बारा । डिभिजन वन कार्यालय बाराका प्रमुख सहित ३ जनालाई १ लाख १५ हजार रुपियाँ घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंङ्गेहात पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले डिभिजन वन कार्यालय बाराका प्रमुख शिवशंकर ठाकुर, सहायक वन अधिकृत गौरीशंङ्कर केशरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारीलाई घुस वापतको रकम सहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।
कवाडी मालसामानको ठेक्कापट्टा स्वीकृतगर्ने सहमतिमा सेवाग्राहीसँग घुस रकम माग गरेको सूचना आयोगमा आएपछि त्यहाँबाट पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तीनै जनालाई घुस वापतको रकम लिइ सकेको अवस्थामा पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीप कोइरालाले बताउनुभयो ।
कार्यालय प्रमुख ठाकुर तथा सहायक वन अधिकृत केशरी २५ हजार र कार्यालय सहयोगी अधिकारी ९० हजार घुस लिइसकेको अवस्थामा उनीहरुलाई पक्राउगरि आवश्यक कारवाहीको लागि आजै आयोगको काठमाडौ कार्यालयमा पठाइएको आयोग हेटौडाका सूचना अधिकारी तथा उपसचिव देबकुमार राईले जानकारी दिनुभयो ।