आगामी वर्ष खानी उत्खननको वर्ष

काठमाडौँ । सरकारले आगामी वर्ष विकासका मेघा प्रोजेक्ट सञ्चालन गर्ने योजनाका साथै देशभरका बिभिन्न क्षेत्रमा रहेका खानी उत्खननको कार्यलाई प्राथमिकतामा राख्ने भएको छ । पछिल्लो चरणमा सरकारले पर्वतको फलामखानीबाट फलाम उत्खननका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ।

पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा रहेको खानीलाई उत्खननका लागि आगामी आर्थिक वर्ष २०७६ र २०७७ मा सम्भाव्यता अध्ययन गरी सञ्चालनमा ल्याउने भएको हो।

सरकारले शुक्रबार संसद्मा पेस गरेको नीति तथा कार्यक्रममा पर्वतको फलामखानीबाट फलामखानी उत्खनन गर्न सम्भाव्यता अध्ययन गरी सञ्चालनमा ल्याउने उल्लेख गरेपछि जिल्लास्थित सबै राजनीतिक दल, नागरिक समाज र त्यसक्षेत्रका बासिन्दा खुसी भएका छन्।

वर्षौंदेखि फलामखानी सञ्चालन गर्न माग गर्दै आएका स्थानीयले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै उल्लेख गरेपछि फलामखानी सञ्चालन हुने आशाको ढोका खुलेको भन्दै खुसी भएका हुन्। शुक्रबार संसद् बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। त्यसमा पर्वत र नवलपरासीमा रहेको फलामखानी उत्खननका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ।

त्यसैगरी सरकारले आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौबादीमा रहेको फलामखानीबाट व्यावसायिक उत्पादन सुरु गर्नेछ। दैलेखको पेट्रोलियम, जाजरकोटको बहुमूल्य पत्थर र तामा, पर्वत र तनहुँको फलाम र मुस्ताङको युरेनियम खानी तथा सम्भाव्य स्थानमा सुनखानी उत्खननका लागि आगामी वर्ष अध्ययन कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ,’ सरकारको तर्फबाट राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

पर्वतको फलामखानीमा रहेको खानी वर्षौंदेखि अलपत्र अवस्थामा रहेको छ। खानी सञ्चालन भएमा रोजगारीका साथै गाउँको पूर्वाधारसहितको विकास हुने स्थानीयको अपेक्षा छ।

वर्षौंसम्म मौलिक शैलीमा फलाम निकाल्ने र बेच्ने काम गरिएको महाशिला–६ को जंगलमा फैलिएको फलामखानी हिजोआज बन्द छ। सदरमुकाम कुश्मा बजारबाट ६ कोष दूरीमा रहेको फलामखानी झन्डै दुई सय बर्गमिटर क्षेत्रफलमा फैलिएको स्थानीय बताउँछन्।

५८ वर्ष अघिसम्म यहाँको फलाम स्थानीयले उत्खनन गरी झन्डै चार सय परिवारले जीविकोपार्जन गर्दै आएका थिए। गाउँभरि फलामको खानी भएकैले उतिबेला यो गाउँको नामै फलामखानी रहेको हो। फलामखानीमा बसोबास गर्ने बिक र दर्जी परिवारबाट कम्तीमा एक जना तत्कालीन सयममा फलामको खानीमै बस्ने गर्थे। गाउँभरिकाले सामूहिक रूपमा फलाम निकाल्थे। समूहमै खानपान गर्थे। महिनादिन लगाएर निकालेको फलामबाट घरेलु हतियार बनाएर देशका विभिन्न स्थानमा लगेर अन्नसँग साट्थे उनीहरूको नियमित काम हुन्थ्यो।

स्थानीय ८८ वर्षीय पदमदास सुनारले ५८ वर्षअघि फलाम उत्खनन गरेको जानकारी दिए। ‘कालो–कालो ढुंगाजस्तो हुन्थ्यो। ुटुक्राटुक्रा निकालेको फलाम कोर्कामा हालेर घर ल्याएपछि आँसी, बाउसा, बन्चरा बनाएर देश डुल्थ्यौं,’ त्यतिबेलाको फलाम उत्खननको स्मरण गर्दै सुनार भन्छन्, ‘कोदो, मकै, तिउनताउन बेसाउनुप(यो। त्यही भएर खानीमा काम नगरी बसिन्थेन।’ उनका अनुसार २०१८ सालसम्म खानीबाट फलाम निकाल्ने गरिन्थ्यो।

खानीबाट निकालेको फलाम पगाल्न र हतियार बनाउन प्रसस्तै कोइला खर्च हुन्थ्यो। तिनै कोइला बनाउन स्थानीय जंगलका रूख काट्नुपर्ने भएपछि जंगल मासिन थाल्यो। जंगल जोगाउने भन्दै तत्कालीन सरकारले खानी खन्न रोक लगाएपछि स्थानीयको रोजीरोटी गुमेको सुनारको भनाइ छ। सुनारले सरकारको नीति तथा कार्यक्रममा परेकाले स्थानीयलाई आशा र भरोसा जागेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here