भारतीय नागरिक पक्राउ पछि शुक्रबार रातिसम्म नरैनापुर क्षेत्र तनावपूर्ण

बाँके । प्रहरीले प्रतिबन्धित लागुऔषध चरेस ओसारपासारको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ परेपछि शुक्रबार रातिसम्म बाँकेको राप्तीपारि नरैनापुर क्षेत्र तनावपूर्ण बन्यो । पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाब दिँदै प्रहरी चौकी घेराउ गरेका थिए ।

नेपालगञ्जबाट नरैनापुर पुगेर लागुऔषधविरुद्ध परिचालित प्रहरीको विशेष टोलीले भारतीय नागरिक देवीविन विश्वकर्मालाई पक्राउ गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । पक्राउपछि भारतीय नागरिकलाई प्रहरी चौकीमा राखेका मुचुल्काका लागि गएको प्रहरी टोलीमाथि ढुङ्गामुढा गरी तनाव प्रयास भएको थियो ।

प्रहरी चौकी घेराउसँगै तोडफोड र ढुङ्गामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ६५ राउण्ड हवाई फायर गर्नुपरेको बाँके प्रहरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यहाँको अवस्था अहिले नियन्त्रणमा छ । थप घटना हुन नदिन अहिले पनि सुरक्षाकर्मी परिचालन गरेका छौँ ।”

चरेशसहित पक्राउ परेका भारतीय नागरिक देवीविनलाई अबेर राति नै नेपालगञ्ज ल्याइसकिएको छ । देवीदिन पक्राउ परेपछि सीमापारिबाट आएका भारतीय युवाले उनलाई नछोडेसम्म प्रहरीलाई जान नदिने भन्दै घेरा हालेका थिए । सो क्रममा इलाका प्रहरी कार्यालय भगवानपुरको एउटा गाडी र मोटरसाइकल तोडफोड भएको छ ।

“प्रहरीको गाडीमा आगजनीको प्रयाससहित र ढुङ्गामुढा गरेपछि थप प्रहरी बल पुगेर अवस्था नियन्त्रण गर्न खोजेको थियो”, प्रहरी नायब उपरीक्षक सापकोटाले भन्नुभयो, “तर प्रहरीको उपस्थिति कमजोर देखेपछि उत्तेजित झीडले क्रमशः आत्रोश फैलाउँदै चौकीमै घेराउ गर्न पुगे । स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर नै गर्नुपर्‍यो ।”

देवीविनलाई पक्राउ गरेपछि सीमा क्षेत्रबाट आएका भारतीय नागरिक आक्रमक भएर प्रहरीमाथि जाइलागेका थिए । उनीहरुलाई स्थानीय गाउँलेले साथ दिएपछि मुठभेडको अवस्था सिर्जना भएको थियो । जिल्लाबाट बन्दोबस्तीसहित पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले राति १२ बजेतिर घटनास्थललाई पूर्णरुपमा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताउनुभयो ।

“चार सय बढी मानिसले चौकी घेराउ गरेका थिए । नेपालगञ्जबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन वटा टोली, आसपासका चौकीबाट समेत नरैनापुरमा मद्दतका लागि पुगेका थिए भने नेपालगञ्जमा थप सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको थियो । स्थिति नियन्त्रणमा आएपछि थप बल त्यतर्फ जानुपरेन”, प्रहरी नायब उपरीक्षक सापकोटाले भन्नुभयो ।

तस्करी गरेर नेपाल ल्याउँदै गएको मालसामानसहित गत साता सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका अपराधीलाई यसरी घेरा हाली भारतीयले छुटाएर लैजान भएका थिए । “राज्यको कमजोर उपस्थिति देखेर आज पनि तस्करलाई त्यसैगरी छुटाएर लैजाने प्रयास भयो”, प्रहरी नायब उपरीक्षक सापकोटाले भन्नुभयो, “हामीले त्यो प्रयासलाई असफल पारेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here