अन्तिम चरणमा पुग्यो, माथिल्लो तामाकोशीको प्रसारण लाईन

दोलखा । माथिल्लो तामाकोसीको जलविद्युत आयोजनाको २२० केभीको प्रसारणलाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

स्वदेशी लगानीमा निर्माण हुँदै गरेको ४५६ मेगावाट क्षमताको यो आयोजनाको ‘लट ४’ अन्तर्गतको ४७ किलोमिटर प्रसारण लाईन निर्माणको काम करिव ८५ प्रतिशत सम्पन्न भएको छ ।

आयोजनाको पावर हाउस गोंगरदेखि रामेछापको देवीटारसम्म ४७ किलोमिटर प्रसारण लाइनका लागि १२७ वटा टावर बनाउनुपर्नेमा १२० वटा टावर खडा गरिसकिएका छन् । त्यसैगरी ३३ किलोमिटर तार तानिसकिएको छ ।

आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार बाँकी काम युद्धस्तरमा भइरहेको छ ।
‘लट ४’ अन्तर्गतको प्रसारणलाइन तथा सव स्टेशन निर्माण गर्नका लागि भारतीय निर्माण कम्पनी केइसी (KEC) इन्टरनेशनलले सन २०१३ जनवरीमा ठेक्का पाएर काम गरिरहेको छ । कुल २ अर्ब १२ करोड २५ लाख ४५ हजार ४०२ रुपैयाँको लागतमा २२०/१३२ केभीको सवस्टेशन समेत निर्माण गर्ने गरि काम अगाडि बढाइएको भए पनि सवस्टेशनको काम भने जग्गाको विषययले गर्दा अलि ढिला गरी सम्पन्न हुने भएको छ ।

प्रवक्ता डा. गणेश न्यौपाने

गत वर्षको चैतमा रामेछापको मन्थली नगरपालिका वडा नम्बर १३ देविटारमा जग्गा लिएर सुरु गरिएको सवस्टेशनको भौतिक संरचना निर्माणको काम पनि धमाधम भइरहेको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

सुरक्षाको दृष्टिकोणले राम्रो मानिएको र ठाउँ समेत थोरै ओगट्ने जिआइएस (गाँस इन्सुलेटेड सबस्टेसन ( Gas Insulated Substation) भवन निर्माणको काम पनि अन्तिम चरमा पुगेको उहाँले बताउनुभयो ।

ढुवानीमा चुनौती मानिएका २२० केभीको जिआईएसका लागि आवश्यक सबै सामाग्री निर्माण स्थलसम्म आइसकेका छन् । त्यसैगरी सवस्टेशनको सबै लाइनलाई व्यवस्थापन गर्ने कन्ट्रोल रुम भवनको काम पनि तीब्र गतिमा भईरहेको प्रवक्ता डा. न्यौपानेले बताउनुभयो ।

दोलखाको तामाकोसी गाउँपालिकामा निर्माण गरिएको २२० केभीको प्रसारण लाइनको टावर ।

ढुवानीमा कठिन मानिएको ४ वटा ट्रासफर्मर पनि ल्याएर ३ वटा फायर पर्खाल खडा गरि जडान गरिसकिएको छ । सवस्टेशनस्थित ग्यान्ट्री टावरको (Gantry Tower) फाउन्डेसनको काम सकिएको बताउँदै उहाँले बाँकी रहेको इरेक्सन र कमिस्निङ ( Commissioning) को काम पनि छिट्टै सक्ने दावी पनि उहाँले गर्नुभयो ।

निर्माणाधीन सवस्टेशनले गाेंगरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने सोही लाइनलाई जिआईएसबाट २२०/१३२ को ट्रन्सफर्मर भई १३२ केभी प्रसारण लाईनबाट पनि राष्ट्रिय प्रसारणमा जोड्नेछ ।

न्यू खिम्ती नाम दिएको यो सवस्टेसनमा गज्र्याङ हाइड्रोपावर, खिम्ती २ हाइड्रोपावर, लिखु १ हाइड्रोपावर, लिखु २ हाइड्रोपावर, लिखु ३ हाइड्रोपावर र लिखु ४ हाइड्रोपावरबाट उत्पादन हुने विद्युत्लाई समेत जडान गरि राष्ट्रिय विद्युत प्रणालीमा आबद्ध गराईने आयोजना प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

‘सवस्टेशन निर्माणमा चुनौतीपूर्ण मानिएका कामहरु सकिएर अघि बढिसकेकोले आउदो कात्तिकसम्म सबै काम सम्पन्न भएर तयारी अवस्थामा रहन्छ ।’ उहाँले भन्नुभयो ।

२०७३ साल असारबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको तामाकोसी आयोजनाले भूकम्पपछि संशोधन गरी २०७५ असारबाट उत्पादन शुरु गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर लट २ अन्तर्गतको हाइड्रोमेकानिकल कामको जिम्मा पाएको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल एण्ड इञ्जिनियरिङले काम गर्न नसकेपछि नौ महीना थप भयो । उक्त समयमा पनि पूरा नहुने भएपछि अहिले २०७६ कात्तिकसम्म परीक्षण उत्पादन गर्ने संशोधित कार्यतालिका बनाइएको छ ।

भूकम्प र नाकाबन्दी, अमेरिकी डलरको मूल्यवृद्धि, बजार मूल्य र समय लम्बिँदा हुने प्रशासनिक खर्चलगायतका कारण ३५ अर्ब २९ करोड ४१ लाख अनुमानित लागतसमेत बढेर ब्याजसहित दोब्बर हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here