काठमाडौँ । सात वटा कस्तुरीमृगको पासो थापेर चोरी शिकार भएपछि सगरमाथा राष्ट्रिय निकुञ्जमा तथा मध्यवर्ती क्षेत्रभित्र होटल सञ्चालन गर्ने व्यक्ति तथा जिल्ला बाहिर घर भएका कामदार व्यक्तिको लगत राख्न थालिएको छ ।
निकुञ्ज प्रशासन र स्थानीय समुदायबीच भएको बैठकले हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ अनुसार त्यस्ता व्यक्तिको लगत राख्ने, तिनका क्रियाकलापहरुलाई निगरानीमा राखी आवश्यक सूचना निकुञ्ज प्रशासनलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।
त्यसैगरी समुदायमा आधारित चोरी शिकार नियन्त्रण इकाई गठन गर्ने समेत निर्णय भएको स्थानीय बासिन्दा दाबा निरु शेर्पाले बताए । त्यसैगरी होटल सञ्चालन गर्दा वा अन्य काम गर्दा शंका लागेको व्यक्तिको आचरण र व्यवहार बारे निगरानी राखी तत्काल निकुञ्ज तथा प्रहरीलाई खबर गर्ने कुरामा स्थानीय बासिन्दा तथा व्यवसायी सहमत भएका छन् ।


चोरी शिकार हुन सक्ने र वन्यजन्तुको आवतजावत बढी हुने क्षेत्रको पहिचान गरी त्यस्ता क्षेत्रमा स्वचालित क्यामरा जडान गर्नका लागि आउँदो आर्थिक वर्षका कार्यक्रममा बजेटको व्यवस्थापन गर्नका लागि पहल गरिने निर्णय भएको कुरा निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए ।