काठमाडौं । हाल वन तथा वातावरण मन्त्रालयका सहसचिव दीर्घनारायण कोइराला बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ती कमाएको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
तत्कालिन डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत कोइरालाले वन कटानी गरी अकुत सम्पत्ती थुपारेको भन्दै आयोगले उनी विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारमुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनको सम्पत्ती छानविन हुँदा एक करोड २५ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको देखिएपछि उनी बिरुद्ध मुद्धा दायर गरिएको हो । उनी केही दिन अघि मात्र सहसचिवमा बढुवा भएका थिए ।
२०४६ साल जेठ महिनामा सरकारी सेवामा प्रवेश गरेका कोइरालाले हालसम्मको अवधिमा कानूनी रुपमा ८१ लाख ८६ हजार रुपैयाँ मात्रै आर्जन गरेको तर दुई करोड ७ लाख रुपैयाँको सम्पत्ति भेटिएको अख्तियारको दावी छ ।अख्तियारले उनकी श्रीमती गीता पौडेल कोइरालाबिरुद्ध पनि मुद्दा दायर गरेको छ ।
तत्कालिन अवस्थामा कैलाली जिल्ला वन कार्यालयको जिल्ला वन अधिकृत अखिलेश्वर लाल कर्ण पढाईका लागि विदेश गएका बेला निमित्त जिल्ला वन अधिकृत भएर काम गरेका कोइरालालाई कैलालीको बाह्रवन फडानी गरेको अभियोगमा वन तथा भूसंरक्षण मन्त्रालयले छानविन टोली गठन गरेको थियो । छानविन गर्न गएको टोलीले बाह्रवन जंगलभित्र ठेकेदारले काटेका १,१०० रुख साल अवैध कटान भएको र जिल्ला वन अधिकृत कोइराला सहित इलाका वन अधिकृत, रेञ्जरको समेत प्रत्यक्ष संलग्नता देखिएको प्रतिवेदन बुझाएको थियो ।
वैध भन्दा अवैध रुपमा रुख कटानी गरी काठ जिल्ला बाहिर निर्यात भइसकेको व्यहोराको सो प्रतिवेदन न कार्यान्वायन भयो न कोइराला लगायतका अन्य कर्मचारीलाई कार्वाही भयो । बरु काठ ठेकेदारको बलमा उनले थप अवधि पनि कैलाली जिल्लाको निमित्त वन अधिकृत भएर काम गर्ने अवसर पाएका थिए । धेरै जसो उपसचिवले कैलालीमा जान खोजेपनि कोइरालाको निमित्त खोस्न सक्ने तागत कसैको पुगेको थिएन ।