महाकाली करिडोरको ८८ किमि ट्रयाक खुल्यो

महेन्द्रनगर । कञ्चनपुरको ब्रह्मदेव देखि दार्चुलाको तिंकरसम्मको नाका जोड्ने गरी निर्माण भइरहको महाकाली करिडोरको ८८ किलोमिटर ट्रयाक खुलाइएको छ ।

गत वर्षबाट निर्माण कार्य शुरु भएको करिडोरले यो वर्ष गति बढाएको छ । कञ्चनपुर हुँदै, डडेल्धुरा, बैतडी र दार्चुला गरी चार जिल्ला जोड्ने गरी करिडोर शुरु गरिएको हो ।

चीनको तिब्बत जोड्ने गरी सो करिडोर निर्माण थालिएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म ४२५ किलोमिटर लामो सडक निर्माण गर्न सके सुदूरपश्चिम प्रदेशको उत्तरी नाका व्यापारीक दृष्टिकोणले महत्वपूर्ण सडक बन्ने योजना प्रमुख अच्युत पन्तले बताउनुभयो ।

पञ्चेश्वर बन्ने हल्लाले सडक घुमाउँदा लम्बाई बढेपछि दिर्घकालीन रुपमा तिब्बत जोड्न र धार्मिक पर्यटकीय दृष्टिकोणले सो सडक सहज हुने छ ।

अहिले महाकाली करिडोरमा लामा चन्द्र एण्ड बसन्त निर्माण सेवाले काम गरिरहेको छ । सो करिडोरअन्तर्गत बैतडीको बाराकोट भटालामा १७ किलोमिटर, गाँजरी–सिल्लेकमा १७ किलोमिटर, सलेना–धरमघरमा १० किलोमिटर र बेत–जोलजिवीमा १० किलोमिटर तथा दार्चुला–राताकाठामा ७ किलोमिटर ट्रयाक खुलाइएको छ । डडेल्धुराको जोगबुडा–कुँणा–ब्रहम्देव १७ किलोमिटर सडक सञ्चालनमा आएको छ ।

सडक निर्माण गर्नुपूर्व हुनुपर्ने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम सुरु गरिएको छ । विगतमा महाकाली करिडोरको ईआइए नहुँदा सडक निर्माणमा ढिलाई भएको थियो ।
कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलासम्मको कुल दुई सय ९१ किलोमिटर सडक खण्डको ईआइए शुरु गरिएको योजना प्रमुख पन्तले जानकारी दिनुभयो ।

वनजंगलको हिसाबले कञ्चनपुर र डडेल्धुरा क्षेत्रमा बढी वन क्षेत्र पर्छ । महाकाली करिडोरमा जिइओसिई कन्सल्टेन्सले वातावरणीय प्रभाव मूल्याङ्कनको काम सुरु गरेको हो ।

जिईओसीका कार्यक्रम संयोजक लक्ष्मीकान्त मण्डलका अनुसार अहिले तिव्र रुपमा प्रभाव मूल्यांकनको काम सुरु गरिएको छ । सो करिडोर अन्तर्गत गत वर्ष रु १९ करोड ९८ लाख ९५ हजार रुपैयाँ खर्च भएको थियो । चालू आर्थिक वर्षको हालसम्म रु ३९ लाख रुपैयाँ बजेट खर्च भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here