काठमाडौँ ।विक्रम संवत् २०७६ को पहिलो दिनबाट सरकारले देशैभर ‘खोलौँ बैंक खाता’ अभियान शुरु गरेको छ । सरकारले समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ यो अभियान शुरु गरेको हो ।
सरकारले चालू आर्थिक वर्षको बजेटमा नै सबै नेपाली नागरिकको बैंक खाता खोल्ने अभियान नै चलाउने कार्यक्रम समावेश गरेको थियो । सोही कार्यक्रमलाई सफल बनाउन नयाँ वर्षको पहिलो दिनदेखि सबै नेपालीको बैंक खाता खोल्ने अभियान चालिएको ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय साक्षरतालाई जोड दिँदै सबै नेपाली यस अभियानमा सहभागी हुन आग्रह पनि गर्नुभएको छ । उहाँले पहिले पहिले थैलीका दिन थिए, अब चेकका दिन आए भनेर भन्नुभएको छ । सबै नेपालीलाई सरल रूपमा वित्तीय पहुँच कायम गर्ने लक्ष्यका साथ २८ वटै ‘क’ वर्गका वाणिज्य बैंकले बैंक खाता खोल्ने गरी व्यवस्था मिलाइएको छ ।
अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकले सबै नेपालीलाई बैंक खाता खोल्नका लागि सहजीकरण गर्नेछ । सरकारको आग्रहअनुसार नै बैंकले नयाँ खाता खोल्नेलाई रु एक सय सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराउनेछ ।
सरकारले चालेको यो अभियानअन्तर्गत बैंक खाता खोल्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । बरु बैंकले नै त्यस्ता खातावालालाई रु एक सय उपलब्ध गराउने भएको छ । शहरी क्षेत्रमा विशेषगरी रोजगारी तथा अध्ययन, व्यापार–व्यवसायमा संलग्नले अनिवार्य रूपमा बैंक खाता खोलेका छन् । एकै व्यक्तिको पनि दुईभन्दा बढी बैंक खाता छन् । तथ्याङ्क विभागका अनुसार हाल नेपालीको जनसङ्ख्या करीब दुई करोड ९० लाख छ ।
नेपाल राष्ट्र बैंकका अनुसार, हाल बैंक तथा वित्तीय संस्थामा दुई करोड ६८ लाख खाता खुलेका छन् । यस आधारमा हेर्दा कूल जनसङ्ख्याको थोरैको मात्र बैंक खाता नभएको जस्तो देखिन्छ । तर यर्थाथ भने फरक छ । एकै व्यक्तिका धेरै बैंक खाता छन् । ग्रामीण तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा बैंक खाता खोल्नुपर्छ भन्ने चेतनासमेत पुगेको छैन ।
बैंक खाता खोल्न रहेको झन्झटिलो प्रक्रियालाई केन्द्रीय बैंकले सहजीकरण गरेको छ । राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीका अनुसार बैंक खाता खोल्नका लागि सहजीकरण गर्ने गरी बैंक तथा वित्तीय संस्थालाई थप सहजीकरण गर्दै नयाँ कार्यक्रम शुरु गरिएको छ ।