दैलेख । फिरन्ते जाती राउटेले वन जंगलमा खानेकुरा नपाएको भन्दै सरकारसँग आफुले खानाका लागि चामल र पानी पर्दा ओत लाग्ने त्रिपाल मागेका छन् ।
प्रतिनिधिसभा सदस्य डा. डिला सङ्ग्रौला राउटे बस्तीमा पुग्दा राउटे मुखिया सूर्यनारायण शाहीले राउटे समुदायको व्यथा सुनाउदै आफ्ना माग सरकारको कानमा पुर्याइ दिन अनुरोध गरेका छन् ।
सांसद संग्रौलासँग मुखियाले भन्नुभयो, ‘बर्खा लाग्न थाल्यो, बस्तीमा खाद्यान्न सङ्कटको पीडा त्यतिकै छ, सरकारले दिने महिनाको दुई हजार रुपैयाँले पेट पाल्न मुस्किल भयो । सरकार हामीलाई पाल र खाद्यान्न देउ, नभए हामी मर्ने भयौँ । यो कुरा सरकारलाई सुनाइदिनु पर्यो ।”
बर्खा लाग्नेबेला भइसक्यो, अब त हामीलाई पाल चाहिन्छ, उहाँले भन्नुभयो । मुखिया शाहीले प्रतिनीधिसभा सदस्य डा सङ्ग्रौलामार्फत सरकारसँग बर्खामा पाल र आवश्यक खाद्यान्न व्यवस्थापन गरिदिन माग गर्नुभयो ।
काठबाट कलात्मक सामग्री निर्माण गरेर त्यसको बिक्रीबाटै जीविकोपार्जन गर्दै आएका राउटे समुदायका अवस्था नियाल्दै प्रतिनीधिसभा सदस्य डा सङ्ग्रौलाले भन्नुभयो, “मुलुक नयाँ युगमा प्रवेश गरिसकेको छ, पुर्नजागरणको युगमा प्रवेश गरेको छ तर राउटे समुदायको अवस्था हेर्दा अहिले पनि ढुङ्गे युगमा छन् ।”
लोपोन्मुख जातिको रुपमा रहेका राउटेलाई संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले उनीहरुलाई परिवर्तन गराउँदै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
‘नयाँ बस्ती बसालेर शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था गर्नुपर्छ, उहाँले भन्नुभयो, “यो समुदायलाई यही ढुङ्गे युगमा छोड्नु हुँदैन् ।” सांसद डा सङ्ग्रौलाले राउटे समुदायलाई कसरी रुपान्तरण गर्ने भन्ने विषयमा ठोस् कदम चाल्न सरकारलाई आग्र्रह गर्नुभयो ।
राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेर मात्र नहुने बताउँदै डा सङ्ग्रौलाले उनीहरुलार्ई सामाजिकीकरण गर्नका लागि शिक्षामा जोड दिनुपर्छ भन्नुभयो । राउटे समुदायमा सामाजिक घुलमिलनको अभियान चलाउनुपर्नेमा जोड दिदैं उहाँले यस समुदायका कला संस्कृतिलाई बचाइराख्नुपर्ने बताउनुभयो ।
राउटे बस्तीमा हाल ४६ घरपरिवार छन् । जम्मा एक सय ४६ जनाको सङ्ख्यामा रहेको राउटेले यसअघि जङ्गलमा बाँदर र गुनाको शिकार गरेर छाक टार्ने गरेका थिए । तर, पछिल्लो समय जङ्गली जनाबर नै पाउन छाडेपछि समस्या भएको उनीहरू बताउँछन् ।
राउटेलाई भत्ता
राउटे समुदायलाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला किनारमा बसोवास गर्दै आएका राउटेलाई चैत महीनाको भत्ता वितरण गरिएको हो । स्थायी परिचयपत्र उपलब्ध गराएको दैलेखको गुराँस गाउँपालिकाले उनीहरुलाई प्रतिव्यक्ति रु दुई हजारका दरले भत्ता उपलब्ध गराएको हो । समुदायका एक सय ४६ जनालाई भत्ता वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरेसँगै गुराँस गाउँपालिका दैलेखले मासिक रुपमा भत्ता उपलब्ध गराउँदै आएको छ ।
राउटे समुदायमा एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा गुराँस गाउँपालिका र सोसेक दैलेखमार्फत राउटे परियोजना सञ्चालित छ । उनीहरुलाई नियमित निगरानी राख्न तथा स्वास्थ्य शिक्षाका लागि तीनजना कर्मचारी समेत सो समुदायमा खटिएको सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले बताउनुभयो ।
तीन जना कर्मचारीमध्ये एकजना अहेबले उनीहरुको स्वास्थ्यको हेरचाह गरेका छन् भने अन्य दुई जनाको जोडी शिक्षकले उनीहरुलाई आनीबानीमा परिवर्तन, पोषण, बाल संरक्षण र शिक्षाका लागि अनौपचारिक कक्षा सञ्चालन गर्न शुरु गरेको अध्यक्ष थापाले बताउनुभयो ।