काठमाडौँ । आगामी २०८१ सालमा निर्माण सम्पन्न हुने गरी तनहुँ जलविद्युत् आयोजना निर्माणका लागि पुनः ठेक्का आव्हान गरिएको छ ।
इटालीको ठेकेदार कम्पनी सिएमसीले काम नै शुरु नगरी अलपत्र पारे पछि आयोजना कार्यालयले अर्काे बोलपत्रका लागि आव्हान गरेको हो ।
कूल १४० मेगावाट क्षमताको सो आयोजनाको बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि बिहीवार पुनः विश्वव्यापी बोलपत्र आह्वान गरिएको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले जनाएको छ ।
इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि कम्पनीले पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी निर्माण व्यवसायीलाई सहभागिताका लागि आग्रह गरेको छ । बोलपत्र पेश गर्नका लागि आगामी जेठ २६ गतेसम्म म्याद रहेको छ ।
छनोट हुने निर्माण व्यवसायीले आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुई सुरुङलगायतका संरचना निर्माण गर्नुपर्ने छ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एशियाली विकास बैंक र युरोपेली लगानी बंैकको सहुलितपूर्ण ऋण परिचालन हुने गरी व्यवस्था मिलाइएको छ ।
बोलपत्र प्रक्रियामा सहभागी हुन चाहने कम्पनीले एशियाली विकास बैंकको खरीद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नुपर्ने कुरा बोलपत्रमा उल्लेख गरिएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेका अनुसार दातृ निकायले तयार पारेको निर्देशिकालाई पूर्णरूपमा परिपालना गरी प्राप्त हुने प्रस्ताव माथि अन्तिम निर्णय गरिन्छ ।
प्रबन्ध सञ्चालक थिकेले भन्नुभयो “पहिलो चरणमा प्राविधिक प्रस्ताव मूल्याङ्कन गरी सारभूत रूपमा प्रभावग्राही बोलपत्रदाताको मात्रै आर्थिक प्रस्ताव खोलिने छ ।” । आगामी कात्तिकको दोस्रो साताभित्र ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो सातादेखि आयोजनास्थलमा निर्माण व्यववसायी परिचालन गर्ने लक्ष्यका साथ नयाँ प्रक्रिया शुरु गरिएको छ ।
आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र सम्पन्न गर्ने संशोधित लक्ष्य तय गरिएको उहाँको भनाइ छ ।
तनहुँ हाइड्रोपावर लिमिटेडले खरीद सम्झौतामा भएको व्यवस्थाअनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम शुरु गर्न दिइएको आदेश नमानेपछि इटालियन ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झौता रद्द गरिएको थियो । यस्तै सिएमसीले अग्रिम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदातालाई भुक्तानी दिन नसकेको, इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको लगायतका कारणले समस्यामा परेपछि ठेक्का सम्झौता तोडिएको थियो ।
आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजका काम भने चिनियाँ कम्पनी सिनो हाइड्रोले आयोजनास्थलमा काम शुरु गरिसकेको छ ।
सिनो हाइड्रोले हाल आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवासगृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेशमार्ग र अन्य संरचनाको सर्वेक्षण तथा डिजाइन गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ ।
कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको थप सर्वेक्षणको काम गरिरहेको छ ।
आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख रहेको छ । सो रकममा प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत रहेको छ । त्यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण तथा प्राधिकरण र तनहुँ हाइड्रोबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् । सिएमसीसँगको ठेक्का तोडिएपछि आयोजना सम्पन्न हुने मितिसमेत एक वर्ष पर धकेलिएको छ ।
शुरुमा आयोजना विसं २०८० सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । अर्धजलाशय प्रकृतिको सो आयोजनालाई आकर्षक आयोजनाको रुपमा लिइएको छ ।
ठूला करदाता कार्यालयले सिएमसीले कर नतिरेको भन्दै १५ दिनभित्र ठूला करदाता कार्यालयमा सम्पर्क राख्न यसअघि नै आग्रह गरेको छ ।