लमही । सामाजिक विकास गर्ने शर्तमा स्थापना गर्न दिइएको दाङको सोनापुर सिमेन्ट उद्योगले सामाजिक विकास त होइन, स्थापाना कालदेखि नै स्थानीय बासिन्दालाई धुँवा, धुलो, सवारी साधनले सडक दुर्घटना त दिइरहेको थियो । पछिल्लो चरणमा उद्योगका कारणले खानेपानीमा लेदो समेत आउन थालेको छ ।
उद्योगले खानेपानी मुल नजिकै खानी उत्खन्न गर्न थालेपछि मूलमा सफा पानी आउन छाडेको छ । बाह्रैमास धमिलो पानी आउन्छ । पानी थिग्राएर खानुपर्ने स्थिति आएको स्थानीय बासिन्दाले गुनाशो गरेका छन् ।
बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष प्रदीप गौतमका अनुसार सिमेन्ट उद्योग आयो भनेर त्यति बेला जुन खुसी ल्याएको थियो । अहिले त ठिक विपरित भयो । स्थानीयलाई न रोजगारी न वातवरणीय स्वच्छता । हुँदा हुँदा अहिले त खानेपानीको मूल माथि उत्खनन गर्न थालेपछि बाह्रैमास धमिलो पानी खान बाध्य भएका छौँ ।
तुलसीपुरको सोनापुर सिमेन्ट उद्योगले पानीको मुहान माथिबाट चुनढुङ्गा उत्खनन गर्ने र त्यहीमाथिको सडक प्रयोग गरेर चुनढुङ्गा ल्याउन तथा लैजान नियमित टिप्परहरू आवत जावत गर्ने भएकाले यस्तो समस्या देखिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
यस विषयमा पटक–पटक सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नगरेको समेत उहाँले गुनासो गर्नुभयो ।
अध्यक्ष गौतमले भन्नुभयो “केही समयअघि लेदोसहितको पानी बोकेरै सिडिओ कार्यालय पनि पुग्यौँ”, उहाँले भन्नुभयो, “तर कुनै पनि निकायबाट सुनुवाइ भएन । पानीको मूल नै खचपचिएपछि धमिलो पानी बग्न थाल्यो । मूलको धमिलो पानी सिँधै धाराबाट भान्सासम्म पुग्न थालेको छ । पैसाको बलमा यो देशमा जे गरेपनि हुँदो रहेछ । हामी सर्वसाधारण जनताको पक्षमा न प्रहरी न प्रशासन न त नेता नै देखिए ।”
चुन ढुङ्गा उत्खनन स्थलसम्म सडक ट्र्याक खोल्दा भित्रि जमिन हलचल हुँदा ढुङ्गा, माटोजन्य पदार्थले मूलको भित्रि भाग भरिन थालेको भन्दै सिमेन्ट उद्योग जिम्मेवार हुनु पर्ने तर उद्योगले पैसाको आडमा स्थानीय बासिन्दाको मागलाई अटेर गरेर बसेको समेत उहाँले आरोप लगाउनुभयो ।
तुलसीपुरको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा अहिले तुलसीपुरका वडा नं १६, १७, १८ र १९ का करीब १७ हजारभन्दा बढी नागरिकलाई पानी खुवाइँदै आएको छ । संस्थाका अध्यक्ष गौतमका अनुसार तीन हजारभन्दा बढी घरमध्ये निजी, सार्वजनिक, संस्थागत गरी एक हजार दुई सयभन्दा बढी धाराबाट पानी वितरण गरिएको छ ।
