन सकेन । राज्यमन्त्रीले यो कुरामा चित्त दुखाइन् । वन मन्त्रालयका कोपमा सात जना सहसचिव, एक दर्जन भन्दा बढी उपसचिव, त्यतिकै संख्यामा शाखा अधिकृत र अन्य कर्मचारी सहभागी भएको कोपमा सहभागी हुने क्रममा एक जना कर्मचारीलाई राज्यमन्त्रीसँग पठाउने व्यवस्थापन गर्न नसक्नु वन सचिव डा. खरालको ठूलो कमजोरी भएको मन्त्रालयभित्रै गाइगुई चल्यो ।


अन्ततोगत्वा राज्यमन्त्री विकले आफू अपमानित भएको महसुस गरी बिरामी भएको बहाना बनाएर कोपमा सहभागी भइनन् । उनले यो घटनालाई लिएर पार्टी सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजुसँग पनि दुखसो पोखिन् । पार्टी बैठकमा वन सचिव दिपक खरालको रबैयाको बिरोध गर्दै आफू राज्यमन्त्री भएपनि वन मन्त्रालयको सचिव आफू माथि भएको बताइन् । उनले एउटा सार्वजनिक कार्यक्रममा आफू भन्दा माथि दुई जना ( सचिव र मन्त्री ) रहेको व्यङ्गय समेत गरिन् । राज्यमन्त्री विकले समेत सचिव खराललाई हटाउनुपर्ने विषयमा परराष्ट मन्त्रीसमक्ष बेला बेला भन्दै आएकी थिइन् ।


कृषि सचिवमा हुँदा फायल लुकाएको आरोपमा अदालतबाट १० जरिवानाको आदेशलाई हटाउन डा. खरालले कानून सचिवको सहारा त लिए तर सफलता प्राप्त गर्न सकेनन् । सो काण्डमा सहजीकरण गर्न मुक्तिनाथ केवलकारका मालिक सुवेदीजी पनि अग्रसर भएका थिए । डा. खरालको अदालती काण्डमा सहजीकरण गर्न अघि सरेका मालिक सुवेदी केबलकारको काम नहुने भएपछि डा. खरालसँग रुष्ट भए । केवलकारको अध्ययन गर्न क्याविनेटले अनुमति दिएको भएपनि सो कामको सूचना प्रकाशन गर्न डा. खरालले मानेनन् । उनै सुवेदी अहिले खरालको सरुवा गर्नुपर्छ भनेर दरोसँग लागे ।


हेलिकोष्टर सञ्चालकसँगको द्वन्द्व
सगरमाथा राष्ट्रिय निकुञ्जमा निर्वाद रुपमा हेलिकोप्टर चलिरहेका थिए । हेलिकोप्टर कम्पनीले सो बापतको केही नजराना सगरमाथा राष्ट्रिय निकुञ्जलाई बुझाउँदै आएका पनि थिए । माओबादीको सोर्सफोर्स लगाएर निकुञ्ज विभागबाट सगरमाथा राष्ट्रिय निकुञ्जमा सुष्मा राना प्रमुख संरक्षण अधिकृत भएर गइन्, रेगुगर आउने हिस्सा भन्दा बढी भाग खोज्न थालिन् । हेलिकोप्टर कम्पनीले उनको मागमा सहमत नभएपछि त्यसका बदलामा सुष्मा रानाले विभाग र मन्त्रालयसँग कुनै सरसल्लाह नगरिकन हेलिकोप्टर चलाउन बन्द गर्ने सूचना सार्वजनिक गरिन् । हेलिकोप्टर कम्पनीका मालिक बालुवाटार पुगे, वन मन्त्री, राज्यमन्त्रीले यो विषयमा आफूलाई थाहा नभएको बताए, मन्त्रालयका सचिवको हैसियतले डा. खरालले सुष्मा रानाले गरेको निर्णय कानून सम्मत भएको जिकिर गरे । त्यो समुहले पनि सचिवलाई त्यहा राख्न नहुने लबिङ्ग गर्न थाले । आफै सरुवा हुन सक्ने परिस्थिति सिर्जना भएपछि सुष्मा रानालाई बोलाएर खरालले तत्काल हेलिकोप्टर चल्न दिने निर्णय गर्न बाध्य भए । सुष्मा रानाले सार्वजनिक गरेको सूचना दुई दिनमा फुस्सा भयो ।


भाग्यमानी खराल
क्याम्पस पढ्दा ओशो भक्त थिए डा. खराल । लामो दाह्री र कपाल पनि पाल्ने शौख थियो उनको । पारिबारिक जीवन भन्दा एकान्त मन पराउने उनको बानी थियो । जागिर खाएपछि फिल्डको अनुभव नलिइकनै सचिव हुने अवसर प्राप्त गरे । वन सेवामा प्रवेश गरेर वन सचिवसम्म हुने थोरै व्यक्तिहरु मध्य भाग्यमानी डा. खराल पनि हुन् । डा. अन्नपूर्णनन्द दास र डा. कृष्णप्रसाद आचार्य सचिव भएर पनि वन मन्त्रालय छिर्न पाएनन् । डा. केशव कँडेल पनि सचिव नहुँदै हराए । डा. उदयराज शर्मा, डा. केशी पौडेल, प्रकाश माथेमा, डा. विश्वनाथ ओली, डा. पेमनारायण कँडेल पछि वन सचिव हुने मौका पाएका डा. खराल व्यक्तिगत रुपमा त्यति खराब होइनन् भन्ने पनि कमी त छैन तर व्यक्तिगत इगो राखेर व्यवहार गर्ने, अरुको कुरा सुनेकै भरमा कर्मचारीलाई काखापाखा लगाउने प्रवृति डा. खरालमा निकै बढी भएको यो पटक स्पष्ट र प्रष्टै देखियो । यति कमजोरी नभएको भए डा. खरालको वन मन्त्रालयको दोस्रो इनिङ्ग राम्रै हुन्थ्यो होला तर झुर सावित भयो ।

यो अवधिमा सानाठूला गरी झण्डै १४२ वटा जग्गा तथा वातावरण सम्बन्धी फायल आफैले कुराकानी मिलाएर सदर गरे । पछिल्लो पटकको उनी सचिव भएपछि १६० वटा जति फायल सदर भएका छन् । कुरो मिल्यो, फायल अघि बढ्यो । कुरो मिलेन, फायल थन्कियो । यही तरिकाले दोस्रो पटक पनि खराल मन्त्रालयबाट लखेटिएका हुन्, धकेलिएका हुन्, उनको राजीखुसीले सरुवा भएको होइन । मन्त्री ठकुरीले त बाँकु कोपबाट फर्केको भोलीपल्टैबाट सचिव खरालको सरुवा गर्न खोजेका थिए, आउने मान्छेसँग कुरो मिलेको थिएन, जब मिल्यो अनि धकेलिए ।

विदेश भ्रमणको विषयलाई लिएर चिसिनु भन्दा बढी निकै ठण्डिएको डा. गोबिन्द शर्मासँगको सम्बन्धले कृषि मन्त्रालयमा शर्माभन्दा जुनियर सचिव भएर बस्नुपर्दा कति सुखद र दुखद हुने हो, त्यो भने हेर्न बाँकी नै छ । २०२४ साल चैत १५ गते जन्म मिति भएका डा. खरालसँग अझै आगामी चैत सम्मको यात्रा यो भन्दा झुर नहोस्, राम्रोसँग बितोस् भन्ने कामना ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here