बेशीसहर । लमजुङको दोर्दीखोला मात्रै पाँच वटा ठूला जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।
हिमालयन पावर पार्टनर लिमिटेडद्वारा निर्माणाधीन २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना र लिबर्टी इनर्जी कम्पनी लिमिटेडद्वारा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले आगामी भदौ भित्र विद्युत् उत्पादन गर्ने योजनामा छन् भने यी दुवै आयोजनाको निर्माण कार्य ८५ प्रतिशत सकिएको छ ।
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ को निर्माण कार्य करिब ४० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । उक्त आयोजनाले २०७७ असार मसान्तभित्र उत्पादन थाल्ने दावी गरेको छ ।
५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत् आयोजनाको निर्माणको तयारी भइरहेको छ । दोर्दी खोलामै लमजुङ विद्युत् विकास कम्पनी लिमिटेडको प्रवद्र्धनमा दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले १२ मेगावाटको दोर्दी १ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको निर्माण कार्य करिब ३० प्रतिशत सकिएको र आगामी मङ्सिरबाट विद्युत् उत्पादन हुने बताइएको छ । आयोजना निर्माण गर्न दुई अर्ब रुपियाँ लगानी रहने आयोजनाले जनाएको छ ।
२७ मेगावाटको दोर्दीखोला जलविद्युत् निर्माण गरिरहेको हिमालयन पावर पार्टनर लिमिटेडका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालका अनुसार चार अर्ब २३ करोड ३५ लाख रुपियाँमा आयोजना निर्माण हुने प्रस्ताव गरिएको छ । भूकम्प, नाकाबन्दी र प्रसारण लाइन पूरा नहुँदा समयमा निर्माण नसकिएको र लगानी भार थपिएको उहाँले बताउनुभयो ।
यी सबै आयोजना रन अफ द रिभर (पानीको बहावमा आधारित) आयोजना हुन् । ५ वटा जलविद्युत् आयोजना निर्माणका लागि दोर्दीखोलामा मात्रै ३० अर्ब रुपियाँ बढी खर्च गरिँदै छ । उत्पादित जलविद्युत दोर्दी कोरिडोरमा निर्माणधीन १३२ केभीको राष्ट्रिय प्रशारण लाइनमा जडान गरिने छ ।