यही तरिकाले काम गर्ने हो भने अहिले पानी आपूर्ति भइरहेको तीनवटा मुहान सुक्ने अवस्था नआउला भन्न सकिन्न । मुहानबाटै पानी सुक्यो भने यति ठुलो बस्ती कसरी बाँच्ने भन्ने अहम् प्रश्न उब्जिएको उहाँले बताउनुभयो ।

वडा नं १९ बाँसगढीमा पानी शुद्धीकरणका लागि फिल्टर च्याम्बर ट्याङ्की निर्माण गरिएको भए पनि जमिन हलचल भएकाले पछिल्लो समयमा यस्तो समस्या देखिएको समितिका सचिव विनयकुमार पोखरेलले बताउनुभयो । “माथिबाट माटो बगेर लेदो आउँछ, त्यही लेदोले फिल्टर जाम हुन्छ”, उहाँले भन्नुभयो,
वातावरण मूल्याङ्कनअनुसार काम गर्न आग्रह
तुलसीपुर नगर प्रमुख घनश्याम पाण्डेले वातावरणीय प्रभाव मूल्याङ्कन अनुसार चुनढुङ्गा उत्खनन गर्न सिमेन्ट उद्योगलाई निर्देशन दिनुभएको छ । “इआइए र आइइएअनुसार मात्रै उत्खनन गर्नुस्,” उहाँले भन्नुभयो, “साथै जनताको स्वास्थ्य र वातावरणलाई पनि ध्यान दिनुस् ।” उहाँले अनुगमन गर्ने निकायले पनि स्वतन्त्रपूर्वक गर्नुपर्ने तथा सामुदायको आवश्यकताका आधारमा उद्योग चल्नुपर्ने बताउनुभयो ।
उत्खनन गर्दा ढुङ्गा खस्ने अवस्था रहने भन्दै उहाँले चारैतिर ग्याबिन तार राख्न निर्देशन दिनुभयो । साथै उहाँले बेलझुण्डी खानेपानीका लागि डिपिआर तयार पारेर उपमहानगरपालिका, सडक, खानेपानी, उद्योससँग छलफल गरेर वर्तमान समस्या समाधान गरिने बताउनुभयो ।
विवादरहित बनाउने उद्योगको भनाइ
सोनापुर सिमेन्ट उद्योगका महाप्रबन्धक हरि पाठकले उद्योग विवादरहित तरिकाले सञ्चालन गर्न चाहेको बताउनुभयो । अहिले मापदण्डअनुसार नै सञ्चालन भएको भए पनि खानेपानीका सन्दर्भमा केही टीकाटिप्पणी हुने गरेकाले समस्या समाधान गर्न तयार रहेको उहाँले जानकारी दिनुभयो ।
उडाज भयो बस्ती
कुनै समय चहल–पहल हुने बस्ती अहिले भने उजाड भएको छ । सिमेन्ट उद्योगले त्यस स्थानबाट चुनढुङ्गा उत्खनन गर्न थालेपछि बस्ती नै विस्थापित भएको छ ।
रोल्पा रुन्टिगडी गाउँपालिका–६ गोदेमा पर्ने त्यस स्थानमा डेढ वर्ष अघि ५०/५५ परिवार बस्ने भए पनि अहिले भने घरको अवशेषहरू समेत रहेका छैनन् ।
अहिले त्यस स्थानमा उद्योगका डोजरले चुनढुङ्गा निकालिरहेका हुन्छन् । त्यहाँका बासिन्दाले रु एक लाख रुपैयाँ प्रति रोपनीमा जग्गा बेचेर दाङतिर झरेका हुन् ।
विद्यालय बन्द
बस्ती नै विस्थापित भएपछि त्यहाँ नजीकै रहेको विद्यालय पनि बन्द भएको छ ।
अहिले विद्यालयका ती भवनहरूमा सोनापुर सिमेन्ट उद्योगले आफ्नो सम्पर्क कार्यालय खडा गरेको छ ।
तुलसीपुर–१९ छिल्लीकोटका विद्यार्थी पनि त्यहाँ पढ्न जाने गरेका भए पनि विद्यालय बन्द भएपछि करीब एक घण्टा हिँडेर अर्को विद्यालय पुग्नुपर्ने अवस्था रहेको स्थानीयवासीले गुनासो गरेका छन् ।