हात्तीले घाइते बनाएकी महिलाको एक महिनापछि उपचार

सप्तरी । हात्तीको आक्रमणबाट घाइते महिलाको एक महिनापछि उपचार र स्याहार शुरु भएको हो । करिब एक महिना अघि कोशी टप्पुबाट बाहिर निस्केको हात्तीले ती महिलालाई आक्रमण गरेको थियो । आफन्त विहिन ती महिलाको उपचार हुन नसक्दा सडकमै बस्ने स्थिति भएपछि सञ्चारमाध्याममा समाचार प्रकाशित भएको थियो ।

समाचार प्रकाशित भएर चौतर्फी दवाव सिर्जना भएपछि बिरामीको भाँचिएको हात जोड्न लगाउनुपर्ने स्टिलको खर्च वापत नगद रु १० हजार डिभिजन वन कार्यालय सप्तरीले उपलब्ध गराएपछि राजविराजस्थित अस्पतालमा उनको भाँचिएको दाहिने हातमा शल्यक्रिया गरी स्टिल लगाइएको अस्पतालले जनाएको छ ।

हात्तीको आक्रमणमा परी घाइते महिला सप्तरीको अग्नीसाइर कृष्ण सवरन गाउँपालिका–१ मा बेवारिसे अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उद्धार गरी गत फागुन ९ गते राजविराजस्थित अस्पताल भर्ना गराइएकी महिलाको रेखदेख गर्ने आफन्त कोही फेला नपरेपछि उपचार र स्याहार नपाएर उनी जीवनमरणको सङ्घर्षमा तडपिएकी थिइन् ।

अस्पतालका अनुसार डा. ज्ञानेन्द्रकुमार झा नेतृत्वको टोलीले भाँचिएको हातको सफल शल्यक्रिया गरी हातमा स्टिल लगाएको छ । अस्पतालले हात, कम्मर, मेरुदण्डलगायतको एक्सरेसमेत निःशुल्क गरिदिएको छ । डा झाका अनुसार महिलाको कम्मरमुनि (पेल्भिक) को हड्डी भाँचिएको छ, उहाँको मानसिक स्थितिसमेत सामान्य छैन ।

उचित स्याहारका लागि सर्जिकल वार्डमा सारिएकी महिलाको सरसफाइ र उपचारमा समेत अस्पतालले चासो देखाएको छ । अस्पतालका कर्मचारी र नर्सहरूले सरसफाइमा ध्यान दिँदै उनलाई नुहाइदिने, नङ र कपाल काटिदिने, सफा कपडा फेरिदिने गर्न थालेका छन् ।

स्याहार र पोषणयुक्त खानाको कमीले कमजोर बनेकी बेवारिस महिलालाई अस्पतालले अण्डा, दूध, फलफूलसमेत दिन थालेको अहेव धनेश्वर साहले बताउनुभयो । त्यसअघि अन्य बिरामीका कुरुवाले दिने गरेको बिस्कुट पाए खाने नपाए भोकै सुत्ने गरेकी महिला अहिले उठेर बस्नेसम्मकी भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here